गृहपृष्ठ नेकपाको स्थायी समिति बैठक कहिले ?

नेकपाको स्थायी समिति बैठक कहिले ?

नेपाल पक्षको आरोप : नेतृत्वले आलटाल गर्याे

nekapaa-newskarobar

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्न नसक्दा तल्ला तहको एकता प्रक्रिया अनिश्चित बनेको छ । यसअघि पटक–पटक सचिवालय बैठक बसे पनि स्थायी कमिटी बैठक तीन महिना यता बस्न नसक्दा पार्टी एकता प्रक्रियाले पूर्णता पाउन नसकेको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बिरामी भएपछि स्थायी समिति बैठक स्थगित गरिएको छ । जस कारण तल्ला तहको पार्टी संयोजन र जनबर्गीय संगठनहरूको एकता तथा नेताहरू जिम्मवारी बाँडफाँडको समय थप लम्बिएको हो । पार्टी अध्यक्ष ओलीको अस्वस्थता र केन्द्रीय सचिवालय र कार्यदलले गृहकार्य पूरा नगर्दा सोमबार र मंगलबार बोलाइएको स्थायी कमिटी स्थगित भएको छ ।

अध्यक्ष ओलीको अस्वस्थता र कार्यदलको तयारीको अभावमा स्थायी कमिटीको बैठक स्थगित भएको बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । स्थायी समिति बैठक बसेर मात्र जनबर्गीय सङ्गठनहरूको एकता तथा नेताहरू जिम्मवारीले पार्टी एकताले पूर्णाता पाउने खनालले बताए ।

‘स्थायी कमिटीको बैठक बस्न पहिला सचिवालयको बैठक टुंगिनुपर्छ । सचिवालयमा ९ जना नेता हुनुहुन्छ । तीमध्ये दुईजना पार्टी अध्यक्ष हुनुहुन्छ । त्यसमध्ये एकजना अध्यक्ष त प्रधानमन्त्री हुनुहुन्छ, उहाँ हमेसा व्यस्त । फेरि अहिले बिरामी हुनुहुन्छ,’ खनालले भने, ‘सबै नेता उपस्थित भएका बेलामात्रै स्थायी कमिटीको मिति र एजेन्डा तय गरौं भन्ने सचिवालयको आशय हो, तर त्यो परिस्थीती मिल्न सकेको छैन ।’

अहिले प्रधानमन्त्री बिरामी हुँदा स्थायी कमिटीको बैठक मात्र नभई सचिवालयकै बैठकसमेत अनिश्चित बनेको उनले सुनाए । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएका छन् ।

पछिल्लो पटक कात्तिक ८ गते सचिवालय बैठक बसेको थियो । त्यसअघि ४ र ५ गते सचिवालय बैठकमा स्थायी समितिको एजेण्डा भन्दा पनि पार्टीभित्रको अरु विवादका विषयमा छलफल भयो । त्यसपछि ८ गतेको बैठकले प्रदेश सदस्यहरुको टुंगो र जिम्मेवारीको गृहकार्य गर्न पार्टी महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले पनि पर्याप्त गृहकार्य गर्न नसकेको नेताहरुको टिप्प्णी छ । नेता नेपालपक्षका नेताहरु तत्काल बैठक बोलाउनुपर्ने पक्षमा भए पनि ओलपक्ष आलटाल गरिरहेको बताइन्छ ।

नेपाल पक्षका नेताहरु भन्छन्, ‘बैठक बस्न नसक्नुको ठोस कारण सचिवालयबाट नदिइए पनि तयारी नपुगेको विषयलाई आधार बनाइएको छ । उता २ सदस्यीय कार्यदलले पनि तयारी गर्न सकेको छैन, यसैले स्थायी समिति बैठक अनिश्चित बनेको छ ।’

पार्टीका दुई वरिष्ठ नेता नेपाल र खनालले दुई अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । पार्टीका निर्णयहरू सामूहिकरूपमा गर्नुपर्ने उनीहरुको माग छ । दुई अध्यक्षको निर्णयको विरुद्धमा फरक मत राख्दै आएका नेता नेपाल बैठकमा यी विषयमा छलफल हुनुपर्ने बताउँदै आएकाले तत्काल बैठक चाहेका छन् ।

बैठक बसेर क्रमशः समस्या समाधान गर्दै जानु आवश्यक रहेको नेताहरूको भनाइ छ । स्थायी कमिटी सदस्य वेदुराम भुसालले पार्टी एकताको काम नहुनुको पछाडि बैठक नबस्नु रहेको बताए ।

जेठ ३ गते पार्टी एकता घोषणा भएयता असार २ र साउन २४ गते दुई पटक स्थायी कमिटी बैठक बसेको थियो । त्यसपछि कात्तिक सोमबार र मंगलबारका लागि आह्वान गरिएको अर्काे बैठक भने बस्न नसकेको हो । बैठक स्थगित भएपछि स्थायी कमिटी सदस्यहरूको गुनासोसहितको टिप्पणी आएको छ ।

नेपाल निकट मानिने नेता योगेश भट्टराईले बैठक छिट्टै बोलाउन माग गरेका छन् ।पार्टी अध्यक्ष ओली अस्पताल भर्ना भईरहँदा उनले ओलीको स्वास्थ लाभको कामना गर्दै बैठक छिट्टै बोलाउन माग गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा अंग्रेजी भाषमा लेख्दै स्थायी समिति बैठक तत्काल बोलाउन माग गरेका छन् । सरकारको कामकाज प्रभावकारी हुन नसकेको जनगुनासो बढिरहेका बेला स्थायी कमिटी बैठक बसेर त्यसबारे समीक्षा गर्ने र सरकारलाई सुझाव दिनुपर्ने उनको भनाई छ । ४५ सदस्यीय स्थायी कमिटी बैठकका धेरै कार्यसूची छन् ।

प्रकाशित समय १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु