गृहपृष्ठ हरेक पाँचमध्ये एक परिवारसँग छैन पर्याप्त खाद्यान्न
हरेक पाँचमध्ये एक परिवारसँग छैन पर्याप्त खाद्यान्न
नेपालका हरेक पाँचमध्ये एक परिवारले आफ्ना परिवारका लागि दैनिक आधारमा पर्याप्त खाद्यान्न उपलब्ध गराउन संघर्ष गरिरहेको एक अध्ययनले देखाएको छ । युनिसेफ नेपाल र सेयरकास्ट इनिसियटिभ नेपालले गरेको चार चरणको सर्वेअनुसार नेपालका औसत २० प्रतिशत परिवारले भरभेट खान संघर्ष गरिरहेको देखिएको हो ।
युनिसेफ नेपाल र सेयरकास्ट इनिसियटिभ नेपालले सन् २०२० को मे महिनादेखि हरेक २ महिनाको अन्तरमा नेपालभरिका ६ हजार ५८८ परिवारमाझ सर्वे गरेका थिए । नेपालमा बालबालिका र परिवारका सदस्य माझ कोभिड-१९ले पारेको सामाजिक आर्थिक प्रभावका बारेमा सर्वेक्षणमा सहभागीमध्ये ११ प्रतिशतले पहिलाका तुलनामा खाना कम खाने गरेको बताएका छन् ।
सर्वेक्षणअनुसार भरभेट खान संघर्ष गरिरहेको परिवारको अनुपात प्रदेश नं २ मा सर्वाधिक (३४ प्रतिशत) छ भने सुदूरपश्चिममा २१ प्रतिशत छ । प्रदेश १, २ र लुम्बिनीमा अगस्त महिनाका तुलनामा अक्टोबरमा खानका लागि संघर्ष गरिरहेका परिवराको अनुपात बढेको सर्वेक्षणका नतिजाले देखाएको छ ।
लामो अवधिका लकडाउनले नियमित आयआर्जन गुमाएका कारण आफूसँग पर्याप्त पैसा नभएको र खाद्यान्नको मूल्य बढेको कारणले दैनिक आधारमा पर्याप्त खाना उपलब्ध गर्न असफल भएको उत्तरदाताहरूले बताएका छन् ।
अध्ययनअनुसार हरेक १० मध्ये एक परिवारका बालबालिकाले शरीरका लागि आवश्यकभन्दा कम पोषण अनुपात (डाइटेरी इन्टेक)मा खाद्य उपभोग गर्न बाध्य भएको बताएका छन् ।
कोभिड-१९ र लामो अवधिको लकडाउनका असर नेपाली परिवारहरूका आय र उनीहरूको खर्चमा पर्न थालेको अध्यययनले देखाएको छ । अध्ययनमा सहभागीमध्ये ठूलो संख्या (४९ प्रतिशत)ले खर्च चलाउन ऋण/सापटी लिएको बताएका छन्, यसरी ऋण/सापटीबाट खर्च चलाउन बाध्य नेपालीहरूमध्ये दलितहरूको अनुपात निकै बढी (६१ प्रतिशत) छ ।
यसले नेपालीहरूलाई चरम गरिबीमा धकेल्ने जोखिम बढाएको अध्ययनमा उल्लेख छ । अध्ययअनुसार महिलाले नेतृत्व गरेको परिवारमा आफ्नो बचत कम खर्च गर्ने, परिवार र साथीभाइमा बढी आश्रित रहेको र रेमिट्यान्स पाउने गरेको सम्भावना बढी भएको अध्ययनले देखाएको छ ।
प्रकाशित समय १६:४० बजे

















