गृहपृष्ठ तनहुँ सेती निर्माणका लागि ठेकेदार छनोट
तनहुँ सेती निर्माणका लागि ठेकेदार छनोट
एक सय ४० मेगावाटको तनहुँ सेती (माथिल्लो सेती) जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न ठेकेदार छनोट गरिएको छ । तनहुँ सेतीको पहिलो र दोस्रो प्याकेज निर्माणका लागि ठेकेदार छनोट भएको तनहुँ हाइड्रो पावरले जनाएको हो ।
पहिलो प्याकेजअन्तर्गत आयोजनाको नदी फर्काउने, बाँधलगायतका संरचना (हेड वर्क्स) निर्माणका लागि इटलीको सिएमसी दि राभेना सोसाइट कोअपरेटिभ छनोट भएको छ । त्यस्तै, आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको काम चीनको सिनो हाइड्रो कर्पोरेसनले गर्नेछ । दुवै ठेकेदारलाई २८ दिनभित्र कार्यसम्पादन जमानत (परफर्मेन्स ग्यारेन्टी) बुझाउन पत्राचार गरिएको कम्पनीले जनाएको छ ।
जमानत बुझाएपछि ठेक्का सम्झौता हुने कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले जानकारी दिए । सम्झौता भएको दुर्इ महिनाभित्र काम सुरु गर्न आदेश दिइने उनले बताए ।
पहिलो प्याकेजका लागि सिएमसी दि राभेना सोसाइट कोअपरेटिभसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहित)मा सम्झौता हुनेछ । त्यस्तै, दोस्रो प्याकेजका लागि ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रूपैयाँ (मूल्य अभिवृद्धि करबाहेक)मा ठेक्का टुंगो लागेको हो ।
दुवै ठेकेदारले सन् २०२३ को डिसेम्बरभित्र काम पूरा गर्नुपर्नेछ । सम्झौता गरी मंसिरदेखि आयोजनास्थलमा काम सुरु गर्न ठेकेदार परिचालन गर्ने तयारी छ ।
आयोजनाका लागि हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ६.०८ रुपैयाँ दरमा पिपिए भएको छ । आयोजनाको बर्खाको ऊर्जा ६५ प्रतिशत कायम गरिएको छ । टेक अर पे प्रावधानमा गरिएको पिपिएमा वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवद्धिको व्यवस्था गरिएको छ । आयोजनाको विद्युत उत्पादन गर्ने मिति २०८० चैत मसान्त तोकिएको छ । आयोजनाबाट उत्पादित विद्युत ३५ किलोमिटर टाढा २२० केभीको न्यु-भरतपुर सब-स्टेसनमा जोडिनेछ ।
प्रकाशित समय १६:३० बजे

















