गृहपृष्ठ सरकारलाई धक्का, चिनियाँ कम्पनीद्वारा पश्चिम सेती बनाउन अस्वीकार
सरकारलाई धक्का, चिनियाँ कम्पनीद्वारा पश्चिम सेती बनाउन अस्वीकार
चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती जलविद्युत आयोजना बनाउन अस्विकार गरेको छ ।
चिनियाँ कम्पनी थ्री गर्जेजले प्राविधिक, प्रभावित क्षेत्रको पुनर्वासलगायतको कारण लागत महंगो पर्ने भन्दै पश्चिम सेती जलविद्युत आयोजना बनाउन अस्विकार गरेको हो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले थ्री गर्जेजले क्षमता घटाएर र ऋण भुक्तानीका लागि अमेरिकी डलरमा ऊर्जा खरिद सम्झौंता गर्ने प्रस्ताव गर्दा पनि सो आयोजनाको काम अघि बढाउन नसकिने जानकारी बोर्डलाई गराएको बताए । बोर्डले ७ सय ५० मेगावाटको सो जलविद्युत आयोजना घटाएर ६ सय मेगावाटको मात्रै बनाउन पनि थ्री गर्जेज कम्पनीसँग प्रस्ताव गरेको थियो । तर, कम्पनीले बोर्डसँग मंगलबार र बुधबार छलफल गरी सो आयोजना अघि बढाउन नसकिने जानकारी गराएको हो ।
एक खर्ब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको सो जलविद्युत आयोजना थ्री गर्जेजको सहायक कम्पनी सिडब्लू इन्टेष्मेन्ट कर्पोरेशन र लगानी बोर्डबीच २०६८ सालमै बनाउने सहमति भएको थियो ।
यसैबीच, लगानी बोर्डले सो आयोजना अघि बढाउन आवश्यक निर्णय लिन बोर्ड बैठक बोलाउने भएको छ । प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको बोर्ड बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
प्रकाशित समय १८:४८ बजे

















