गृहपृष्ठ कांग्रेस नेताहरुले भने, ‘केपी ओली नयाँ हिटलर’

कांग्रेस नेताहरुले भने, ‘केपी ओली नयाँ हिटलर’

सिटौला र गगन भन्छन्, ‘ओली नै खतरा’

नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘नयाँ हिटलर’को संज्ञा दिएका छन् । काठमाडौँकाे बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बुधबार जीपी कोइराला लोकतन्त्र सम्बर्धन केन्द्रले गरेको कार्यक्रमा कांग्रेस नेताहरुले ओलीलाई नयाँ हिटलर भनेका हुन् ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ओलीका गतिविधि हिटलरजस्तै देखिएको बताए । ‘सरकार लोकतन्त्रको मान्यताभन्दा बाहिर गएको छ, प्रधानमन्त्री ओलीका व्यवहार खतरापूर्ण देखिन्छ,’ सिटौलाले भने, ‘अर्को कुरा, ओलीले मुलुकलाई आफ्नो व्यक्तिगत सम्पत्तीजस्तो गरी प्रयोग गर्न थाल्नु निरंकुशताको संकेत हो ।’

सरकार ६ महिनामै निकै अलोकप्रिय भएको उनले दाबी पनि गरे । ‘६ महिनामै सरकार यति अलोकप्रिय होलाजस्तो मलाई चाहिँ लागेको थिएन,’ उनले भने, ‘सरकार स्वच्छाचारी रुपमा अघि बढ्दा मुलुक दुर्घटनामा पर्न सक्ने खतरा बढेको छ ।’

कार्यक्रमा कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै मुलुक खतरामा रहेको टिप्पणी गरे । वर्तमान सरकारले संविधान कार्यान्वयन गर्नै नसक्ने उनले दाबी पनि गरे । ‘विधिको शासनमा नरहनु, संविधानको उल्लंघन गर्नु र एकदलीय शासन लागू गर्न खोज्नु नै ओलीबाट मुलुक खतरामा पर्दै गएको सूचक हो,’ गगनले भने, ‘जनताले यो कुरा बेलैमा बुझ्नुपर्छ ।

कांग्रेसकै केन्द्रिय सदस्य प्रदीप पौडेलले ६ महिनामै सरकार राणा र पञ्चहरु जस्तै भएको आरोप लगाए । सरकार बेलैमा नसच्चिए प्रतिकार गर्ने उनले चेतावनी पनि दिए । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले सरकारले माओवादीको दश बर्षे जनयुद्धको निती अंगिकार गरेको दाबी गरे । ‘माओवादीले युद्ध गर्दा सम्यवादको कुरा गर्दै संसदीय व्यवस्थाको बिरोध गरेको थियो, अहिले केपी आलीले पनि त्यही नीति पकडेका छन् ।’ उनले भने ।

नेविसंघका महामन्त्री कुन्दन काफ्लेले भने आफ्नै पार्टी नेतृत्वको कमजोरी औँल्याए । ‘काग्रेसले आफ्नो गल्ती स्वाकार गर्न सकेन,’ उनले भने, ‘जनतासम्म गएर कुरा बुझाउन नसक्नु कांग्रेसको गल्ती नै हो ।’

प्रकाशित समय १९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु