गृहपृष्ठ सुनचाँदी व्यवसायी महासंघको महाअधिवेशन पुस २४ र २५ गते

सुनचाँदी व्यवसायी महासंघको महाअधिवेशन पुस २४ र २५ गते

नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौँ र आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशन पुस २४ र २५ गते शुक्रबार र शनिबार काठमाडौंमा हुने भएको छ । महासंघको साधारणसभा तथा अधिवेशनमा देशभरका ६५ जिल्ला, नगर संघ तथा वस्तुगत र एसोसिएट सदस्यहरुको तर्फबाट ६०० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकले सहभागिता जनाउनेछन् । कोरोना संक्रमण विद्यमान रहेको हालको अवस्थालाई मध्यनजर गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्डअनुरुप कार्यक्रम सञ्चालन गरिनेछ ।

साधारणसभाको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । शुक्रबार काठमाडौंको होटल याक एन्ड यतिमा उद्घाटन सत्र हुनेछ भने शनिबार बन्द सत्र तथा निर्वाचनको कार्यक्रम छ । निर्वाचनबाट ५५ सदस्यीय नयाँ कार्यसमिति बन्नेछ । महासंघले संघीय संरचनालाई आत्मसात् गर्दै सातवटै प्रदेशमा प्रदेश महासंघ गठन गरेअनुरुप प्रदेश महासंघहरुको निर्वाचन भइसकेको छ ।

यसपटकको साधारणसभामा कोरोना महामारीका कारण र नेपाल सरकारबाट सुनको कोटालाई २० किलोबाट १० किलोमा झारी आधा कटौती गरेपछि अत्यधिक रुपमा प्रभावित बनेको सुनचाँदी व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन साझा एजेन्डाका लागि गम्भीर छलफल हुनेछ ।

२०६९ साल फागुन २० गते विधिवत् रुपमा दर्ता भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले देशभरिका सुनचाँदी व्यवसायीको हकहित र अधिकार प्राप्तिका लागि मात्र नभई गुणस्तरीय गरगहनाहरुको उत्पादन, व्यावसायिक इमानदारी, उपभोक्तामुखी सेवा र सामाजिक उत्तरदायित्वका साथ देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्रवक्ता मनोजकुमार शाहले जानकारी दिए ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु