गृहपृष्ठ टेलिकमको सवा दुई करोड ‘बालुवामा पानी’
टेलिकमको सवा दुई करोड ‘बालुवामा पानी’

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीमा नेपाल टेलिकमले लगानी गरेको सवा दुई करोड रुपैयाँ बालुवामा पानीसरह भएको छ । टेलिकमको लापर्बाहीका कारण सेवाग्राहीसमेत सुविधाबाट वञ्चित भएका छन् ।
सत्यवतीमा डेढ वर्षअघि सञ्चालनमा आएको टेलिकम टावरले सेवा प्रवाह नगरेपछि सेवाग्राही सुविधाबाट वञ्चित भएका हुन् । सेवा सञ्चालन भए पनि टावरको इक्युप्मेन्ट जडानमा नेपाल टेलिकम पाल्पा र क्षेत्रीय कार्यालय भैरहवाले लापर्बाही गरेको कारण सेवा विस्तार हुन सकेको छैन ।
टावरमा पूरा क्षमताको बिटीएस जडान गर्नुपर्नेमा माइक्रो बिटीएस जडान गरिएकाले सेवा विस्तार हुन नसकेको टेलिकम पाल्पाका प्रमुख सन्तोष भण्डारीले स्वीकार गरे । ‘टावरमा ओम्नी एन्टिना जडान गरिएको छ, जहाँ पूरा क्षमतामा सञ्चालन गर्न तीनवटा सेक्टर जडान गर्नुपर्ने हुन्छ, त्यो अहिले हामीसँग छैन,’ न्युज कारोबारसँग उनले भने ।
नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवाका प्रमुख ललितकुमारलाल दासले भने पूर्ण क्षमताको बिटीएस खोजेर तत्काल जडानको प्रयास गर्ने बताए । ‘नभए केन्द्रबाट मगाएर केही ढिलो भए पनि सुधार गर्छौं,’ उनले भने ।
टेलिकमले नाम मात्रको टावर निर्माण गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । वडा नम्बर ८ का अध्यक्ष थमान रानाले टेलिकमले लापर्बाही गरेको बताए । ‘पाँच सय मिटर वरपर पनि काम नगर्ने टावर हामीलाई आवश्यक छैन,’ उनले भने ।
वडापालिका र गाउँपालिकाकाले समेत यसबारे कुनै पहल गर्न सकेका छैनन् । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले टेलिकमलाई मौखिक रुपमा जानकारी गराइसकेको र अब लिखित जानकारी गराउने बताए । टावर पूर्ण क्षमतामा सञ्चालन हुन सके साविकका गाविसहरु सत्यवती, बल्ढेङगढी, जुठापौवा र अर्घाखाँची तथा रुपन्देहीका केही स्थानका बासिन्दा लाभान्वित हुनेछन् ।
स्थानीयबासीले भने टेलिकमका कर्मचारीले कम गुणस्तरका सामान जडान गरेर भ्रष्टाचार गरेको आरोप लगाएका छन् । वडा नम्बर ७, बल्ढेङगढीका अध्यक्ष देवेन्द्र पुनले ठूलो लगानी गरेर सेवा नदिइनु पनि भ्रष्टाचार नै भएको बताए । ‘यसको छानबिन सम्बन्धित निकायले गर्नुपर्छ,’ न्युज कारोबारसँग उनले भने ।
पाल्पा बल्ढेङगढी समाज रुपन्देहीका अध्यक्ष डीबी कार्कीले पनि कमसल सामग्री प्रयोग गर्ने टेलिकमका कर्मचारीलाई छानबिन गरी कारबाही गर्नुपर्ने बताए । यो टावरको पूरा लागत सवा दुई करोड रुपैयाँ रहेको टेलिकम पाल्पाले जनाएको छ ।
प्रकाशित समय २१:२१ बजे