गृहपृष्ठ डिजेल-पेट्रोलमा ९ महिनामा ५४ अर्ब वचत

डिजेल-पेट्रोलमा ९ महिनामा ५४ अर्ब वचत

लकडाउनयताका ९ महिनामा डिजेल र पेट्रोलमा मात्रै ५४ अर्ब वचत भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०७६ चैतदेखि २०७७ मंसिरसम्ममा ५८ अर्ब ३५ करोड ५१ लाख रुपैयाँको डिजेल-पेट्रोल आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधि अर्थात् २०७५ चैतदेखि २०७६ मंसिरसम्ममा १ खर्ब १२ अर्ब ७४ करोड ८८ लाख रुपैयाँबराबरको डिजेल र पेट्रोल आयात भएको थियो । समीक्षा अवधिमा ५४ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ कमको डिजेल-पेट्रोल आयात भएको हो ।

विभागका अनुसार २०७५ चैतदेखि २०७६ मंसिरसम्ममा २८ अर्ब १८ करोडको ४ लाख ६५ हजार किलोलिटर पेट्रोल र ८४ अर्ब ५६ करोडको १२ लाख ६८ हजार लिटर डिजेल भित्रिएको छ । त्यस्तै २०७६ चैतदेखि २०७७ मंसिरसम्ममा १४ अर्ब ५७ करोडको ४ लाख ३८ हजार लिटर पेट्रोल र ४३ अर्ब ७८ करोडको १० लाख ३८ हजार लिटर डिजेल आयात भएको छ ।

पाइपलाइनबाट डिजेल आयात भएपछि गत आर्थिक वर्ष २०७६/७७ को १० महिना (भदौदेखि असार)सम्ममै नेपाल आयल निगमले १ अर्ब ४७ करोड रुपैयाँ बचत भएको जनाएको छ । निगमका अनुसार पाइपलाइनबाट इन्धन आयात गर्दा प्रतिमहिना १४ करोड ७० लाख वचत भइरहेको छ ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण चार महिना (चैतदेखि साउनसम्म) यातायात, उद्योग, कलकारखाना, बजार पसल ठप्प रहँदा इन्धनको माग कम भएको थियो । लकडाउन खुलेपछि पनि यातायात तथा उद्योग धन्धा सामान्य अवस्थामा फर्किन अरु तीन महिना लाग्यो । यातायात क्षेत्रको जोरविजोर हटेर बल्ल एक महिना हुँदै छ । यातायातसँगै आर्थिक गतिविधि ठप्प हुँदा डिजेल–पेट्रोल खपत ठूलो परिमाणमा कम भएको निगमले जनाएको छ ।

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु