गृहपृष्ठ अर्थमन्त्रीले बनाएको समितिले दियो छलफललाई तीव्रता

अर्थमन्त्रीले बनाएको समितिले दियो छलफललाई तीव्रता

ब्याजदर र सेयर लगानीकर्ताका मुद्दामा विशेष छलफल

nepse-newskarobar

पुँजीबजारको समस्या समाधानका लागि अर्थ मन्त्रालयले गठन गरेको समितिले सरोकारवालासँगको छलफललाई तीव्रता दिएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको समितिले मंगलबार पनि बैंकर्स, अर्थविद र सेयर बजारका लगानीकर्तासँग छलफल गरेको छ ।

सात दिनभित्र प्रतिवेदन बुझाउने गरी गठित उक्त समितिले ब्याजदरको अस्वाभाविक वृद्धि, त्यसले असर गर्ने क्षेत्र र समाधानका लागि कसको भूमिका के हुन सक्छ ? जस्ता प्रश्नको उत्तर खोज्ने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले जानकारी दिए । ‘पुँजीबजारको समस्या समाधानमा छलफल केन्द्रित छ,’ उनले भने, ‘सरोकारवालासँगको छलफलपछि समितिले आवश्यक सुझाव दिनेछ ।’

समितिले ब्याजदरको वृद्धि स्वाभाविक हो कि होइन भनेर अध्ययन गरिरहेको उनले बताए । बढिरहेको ब्याजदर र घटिरहेको सेयर बजारको सूचकबीचको सम्बन्ध, के–कति कारणले यस्तो अवस्था आयो र अब आउन नदिनलाई तत्काल के–कस्ता व्यवस्था गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेर समितिले अध्ययन गर्नेछ । समितिले आइतबारदेखि नै सरोकारवालासँग छलफल गरिरहेको छ ।

समितिले राष्ट्र बैंकमा मंगलबार दुई चरणमा छलफल गरेको छ । एक चरणमा पुँजीबजारका लगानीकर्तासँग छलफल गरेको समितिले अर्को चरणमा नियामक तथा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको हो ।

धितोपत्र बोर्ड, लगानीकर्ता, बैंकर्स संघ तथा मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिलगायत सहभागी बैठकले समयसीमाभित्रै अर्थमन्त्रीलाई बुझाउने प्रतिवेदन तयार पार्नेछ ।

मंगलबारको बैठकमा सेयर लगानीकर्ताको तर्फबाट राधा पोखरेलले बोलेकी छन् । उनले लगानीकर्ताको समस्यालाई गम्भीर रुपमा लिइदिन आग्रह गरिन् । राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारीले भने समस्या समाधानका लागि नै समिति गठन गरिएकाले धैर्य गर्न भनेका थिए ।

यसअघि आइतबारको बैठकमा समितिले बैंकहरुबीच चलिरहेको ब्याजदर प्रतिस्पर्धाका विषयमा छलफल गरेको थियो । बैठकमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले ब्याजदर साढे १३ प्रतिशतबाट पनि बढ्न सक्ने बताएका थिए । यी सबै विषयमा विभिन्न चरणको छलफलपछि सुझाव प्रतिवेदन तयार गरिने र सरकारले समाधानका लागि कदम चाल्ने समितिका एक सदस्यले बताए ।

साउनदेखि खासै स्थिर हुन नसकेको नेपालको वित्तीय बजारमा विभिन्न समस्या थपिएपछि समाधानमा सरकार नै अग्रसर बनेको हो । बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि त्यसको असर सेयर बजारमा देखिएको छ । वित्तीय चक्रमा ब्याजदर बढ्दा बचतकर्ता फाइदामा गए पनि त्यसले उद्योगमात्र नभई समग्र मुद्रा तथा पुँजीबजारलाई नै प्रभावित तुल्याएको छ । बैंकहरुले निक्षेपमा ब्याज बढी दिएपछि लगानीकर्ताहरु बैंकको बचत गर्न लालायित भए जसको कारण सेयर बजार घट्यो । निक्षेपको ब्याज बढेपछि कर्जाको ब्याजदर झन् चर्किने डरले बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्नेहरु पनि पछि हटेका छन् । सेयर लगानीकर्ताहरु त आन्दोलन नै गरिरहेका छन् ।

यसैबीच, नेपाल स्टक एक्सचेन्जको मूलगेटमा रिले अनसनमा बसिरहेको लगानीकर्ताको समूहले आफूहरुलाई बाइपास गरेर भइरहेको बैठकप्रति आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ति निकालेर आन्दोलनरत समूहले अर्थमन्त्रीले गठन गरेको कार्यदलमा प्रतिनिधित्व गर्ने लगानीकर्ताका नेता विचौलिया भएको आरोपसमेत लगाएको छ ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु