गृहपृष्ठ नुवाकोट : पौने तीन करोड रुपैयाँ राजश्व संकलन

नुवाकोट : पौने तीन करोड रुपैयाँ राजश्व संकलन

जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा पौने तीन करोड रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले आव २०७४/७५ मा दुई करोड ६९ लाख ४० हजार ८ सय ९५ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । हालै सार्वजनिक विवरणअनुसार प्रशासन कार्यालयले सबैभन्दा बढी राहदानीबाट राजश्व असुल गरेको छ । चार हजार ९ सय ६८ राहदानी वितरण गरेको जिप्रकाले राहदानीवापत दुई करोड ६० लाख दुई हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको छ । प्रशासनले दु्रत सेवाका लागि चार हजार पाँच राहदानीका लागि सिफारिससमेत गरेको छ ।

एक वर्षमा झण्डै नौ हजार जनाले राहदानी बनाएका छन् । जिप्रकाले अन्य राजश्व भने संस्था दर्ता, संस्था नवीकरण, हातहतियार नामसारी तथा नवीकरण, प्रशासनिक दण्ड जरिवाना, परीक्षा दस्तुर, बेरुजु असूली, न्यायिक दण्ड जरिवानालगायतबाट राजश्व उठाएको प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए ।

जिप्रकाले गत वर्ष आठ हजार ९ सय ८५ नागरिकता वितरण गरेको छ । यस्तै चार हजार ९ सय ७३ प्रतिलिपि नागरिक पनि वितरण गरिएको छ । वैवाहिक अंगीकृत नागरिक पाँच वटा वितरण भएको छ ।

यस्तै ५४ संस्था दर्ता भएको छ भने १ सय २६ वटाको नवीकरण भएको छ । एक सय ६० जनाको नाबालक परिचयपत्र वितरण भएको तथा चार हजार ५ सय ५१ वटा सिफारिस भएको छ ।

प्रकाशित समय ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु