गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा निगमलाई दैनिक ६ करोड घाटा

पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा निगमलाई दैनिक ६ करोड घाटा

एक महिनामा इन्धनबाट एक अर्ब ४४ करोड ४१ लाख रुपैयाँभन्दा बढी नोक्सान

फाइल तस्बिर

नेपाली बजारमा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजन नहुँदा नेपाल आयल निगमलाई अर्बौं घाटा हुने गरेको छ । पछिल्लो एक महिनाको अवधिमा मात्रै निगमले करिब डेढ अर्ब रुपैयाँ नोक्सान व्योहोरेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले यसै माघ १९ (फेब्रुअरी १) मा पठाएको नयाँ मूल्य सूची समायोजन नहुँदा निगमले दैनिक ६ करोड रुपैयाँको हाराहारीमा घाटा व्यहोर्नुपरेको हो ।

अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यअनुसार निगमले मूल्य नपाउँदा एक महिनामै झन्डै डेढ करोड रुपैयाँ नोक्सान भइरहेको छ । पेट्रोलियम पदार्थमध्ये पनि सबैभन्दा धेरै घाटा खाना पकाउने एलपी ग्यासमा देखिएको छ । आइओसीले एकै महिनामा दुई पटक मूल्य बढाएको सूची पठाएपछिफ त्यसअनुसार  नेपाली बजारमा मूल्य समायोजन हुन नपाएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार आइओसीले नेपाल आयल निगमलाई फ्रेबुअरी १ र जनवरी १६ तारिखमा गरी महिनामा दुईपटक इन्धन खरिदको नयाँ मूल्यसूची पठाएको थियो । अघिल्लो पटकको मूल्य सूचीभन्दा पछिल्लो मूल्य सूची एकदमै बढेर आएपछि मूल्य समायोजन गर्न नसक्दा घाटा व्यहोर्नुपरेको हो । प्रवक्ता उपाध्यायले भने, ‘आइओसीले पठाएको पछिल्लो मूल्य सूचीअनुसार आउँदो १६ फेब्रुअरी (४ फागुन)सम्म यही मूल्यमा इन्धन बिक्री गर्दा निगमलाई ९७ करोड ७५ लाख नोक्सान हुन्छ ।’ सबैभन्दा बढी घाटा भइरहेको एलपी ग्यासमै दैनिक दुई करोड ९४ लाख रुपैयाँ घाटा हुन्छ । ९४ हजारको हाराहारीमा दिनहुँ बिक्री भइरहेको एलपी ग्यासमा ३१७.११ रुपैयाँ प्रतिसिलिन्डर घाटा भइरहेको छ ।

निगमलाई डिजेलमा पनि दैनिक दुई लाख ९५ हजार रुपैयाँभन्दा बढी घाटा भइरहेको छ । प्रतिलिटर ४.६७ रुपैयाँ घाटा भइरहेको डिजेल दैनिक रुपमा ६३ लाख ३३ हजार लिटर बिक्री हुने गरेको छ । त्यस्तै पेट्रोलमा पनि प्रतिलिटर ६.८० रुपैयाँ घाटा भइरहेको छ । निगमका अनुसार नेपाली बजारमा दैनिक करिब दुई लाख चार हजार लिटर पेट्रोल खपत हुन्छ । प्रवक्ता उपाध्यायले भने, ‘आइओसीले जनवरी १६ मा पठाएको मूल्य सूचीअनुसार पनि (५ देखि १८ माघसम्म) इन्धन बिक्री गर्दा ४६ करोड ६६ लाख रुपैयाँ नोक्सानी खेपेका थियौं ।’ फेरि माघ १९ गते आइओसीले थप चर्को मूल्यसहितको सूची पठाएपछि झनै नोक्सान भएको उनले बताए । यसै महिनाको ५ माघदेखि ४ फागुनसम्मको एक महिनामा मात्रै निगमले इन्धनबाट एक अर्ब ४४ करोड ४१ लाख रुपैयाँभन्दा बढी घाटा व्यहोर्नुपर्ने निगमको तथ्यांकले देखाएको छ ।

पेट्रोलियम पदार्थ कुनमा कति घाटा ?

निगमका अनुसार एलपी ग्यास, डिजेल र पेट्रोलमा निकै घाटा भइरहेको छ । मट्टितेल र हवाइ इन्धनमा भने निगमले खरिद गरेको मूल्यभन्दा केही नाफा कमाएको छ । प्रवक्ता उपाध्यायका अनुसार एलपी ग्यासमा मात्रै ४५.५६ करोड रुपैयाँ घाटा लागेको छ । त्यस्तै डिजेलमा ४४.३५ करोड रुपैयाँ र पेट्रोलमा २०.३९ करोड रुपैयाँ नोक्सान भएको छ । मट्टीतेल र हवाई इन्धनमा १२.५९ करोड रुपैयाँ नाफामा गएको निगमले जनाएको छ ।

महिनाकै दोस्रो पटक आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमले खाना पकाउने एलपी ग्यासमा एक हजार १२९.८१ रूपैयाँमा खरिद गरेको थियो । खरिद गरिएको मूल्यमा करसहित लागत जोड्दा ग्यासको मूल्य एक हजार ६९२.११ रूपैयाँ हुन्छ । निगमले मूल्य समायोजन नगरेको हुँदा उपभोक्ताले पुरानै मूल्य एक हजार ३७५ रुपैयाँमा खरिद बिक्री गरिरहेका छन् । जसकारण निगमलाई प्रतिसिलिन्डर ३१७.११ रुपैयाँ घाटा भइरहेको छ । पछिल्लो १५ दिनमा मात्रै निगमलाई ग्यासमा करिब ४५ करोड ५६ लाख रुपैयाँ घाटा छ । दैनिक ९३ हजार सिडिन्डरका दरले बिक्री भइरहँदा १५ दिनमा करिब १४ लाखभन्दा बढी सिलिन्डर बिक्री हुन्छन् ।

त्यस्तै डिजेलमा पनि दैनिक करिब तीन लाख रुपैयाँको हाराहारीमा घाटा भइरहेको छ । आइओसीबाट डिजेल प्रतिलिटर ५२.३९ रुपैयाँमा किनेर सम्पूर्ण लागत जोड्दा प्रतिलिटर ९७.६७ रुपैयाँ हुन आउँछ । तर, मूल्य समायोजन नभएकै कारण उपभोक्ताले पुरानै मूल्य ९३ रुपैयाँमा उपयोग गरिरहेका छन् । यसमा निगमलाई प्रतिलिटर ४.६७ रुपैयाँ घाटा भइरहेको छ । पछिल्लो मूल्य सूचीअनुसार १५ दिनमा मात्रै करिब ९५ हजार किलोलिटर डिजेलको ४४ करोड ३५ लाख रुपैयाँ नोक्सान हुन्छ ।

पेट्रोलमा पनि निगमलाई २०.३९ करोड रुपैयाँको हाराहारीमा नोक्सान भएको छ । निगमले ५१.६९ रुपैयाँमा खरिद गरेको पेट्रोलको सम्पूर्ण खर्च जोड्दा निगमको लागत ११६.८० रुपैयाँ जान्छ । तर, निगमको पुरानै मूल्य प्रतिलिटर ११० रुपैयाँमा कारोबार हुँदा प्रतिलिटर ६.८० रुपैयाँ घाटा लागिरहेको छ । १५ दिनमा अनुमानित करिब ३० हजार किलोलिटर पेट्रोल बिक्री हुँदा कुल २० करोड ३९ लाख रुपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ ।

हवाई इन्धन र मट्टीतेलमा नाफा

नेपाल आयल निगम हवाई इन्धन र मट्टीतेलमा भने नाफामा गएको छ । खपतै कम रहेको हवाई इन्धन र मट्टीतेलमा आइओसीको मूल्यभन्दा निकै बढी निगमले फाइदा उठाएको छ । आइओसीबाट प्रतिलिटर ४८.६७ रुपैयाँमा किनेको मट्टीतेल ९३ रुपैयाँमा बिक्री गर्दा निगमलाई अन्य खर्च कटाएर १८.१० रुपैयाँ नाफा हुने गर्छ  । जसअनुसार मट्टितेलबाट निगमले पछिल्लो १५ दिनमा ३२ लाख रुपैयाँ कमाउँछ । त्यस्तै हवाई इन्धन प्रतिलिटर ४८.०५ रुपैयाँ किनेको निगमले सम्पूर्ण खर्च कटाए आन्तरिक विमान कम्पनीलाई प्रतिलिटर ६५ रुपैयाँ र अन्तर्राष्ट्रिय विमान कम्पनीलाई प्रतिलिटर ८६.८० रुपैयाँमा बिक्री गरिरहेको छ । जसमा पछिल्लो आइओसीको नयाँ मूल्यपछि १५ दिनमा हवाइ इन्धनबाट निगमले ९ करोड ८० लाख रुपैयाँ कमाउने देखिन्छ ।

फागुन ४ पछि होला त मूल्य समायोजन ?

प्रवक्ता उपाध्यायका अनुसार निगमलाई लगातार घाटा भयो भने इन्धन आयात नै अव्यवस्थित हुन्छ । उनका अनुसार पुरानो सञ्चित गरेको ‘मूल्य स्थिरीकरण कोष’बाट घाटापूर्ति गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । नयाँ मूल्य निर्धारण गर्नलाई सबै निकायसँग समन्वय गर्नुपर्ने हुँदा अहिलेको राजनीतिक घटनाक्रमले अन्यौलता देखाएको उनले बताए । करिब ११ अर्ब रुपैयाँ जम्मा भएको कोषमा १४ असोज ०७१ देखि रकम जम्मा गर्न थालिएको थियो । पेटोलियम पदार्थबाट प्रतिलिटर ५० पैसाका दरले कोषमा रकम जम्मा गर्ने गरिन्छ । कोषमा ग्यासबाहेक पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनबाट रकम जम्मा हुन्छ ।

प्रकाशित समय १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु