गृहपृष्ठ काठमाडौंको भृकुटीमण्डपमा हस्तकला व्यापार मेला सुरु
काठमाडौंको भृकुटीमण्डपमा हस्तकला व्यापार मेला सुरु
नेपाल हस्तकला महासंघको १६औँ हस्तकला व्यापार मेला र १४औँ हस्तकला प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । बिहीबारबाट सुरु भएको मेला मंसिर २ गतेसम्म चल्नेछ ।
मेला उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय कच्चापदार्थमा आधारित, स्वदेशी शिल्पी तथा सिर्जनामा कुँदिएका हस्तकलाका सामानको यथोचित प्रवद्र्धन हुनसकेमा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए ।
कार्यक्रममा १४औँ हस्तकला प्रतियोगितामा सहभागीमध्येबाट उत्कृष्टलाई नगदसहित सम्मानसमेत गरिएको छ । मेला सञ्चालनका लागि एक करोड खर्च लाग्ने अनुमान गरिएकोमा २५ लाख रुपैयाँ सरकारले र एक लाख रुपैयाँ उद्योग वाणिज्य महासंघले सहयोग गरेको छ ।
मेलामा १० करोड बराबर कारोबार हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा ललितपुर महानगरलाई हस्तकला सिटी घोषण गरिएको थियो ।
कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, नेपाल चेम्बर्स अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्ल, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालगायतको उपस्थिति थियो । यसैबीचम महासंघको स्मारिकासमेत विमोचन गरिएको थियो ।
मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पस्मिना, हातेकागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।
मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्वर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य संघ, स्वच्छ व्यवसायी समूह नेपालले सहयोग गरेका छन् ।
मेलामा ४५ जिल्लाका २०० वटाभन्दा बढी स्टल सहभागी छन् । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० वटा स्टलसमेत छन् ।
प्रकाशित समय २१:०९ बजे

















