गृहपृष्ठ सौरभको मोटरसाइकल म्युजियम ‘एसजे मोटो’ सञ्चालनमा
सौरभको मोटरसाइकल म्युजियम ‘एसजे मोटो’ सञ्चालनमा

नेपालकै पहिलो मोटरसाइकल संग्रहालय (एसजे मोटो) सञ्चालनमा आएको छ । स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले एसजे मोटो नामक नेपालकै पहिलो मोटरसाइकल म्यूजियम सञ्चालनमा ल्याएका हुन् । साथीहरु तथा शुभचिन्तकले मोटरसाइकल हेर्न घरमै आउने प्रस्ताव राखेपछि म्युजियम नै खोलेको उनले बताए । एसजे मोटोमा विभिन्न ब्राण्डका पुराना र नयाँ मोटरसाइकलहरू राखिएका छन् ।
शुक्रबारदेखि सञ्चालनमा ल्याएको म्युजियममा पुराना मोडलका मोटरसाइकलदेखि ७० लाख मूल्यसम्मका मोटरसाइकलहरू राखिएका छन् । म्युजियम सञ्चालन कार्यक्रममा अध्यक्ष ज्योतिले भने, ‘म १४ वर्षको थिएँ, हजुरबुवा साइकल व्यापारी हुनुहुन्थ्यो, सानैमा मोटरबाइक चलाउन सिकेँ, ममा मोटरबाइकप्रतिको क्रेज फरक किसिमको थियो ।’
अहिले ज्योतिको म्युजियममा २५ वर्ष पुराना मोटरसाइकलहरू होन्डा, यामाहा डुकाटी, एमभी अगस्टा, सुजुकी, हार्ले डेभिडसनलगायत थुप्रै चर्चित ब्रान्डहरू छन् । होन्डा नेपाल विगत पाँच दशकदेखि नेपालमा सेवा दिँदै आएको छ । उनका अनुसार होन्डा आफैंमा एक ब्राण्ड हो । अहिले एसजे मोटोमा विभिन्न किसिम तथा मोडेलका मोटरबाइक मात्र होइन, पाँच दशक अगाडिका बाइकहरु पनि स्वरुममा छन् ।
उनले भने, ‘मसँग १९६९ देखिका बाइकहरु छन्, मैले चलाएका एक बाइक पनि मैले फ्याँकेको छैन, कसैले ग्यारेजमा छोडेर गएको पूरानो बाइक पनि मैले सुधारेर आफैसँग राखेको छु, ती सबै बाइकहरु स्वरुमममा देख्न सकिन्छ, ड्याक्स ७०, १९७७ को बेण्ली एस ११०, १९७८ को सिटी ९० स्ट्रिट बाइक मसँग छ ।’
प्रकाशित समय १३:१९ बजे