गृहपृष्ठ बजेट खर्च संकुचित भए पनि आर्थिक वृद्धिदर ‘औसत’ रहन्छ : अर्थ मन्त्रालय

बजेट खर्च संकुचित भए पनि आर्थिक वृद्धिदर ‘औसत’ रहन्छ : अर्थ मन्त्रालय

बजेट ९१ प्रतिशतमात्र खर्च हुने

artha-mantralaya_NewsKarobar

सरकारले चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ‘औसत तह’मा रहने दाबी गरेको छ, यद्यपि त्यो औसत तह भनेको कति हो भन्ने खुलाएको छैन ।

विश्व बैंक र संयुक्त राष्ट्र संघले चालू आर्थिक वर्षमा पनि नेपालको आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा तलै रहने प्रक्षेपण सार्वजनिक गरिसकेका छन् । अर्थमन्त्रालयले मंगलबार चालू आर्थिक वर्ष २०७७/७८ को बजेटको मध्यावधि समीक्षा सार्वजनिक गर्दै भनेको छ- ‘शीघ्र आर्थिक पुनरुत्थान गर्ने गरी राखिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिन भए पनि अब बाँकी महिनामा क्रमसः सुधार हुने भएकाले आर्थिक वृद्धि औसत रहने अनुमान छ ।’

मन्त्रालयले चालू आर्थिक वर्षको तेस्रो महिना (असोज)देखि आर्थिक अवस्था सामान्य हुँदै गए पनि पूरै सामान्य हुन अझै केही समय लाग्ने भन्दै कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु भएको, उद्योग, व्यापार-व्यवसाय, आवागमन, सेवा क्षेत्र सामान्य उन्मुख भएको कारण अर्थतन्त्र पुरानो लयमा फर्केको दाबी गरेको छ ।

बजेट ९१ प्रतिशतमात्र खर्च हुने

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चालू आर्थिक वर्षमा बजेट कुल विनियोजनको ९१ प्रतिशतमात्रै खर्च हुने अनुमान गरिएको छ । अर्थमन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड रूपैयाँ खर्च हुने संशोधित अनुमान गरिएको छ ।

सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन, कोभिड-१९ विरुद्धका खोप खर्च, अनिवार्य दायित्व, पूर्वसहमति दिइएका ठूला आयोजनाको सम्भावित दायित्वसमेत विचार गरेर खर्च अनुमान गरिएको अर्थमन्त्रालयले बताएको छ ।

निर्वाचनका लागि ७ अर्ब रूपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

मन्त्रालयका अनुसार चालूतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड अर्थात विनियोजनको ९६.४० प्रतिशत, पुँजीगततर्फ २ खर्ब ८३ अर्ब ४ करोड अर्थात सुरु विनियोजनको ८०.२० प्रतिशत र वित्तीय व्यवस्तातर्फ १ खर्ब ४६ अर्ब ८६ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सरकारको स्रोतमा १० खर्ब ७४ अर्ब ६८ करोड राजस्व र आन्तरिक ऋणबाट संकलन हुने अनुमान गरिएको छ भने वैदेशिक अनुदानबाट  ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब संकलन हुने संशोधित अनुमान गरिएको छ ।

प्रकाशित समय १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु