गृहपृष्ठ फलो अप : राष्ट्रिय झण्डा दुरुपयोगमा उद्योग विभागकै संलग्नता

फलो अप : राष्ट्रिय झण्डा दुरुपयोगमा उद्योग विभागकै संलग्नता

रक्सीको ब्रान्डिङमा राष्ट्रिय झण्डा

राष्ट्रिय झण्डा दुरुपयोगमा उद्योगी राजबहादुर शाहसँगै उद्योग विभाग पनि दोषी देखिएको छ । देशको शान र पहिचानका रुपमा रहेको नेपालको झण्डा रक्सीको चिह्न बनाउने अर्थात पेटेन्ट डिजाइन र ट्रेडमार्कको दर्ता गर्ने काममा उद्योग विभागसमेत संलग्न देखिएको हो ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राज ब्रुअरीका सञ्चालक शाहले जर्मनी बियर वार्सटाइनसँग सहकार्य गर्दै उत्पादन सुरु गरेको ‘नमस्ते बियर’को पेटेन्ट डिजाइन नेपालको राष्ट्रिय झण्डा राखिएको छ । राष्ट्रिय झण्डा बढी प्रचलित भएकाले रक्सीको झण्डाबाटै रक्सीको विज्ञापन होस् भन्ने कम्पनीको उद्देश्य रहेको बुझिन्छ ।

सो काम गैरकानुनी रहेको ऐनले प्रस्ट जनाउँदा–जनाउँदै कम्पनीको प्रलोभनमा परी उद्योग विभागका अधिकारीले अनुमति दिएको उद्योग विभागका तल्ला तहका कर्मचारी बताउँछन् । कुनै पनि उद्योगबाट उत्पादित सामग्रीमा के–कस्तो चिह्न राख्ने भन्नेबारेमा पेटेन्ट डिजाइन र ट्रेडमार्कको दर्ता गर्ने व्यवस्था गर्न बनेको ऐन ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ साढे पाँच दशकदेखि कार्यान्वयनमा छ ।

सो ऐनको ६ नम्बर बुँदामा पेटेन्ट दर्ता हुन नसक्ने केही आधार स्पष्ट उल्लेख गरिएको छ । ६ नम्बर बुँदाको (घ) मा ‘कुनै प्रचलित नेपाल कानुनको बर्खिलाप हुने रहेछ भने’ सो चिह्न दर्ता हुन नसक्ने भनिएको छ । राज ब्रुअरीले केही वर्षअघि नेपालको कानुन तथा विभिन्न कार्यविधिले निधेष गरेको राष्ट्रिय झण्डा वा निशान चिह्न आफ्नो ब्रान्डको पेटेन्ट लिएको थियो ।

सो कम्पनीले राष्ट्रिय झण्डाको हुबहु पेटेन्ट लिँदा नेपालमा तत्कालीन मुलुकी ऐन कार्यान्वयन थियो । सो कानुनले समेत व्यापारिक प्रयोजनका लागि राष्ट्रिय झण्डा वा निशान प्रयोग गर्न वर्जित गरेको थियो । अर्काेतर्फ राष्ट्रिय झण्डा वा राष्ट्रिय गान प्रयोग कार्यविधिसमेत बनिसकेको थियो । त्यसमा पनि व्यापारिक प्रयोजनका लागि झण्डा वा निशान चिह्न प्रयोग गर्न नहुने उल्लेख छ । उद्योग विभागको ट्रेडमार्क शाखाबाट लिइने पेटेन्ट प्रक्रिया लामो र धेरै ऐन कानुन पार गर्नुपर्ने भए पनि ट्रेडमार्क शाखाले सहजै राष्ट्रिय झण्डाको नक्कल गरी पेटेन्ट दिएको छ ।

नमस्ते बियरको पेटेन्ट खारेज हुने
‘पेटेन्ड डिजाइन र ट्रेडमार्क ऐन २०२२’ ले कुनै प्रचलित नेपाल कानुनको बर्खिलाप हुने चिह्न दर्ता हुन नसक्ने बताएको छ । कुनै कारणबस दर्ता भएको देखिए खारेज हुन सक्ने स्पष्ट व्यवस्था छ । ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ को ६ नम्बर बुँदाको (२) उपदफा (१) मा कानुनको बर्खिलाप हुने गरी पेटेन्ट लिइएको भएमा सो पेटेन्टको दर्ता बदर गर्न सकिने उल्लेख छ । जसअनुसार अहिले राज्र ब्रुअरीले पाएको राष्ट्रिय झण्डाको हुबहु लोगो उद्योग विभागको ट्रेडमार्ग विभागले रद्द गर्नुपर्नेछ ।

 

नमस्ते बियरको सबै परिमाण जफत हुनसक्ने
पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ उल्लंघन गर्ने वा गराउनेलाई पनि कारबाहीको व्यवस्था छ । कुनै पनि उद्योगले आफ्ना उत्पादनमा कानुनविपरीतका पेटेन्ट प्रयोग गरेमा हालै लागू भएको मुलुकी अपराध संहिताका साथै ट्रेडमार्क ऐनमा समेत कारबाहीको व्यवस्था छ ।

‘कसुरसँग सम्बन्धित चिज वस्तु नै जफत हुने’ सो ऐनको ११ नम्बरमा भनिएको छ । सोही नम्बरमा पाँच लाख रुपैयाँ जरिवाना र सो काम गर्न प्रेरित गर्नेलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना हुने भनिएको छ । ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ सरकारले राम्रोसँग कार्यान्वयन गर्ने हो भने राज ब्रुअरीले उत्पादन गरेका सबै परिमाणका नमस्ते बियर जफत गर्नुपर्नेछ ।

नमस्तेको पेटेन्टबारे पुनर्विचार गर्छौं : उद्योग विभाग
उद्योग विभागको ट्रेडमार्क शाखाको नेतृत्व गर्दै हालसालै सुरुवा भई आएका निर्देशक नोखबहादुर बस्यालले नमस्ते बियरको पेटेन्टबारे पुनर्विचार गर्ने बताए । विगतमा यस विषयमा ट्रेडमार्क शाखाबाट भएका निर्णयबारे छानबिन गर्ने उनले बताए । ‘कानुनले वर्जित गरेको राष्ट्रिय झण्डाको हुबहु पेटेन्ट यसअघि कसरी स्वीकृत भयो आफैंमा अचम्मको कुरो छ, हामी यस विषयमा छानबिन गर्नेछौं,’ निर्देशक बस्यालले न्युज कारोबारसँग भने, ‘टेड्रमार्क शाखाले स्वीकृति नदिँदा नदिँदै पनि वा अर्काे पेटेन्ट दिइँदा त्यसलाई मोडिफाइ गरिएको हुन पनि सक्छ, यसबारेमा छानबिन हुन्छ ।’

पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ तथा मुलुकी अपराध संहितामा राष्ट्रिय झण्डा वा त्यसको स्वरुप झल्कने खालको निशानसमेत व्यापारिक प्रयोजनमा प्रयोग गर्न नहुने उल्लेख रहेकाले त्यस किसिमको चिह्न कुनै उत्पादनलाई प्रयोग गर्न नदिइने निर्देशक बस्यालको भनाइ छ ।

 

याे पनि : पैसा कमाउन मुलुककै इज्जतमाथि प्रहार : रक्सीको बोतलमा राष्ट्रिय झण्डा

प्रकाशित समय १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु