गृहपृष्ठ गाडी कर्जा बढ्दा किन घट्यो सेयर कर्जा ?
गाडी कर्जा बढ्दा किन घट्यो सेयर कर्जा ?
बैंक तथा वित्तीय संस्थाबाट अटो लोन विस्तार भएको छ । चालू आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाको अटो लोन २.१ प्रतिशतले बढेको हो । गत वर्षको साउन र भदौमा अटो लोन १.४ प्रतिशतमात्र बढेको थियो ।
चालू वर्षको भदौसम्म वित्तीय संस्थाले तीन अर्ब ५३ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिमा २ अर्ब ९ करोड ८७ लाख रुपैयाँमात्र अटो लोन प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट कुल एक खर्ब ७४ अर्ब ५६ करोड रुपैयाँ अटो लोन प्रवाह भएको छ ।
किन घट्यो सेयर कर्जा ?
गाडी कर्जा विस्तार भइरहँदा सेयर कर्जामा भने गिरावट आएको छ । चालू वर्षको भदौसम्म सेयर कर्जा ०.९ प्रतिशतले घटेको छ । दुर्इ महिनामा ३८ करोड ७५ लाख रुपैयाँमात्र सेयर कर्जा जारी भएको केन्द्रीय बैंकले जनाएको छ ।
सेयर बजार सकारात्मक बन्न नसक्दा लगानीकर्ताले वित्तीय संस्थाबाट ऋण लिएर जोखिम उठाउने साहस गर्न सकेका छैनन् । बजार नकारात्मक बनेका बेला बैंकको ब्याजदर पनि घट्न सकेको छैन । घट्दो बजार र उच्च ब्याजदरमा लगानीकर्ताले बैंकबाट कर्जा लिएर लगानी गर्न नचाहेका कारण सेयर कर्जाको माग बढ्न नसकेको हो ।
प्रकाशित समय १९:५३ बजे

















