गृहपृष्ठ लक्ष्यभन्दा १८ करोड बढी राजस्व संकलन

लक्ष्यभन्दा १८ करोड बढी राजस्व संकलन

rajaswa-newskarobar

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको साउनमा ६८ करोड २३ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले साउनका लागि ५० करोड ७८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा लक्ष्यभन्दा करिब १८ करोड बढी संकलन गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कार्यालयले ४३ करोड १२ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख दिलिप गौतमले जानकारी दिए । ‘साउनमा आयकरको लक्ष्य १४ करोड ८६ लाख ७५ हजार रुपैयाँ रहेकोमा २२ करोड ६६ लाख ६२ हजार रुपैयाँ असुली भएको छ,’ उनले भने ।

गत आर्थिक वर्षको सोही अबधीमा आयकर लक्ष्य ९ करोड ८६ लाख ७८ हजार रुपैयाँ रहेको भए पनि लक्ष्यभन्दा बढी अर्थात् १० करोड ३१ लख ९५ हजार रुपैयाँ संकलन भएको थियो । त्यसैगरी, साउनमा बहाल कर एक करोड १५ लाख ९६ हजार, ब्याजकर लक्ष्य १ करोड १३ लाख रुपैयाँ रहेकोमा असुली १ करोड ५५ लाख ५८ हजार रुपैयाँ भएको छ ।

यो अवधिमा मूल्य अभिवृद्धि करको लक्ष्य २१ करोड ५० लाख ५५ हजार रुपैयाँ रहेको भए पनि असुली लक्ष्यभन्दा कम १७ करोड ८४ लाख ५० हजार रुपैयाँमात्र भएको कार्यालयले जनाएको छ । त्यस्तै, अन्तःशुल्क करको लक्ष्य १३ करोड ३ लाख १० हजार रुपैयाँ रहेकोमा लक्ष्यभन्दा बढी अर्थात् २० करोड ९० लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

चालू आर्थिक वर्षको साउनमा स्वास्थ्य सेवा करबापत ३ करोड ४९ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्षको सोही महिनामा स्वास्थ्य सेवाकरको लक्ष्य २ करोड ४३ लाख ६१ हजार रुपैयाँ रहेकोमा असुली २ करोड ७ लाख ४५ हजार रुपैयाँ संकलन भएको थियो । साउनमा शिक्षा सेवा शुल्क ६२ लाख ५२ हजार रुपैयाँ असुली भएको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु