गृहपृष्ठ प्रदेश ५ : उद्योग खोल्न जग्गा बाधक

प्रदेश ५ : उद्योग खोल्न जग्गा बाधक

butwal-udog-sanga-newskarobar

सशस्त्र संघर्ष अन्त्य भएपछि उद्योगीहरू उत्साहित बनेका छन् । सरकारले पनि ‘राजनीतिक क्रान्ति’ एक हदसम्म पूरा भएको भन्दै अब ‘अर्थिक क्रान्ति’को समय आएको बताउने गरेको छ । अझ एक कदम अघि बढेर सरकार लगानीमैत्री वातावरण निर्माणमा जुटेको छ भने त्यस्तो वातावरण तयार भइसकेको दाबी पनि गरिरहेको छ । तर, उद्योग स्थापनामा केही समस्या अझै छन्, जसका कारण उद्योगिक वातावरण मौलाउन सकेको छैन ।

अन्यत्रझैँ प्रदेश ५ मा पनि उद्योगीहरू उद्योग स्थापनाका लागि तयार छन् । तर, त्यसका लागि जग्गा अभाव बाधक बन्ने गरेको छ । लामो समयदेखि स्थापना भएका उद्योगको अलावा नयाँ औद्योगिक क्षेत्र विस्तार र स्थापना हुन सकेका छैनन् । महँगोमा जग्गा खरिद गरेर भए पनि उद्योग स्थापना गर्न उद्योगी बाध्य छन् ।

बुटवलको एकमात्र बुटवल औद्योगिक क्षेत्र २०३३ सालमा स्थापना भएपश्चात थप औद्योगिक क्षेत्र विस्तार हुन सकेको छैन । औद्योगिक क्षेत्रमा स्थापना भएका उद्योगले तला थप्दै व्यावसायिक उत्पादन गर्दै आएका छन् । चार सय ३४ रोपनीमा हाल ६२ वटा साना-ठूला उद्योग सञ्चालनमा छन् ।

बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रामबहादुर गुरुङका अनुसार उद्योग स्थापनाका लागि जग्गा सबैभन्दा ठूलो समस्याको रुपमा खडा भएको छ । पहिला स्थापना भएका उद्योग पनि सीमित उत्पादन गर्नुपर्ने बाध्यतामा रहेको उनले बताए । गुरूङका अनुसार उद्योगीहरू बाहिर उत्पादन गरिएका वस्तु राख्न बाध्य छन् ।

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार ७१ मध्ये दुई उद्योग निर्माणाधीन छन् । त्यस्तै, सातवटा उद्योग बन्द भएका छन् भने एक सय ८० जनाले रोजगारी पाएको उक्त औद्योगिक क्षेत्र थप विस्तार भएको छैन । लगानीकर्ता विस्तारै आकर्षित हुँदै गएको भए पनि जग्गा अभावले नयाँ उद्योग स्थापना हुन सकेका छैनन् ।

khim-hamal-newskarobar
खिमबहादुर हमाल

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) निर्माण चरणमा रहेको मोतिपुर औद्योगिक क्षेत्रले केही हदसम्म उद्योगीले झेल्दै अएको जग्गाको अभावलाई परिपूर्ति गर्ने अपेक्षा गरिएको छ । यद्पि, यसले पनि ठोस उपलब्धि हासिल गर्न नसकेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल बताउँछन् । उनका अनुसार जग्गा उद्योगीहरूको पहिलो प्राथमिकता हो ।

उचित स्थानमा सबै आधारभूत आवश्यकता पूरा भएको स्थान उद्योगी व्यवसायीको रोजाइमा पर्छ । तर, उचित स्थानको अभावका कारण थप समस्या भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको भनाइ छ । ‘प्रमुख आधारशिला भनेको जग्गा हो । उचित स्थानमा, सबै व्यवस्थापन भएको सस्तो जग्गा पाउन मुस्किल छ,’ उनले भने, ‘जसले उद्योग स्थापनामा बाधा पुर्याउने गरेको छ ।’

उद्योग स्थापना भएरमात्रै नहुने र उद्योगले पार्ने प्रभाव तथा छरछिमेकका कारण पनि उद्योगी व्यवसायी आजित भएको उनको भनाइ छ । यस्ता समस्या न्यूनीकरणका लागि सरकारी निकायबाटै पहल हुनुपर्ने उनले बताए ।

सञ्चालनको तयारीमा रहेको सेज, मोतिपुर औद्योगिक क्षेत्र र बाँकेमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रलाई पनि अविलम्ब सरकारले सञ्चालनको तयारी गर्नुपर्ने अध्यक्ष हमाल बताउँछन् । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार जग्गाको अभावमा पनि उद्योग दर्ता हुने क्रम भने जारी छ ।

प्रदेशमा दर्ता भएका नयाँ उद्योगमध्ये १५ ठूला, २३ मझौला र १३ वटा साना उद्योग छन् । उद्योग ऐन २०४९ ले तीन करोड रूपैयाँबराबरको अचल सम्पत्ति हुने उद्योगलाई साना उद्योगको रूपमा वर्गीकरण गरेको छ । तीन करोडदेखि १० करोड रूपैयाँसम्म अचल सम्पत्ति भएका उद्योग मझौला र त्योभन्दा माथिका सबै ठूला उद्योग हुने ऐनमा उल्लेख छ ।

gnadesh-prasad-adhakari-newskarobar
गणेश अधिकारी

प्रदेश ५ का १२ जिल्लामध्ये तराईमा पर्ने रूपन्देही कपिलवस्तु, बाँके, नवलपरासी र दाङ उद्योग स्थापनमा लागि उपयुक्त जिल्ला मानिन्छन् । अझ ठूला स्वदेशी र विदेशी उद्योग खुल्ने क्रममा रूपन्देही देशकै अग्रणी स्थानमा रहेको रूपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी बताउँछन् ।

आर्थिक वर्ष २०७३/७४ मा १५ वटा उद्योग दर्ता भएकोमा त्यसयता रूपन्देहीमा १७ वटा नयाँ उद्योग थपिएका छन् । नयाँ दर्ता भएका उद्योगमध्ये ८ मझौला, ६ साना र तीन ठूला उद्योग छन् ।

नयाँ उद्योगहरूमा युनाइटेड क्लोजर्स प्रालिको ब्याटेरिज नेपाल प्रालि, श्रीनगर एग्रोटेक इन्डस्ट्रिज प्रालि, ब्रिज ग्लास इन्डस्ट्रिज प्रालि, बुद्ध रेडिमिक्स कंक्रिट प्रालि, गौरी स्टिल्स प्रालि, टाइगर प्यालेस रिसोर्ट प्रालि र शिवशक्ति प्रिन्ट एन्ड प्याकिङ इन्डस्ट्रिज मझौला उद्योग हुन् भने लुम्बिनी एम्युजमेन्ट एन्ड वाटर पार्क प्रालि, एटम फार्मास्युटिकल्स प्रालि र लाइका फार्मास्युटिकल्स प्रालि ठूला उद्योग हुन् ।

साना उद्योगका रूपमा बेलटेक्नो नेपाल प्रालि, भिभो मोबाइल नेपाल प्रालि शाखा तीन, एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालि, फिल्मस्मित नेपाल प्रालि, ग्रो वेल प्लास्टिक इन्नोभेसन प्रालि र मिनाक्षी पोलिमर्स नेपाल प्रालि छन् ।

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा नवलपरासीमा १३ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये टियानी सिमेन्ट इन्डस्ट्रिज प्रालि, वरुण बेभरेज (नेपाल) प्रालि शाखा एक, नेपाल जगदम्बा सिमेन्ट इन्डस्ट्रिज प्रालि, सिद्धि लक्ष्मी सिमेन्ट प्रालि, बीपीएस पेट्रोलियम नेपाल र सिद्धिविनायक स्टिल्स प्रालि ठूला उद्योग हुन् ।

sez-bhairahawa-newskarobar

जिल्लामा मझौला उद्योगमा सिजी फुड्स नेपाल प्रालि शाखा तीन, सगरमाथा प्रिकास्ट सोलुसन प्रालि, सीजी प्रिन्ट एन्ड प्याकेजिङ प्रालि, सिटिजन फार्मास्युटिकल्स प्रालि र गोल्डेन हार्भेस्ट फर्म प्रालि रहेका छन् भने हाजीएपी वाधा एन्ड को कन्सट्रक्सन नेपाल र एभरेस्ट इरेक्टर्स प्रालि साना उद्योग हुन् ।

सोही आर्थिक वर्षमा कपिलवस्तुमा सात नयाँ उद्योग दर्ता भएका छन् । तीमध्ये कपिलवस्तु सिमेन्ट उद्योग प्रालि, आईएमएस सिमेन्ट प्रालि र कृष्णराज सिमेन्ट इन्डस्ट्रिज प्रालि ठूला उद्योग हुन् भने हिमाल कंक्रिट प्रालि, पी एन्ड पी स्टिल्स र कामख्या स्टिल प्रालि मझौला उद्योग हुन् । जिल्लामा साना उद्योगका रूपमा शीतला फुड प्रोडक्ट प्रालि मात्र दर्ता भएको छ ।

बाँकेमा सात नयाँ उद्योग दर्ता भएका छन् । जिल्लामा दर्ता उद्योगमध्ये जय अम्बे स्टिल्स एकमात्र ठूलो उद्योग हो । मझौला उद्योगमध्ये सगरमाथा स्टिल्स इन्डस्ट्रिज प्रालि, नेपाल वेलहोप एग्रिटेक प्रालि शाखा दुर्इ, वर्ष रिसाइक्लिङ इन्डस्ट्रिज प्रालि र विकास फ्लोर मिल प्रालि रहेका छन् भने भीभो मोबाइल नेपाल प्रालि शाखा पाँच र गोल्डेन गेमिङ इन्टरनेसन प्रालि साना उद्योग हुन् ।

आर्थिक वर्ष २०७४/७५ मा बर्दियामा तीन साना उद्योगमात्र दर्ता भएको तथ्यांक मन्त्रालयले दिएको छ । तथ्यांकअनुसार बर्दिया होमस्टे प्रालि, राइनो लज बर्दिया प्रालि, एडिबल इन्डस्ट्रिज प्रालि दर्ता भएका छन् ।

दाङमा आर्थिक वर्ष २०७४/७५ मा तीन नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगमध्ये घोराही सिमेन्ट इन्डस्ट्रिज प्रालि र अरुण सिमेन्ट इन्डस्ट्रिज प्रालि ठूला उद्योग हुन् भने लिडिया डिजाइन प्रालि सानो उद्योग हो ।

motipur-aaudhyogik-chhetra-newskarobar

पाल्पामा शक्ति मिनरल्स प्रालि र आरोग्य भवन वर्क प्रालि गरी दुर्इ मझौला उद्योग दर्ता भएका छन् भने गुल्मीमा एकमात्र मझौला कम्पनीका रूपमा झिलिमिली हाइड्रो पावर कम्पनी दर्ता भएको छ । प्रदेश ५ जसरी ठूला उद्योगका लागि रोजाइको स्थान बनेको छ, त्यसैगरी एउटै नयाँ उद्योग दर्ता नभएका जिल्ला पनि छन् ।

गुल्मी र पाल्पामा कुनै पनि नयाँ उद्योग दर्ता भएका छैनन् । यी जिल्लामा पुराना साना केही उद्योग रहे पनि नयाँ दर्ता भएका छैनन् । उत्पादन क्षेत्रमा ३७ वटा नयाँ उद्योग दर्ता भएका छन् । प्रदेशमा ऊर्जा, कृषि र पशुपालन क्षेत्रका उद्योगमा तुलनात्मक रूपमा कम लगानी भएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७४/७५ मा ती क्षेत्रमा २ वटा मात्र उद्योग दर्ता छन् । पर्यटन क्षेत्रमा ६, सेवा क्षेत्रमा ६ होटल नयाँ उद्योग दर्ता भएका छन् ।

प्रकाशित समय १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु