गृहपृष्ठ फलो अप तीन : खुल्यो राज ब्रुअरीको तीन बदमासी
फलो अप तीन : खुल्यो राज ब्रुअरीको तीन बदमासी
स्वीकृत पेटेन्ट डिजाइनमा तोडमोड गरी राष्ट्रिय झण्डाको दुरुपयोग
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राज ब्रुअरीले ट्रेडमार्क दर्ता नगरी बियर बजारमा ल्याएको खुलासा भएको छ । जर्मनी बियर वार्सटाइनसँग सहकार्य गर्दै उत्पादन सुरु गरेको राज ब्रुअरीले नमस्ते बियरको ट्रेडमार्क दर्ता नै नगरी अवैधानिक रुपमा बजारमा विक्री गरेको पाइएको हो । कुनै पनि वस्तु वा उत्पादन बजारमा ल्याउनुपूर्व उद्योग विभागमा दर्ता गरी अनिवार्य पेटेन्ट डिजाइनको स्वीकृति लिनुपर्छ ।
२०२२ सालदेखि कार्यान्वयनमा रहेको ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ उल्लंघन गर्दै राज ब्रुअरीले नमस्ते बियर बेचिरहेको छ । यसबाहेक पेटेन्ट डिजाइनमा नेपालको राष्ट्रिय झण्डा अंकित लोगो राखेर उसले अर्काे गम्भीर गल्ती गरेको छ ।
नेपालकै प्रतिष्ठित उद्योगीमध्येका एक राजबहादुर शाहको लगानी गरेको राज ब्रुअरीले नमस्ते ब्राण्डको बियर उत्पादन गनै उद्योग विभागको ट्रेडमार्क शाखामा चार खालका गुणस्तर दर्ता गराएको छ । नमस्ते बियर स्ट्रङ, क्लासिक, लाइट र प्रिमियम गरी चार गुणस्तरमा उत्पादन गर्ने गरी ट्रेडर्माकमा दर्ता छ । तर, राज ब्रुअरीले बजारमा बेचेको तीमध्ये प्रिमियम लेबलको बियर टे«डमार्कबाट पेटेन्ट डिजाइन स्विकृत भइनसकेको ट्रेडमार्क शाखाले जनाएको छ ।
नमस्ते ब्राण्डकै अरु तीनवटा लेभल भने विधिवत दर्ता रहेको शाखाका निर्देशक नोखबहादुर बस्यालले बताए । उद्योग विभागको ट्रेर्डमार्क दर्ता नम्बर ६४४८९ मा नमस्ते ब्राण्डको स्ट्रङ बियर, दर्ता नम्बर ६४४९० मा क्लासिक बियर र दर्ता नम्बर ६४४९१ मा लाइट बियर दर्ता छ । नमस्ते ब्राण्डको प्रिमियम लेबलको बियर उत्पादनका लागि ६४४९२ मा दर्ता भए पनि त्यसको पेटेन्ट डिजाइन लोगो स्वीकृत नभएको टेड्रमार्ग शाखाका अधिकारीहरुले बताएका छन् । ट्रेडमार्क शाखाका अधिकारी र प्राविधिकहरुले पेटेन्ट दर्ता भएको लिष्ट कम्युटरमा देखाउँदै भने, ‘नमस्ते बियरमा प्रिमियम लेभलको पेटेन्ट दर्ता छैन ।’
पेटेन्ट डिजाइन उल्लंघन गरेकाले कार्बाही हुने
विश्वमै ख्याती कमाएको वार्सटाइन ब्रुअरीको ब्राण्डसँग सहकार्य गरे पनि राज ब्रुअरीले प्रचलित नियम कानुन उल्लंघन गर्दै उसैले आफ्ना उत्पादनको गुणस्तरमै आशंका उब्जाउने काम गरेको छ । रक्सी उत्पादन तथा बिक्रीवितरणजस्तो संवेदनशील विषयमा गरिनुपर्ने प्रक्रियामासमेत लापरबाही गर्ने उद्योगलाई कारबाही गरिने उद्योग विभागको टेड्रमार्क शाखाका निर्देशक नोखबहादुर बस्यालले बताए । ‘विधीको शासनमा ठूलो होस् वा सानो, कानुनविपरित चल्ने उद्योगलाई कार्बाही हुन्छ ।’ उनले भने ।
उद्योग क्षेत्रमा देखिएका विकृति अन्त्य गर्दै सुधारका लागि आफू विभागमा आएको बताउँदै निर्देशक बस्यालले राज ब्रुअरीलाई मात्र नभई कानुन उल्लंघन गर्ने सबै उद्योगलाई कारबाही गर्ने बताए ।
स्वीकृत लिएका ब्राण्डमा पनि पेटेन्ट डिजाइन फरक
राज ब्रुअरीले टेड्रमार्क स्वीकृति लिएका अरु लेबलका बियरमा पनि पेटेन्ट डिजाइन फरक ढंगले प्रयोग गरेको पाइएको छ । टे«डमार्कको कलरदेखि डिजाइनसम्मको स्वरुप आफूखुुुुसी परिवर्तन गरिएको छ । राष्ट्रिय झण्डा अंकित लोगोलाई कालो रंगमा प्रयोग गर्न उसले स्वीकृति पाएको देखिन्छ । तर, बजारमा पठाइएको बियरको बोतलमा भने राष्ट्रिय झण्डासँग हुबहु मिल्ने गरी रातो रंगको प्रयोग गरिएको छ । नमस्ते बियरको बोतलको बिर्को मुनि राखिने पेटेन्ट डिजाइनसमेत स्वीकृति लिएकोभन्दा फरक बनाइएको छ ।
झण्डामाथि सिक्का आकारको गोलाकारभित्रको स्परुप उत्पादनमा बिगारिएको छ । झण्डाको तल्लो भागमा तीनवटा सिक्काको ठाउँमासमेत स्वरुप बिगारेर अर्को चिन्ह प्रयोग गरेको छ । यसरी उसले ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ को ठाडै उल्लंघन गरेको छ ।
नमस्ते बियरका सबै उत्पादन जफत हुने
सरकारी निकायले कानुनसम्बत कारबाही गर्ने हो भने, राज ब्रुअरीलाई ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ उल्लंघन गरेबापत उसका सबै उत्पादन सामाग्री जफत हुने छ । पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १५ मा ‘कसुरसँग सम्बन्धित सबै चिज वस्तु् जफत हुनेछ’ भनिएको छ । यस्तै पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ को दफा ११ मा पाँच लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
त्यसो त, राज ब्रुअरीले पैसा कमाउनकै लागि कानुनविपरित राष्ट्रिय झण्डा आफ्नो पेटेन्ट डिजाइनमा राखेप्रति सर्वसाधरण आक्रोशित छन् । व्यापारिक प्रयोजनमा राष्ट्रिय झण्डाको प्रयोग गर्न संविधानले नै रोक लगाएको छ । तर, राज ब्रुअरीले रक्सीको बोतलमा चन्द्र सूर्य अंकित नेपालको झण्डा राखेर लोगो टाँसेको छ ।
‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि र प्रचलित कानुन मुलुकी अपराध संहिताले कुनै पनि वस्तुको वयापारिक प्रयोजनका लागि राष्ट्रिय झण्डा वा झण्डासँग मिल्दोजुल्दो निशानीसमेत प्रयोग गर्न नुहुने भनेको छ । तर, राज ब्रुअरीले यो नियम नमानेर कानुनको खिल्लीमात्रै उडाएको छैन, नेपालीको सान राष्ट्रिय झण्डाको गरिमामै प्रहार गरेको टिप्पणी भइरहेको छ ।
याे पनि पढ्नुहाेस् :
- पैसा कमाउन मुलुककै इज्जतमाथि प्रहार : रक्सीको बोतलमा राष्ट्रिय झण्डा
- फलो अप : राष्ट्रिय झण्डा दुरुपयोगमा उद्योग विभागकै संलग्नता
प्रकाशित समय १८:५१ बजे



















