गृहपृष्ठ चिनी मिलबाट समयमै उखुको रकम पाउँदैनन् किसान

चिनी मिलबाट समयमै उखुको रकम पाउँदैनन् किसान

किसानको विकल्प- क्रसिङ गरेर सख्खर बनाउँने

ukhu_kisan

धनुषाको उत्तरवर्ती क्षेत्रका किसानहरुको नगदेवाली उखु हो । महेन्द्रराजमार्गकै छेउ एवं सिँचाइका लागि पानी अभावले कृषकहरू उखु लगाउछन् ।

धान, मकै जस्ता खाद्य बालीका लागि सिँचाइको सुविधा नभएकाले उनीहरूको वर्षभरीको कमाई भनेको उखु नै हो । उनीहरू चिनी मिललाई उखु बेच्छन् र त्यसबाट भएको आम्दानीले आफ्नो गर्जो टार्दै आएका छन् ।

वर्षभरीको आम्दानीको स्रोत भएकाले उखु बेचेर घर परिवार पाल्नु पर्ने बाध्यता उनीहरूको छ । यो धनुषाका अन्य क्षेत्रमा पनि लागू हुन्छ, तर उत्तरवर्ती क्षेत्रमा यो वाध्यता अली चर्को छ ।

तर, चिनी मिलले खरिद गरेको उखुको पैसा नपाएपछि उनीहरूको दैनिकी कती जटिल बन्छ होला ? सहजै अनुमान गर्न सकिन्छ । किसानहरू चिनी मिलले आफूहरूलाई वर्षौंसम्म उखुको रकम भुक्तानी नदिएको किसानहरूको आरोप छ ।

चिनी मिलले उखुको भुक्तानी नदिँदा आर्थिक रूपमा समस्या पर्दै आएको बटेश्वर गाउँपालिका-१ का अगुवा किसान रामउदगार महतोको भनाइ छ । ‘हाम्रो आम्दानीको स्रोत त्यही हो । खेती भने पनि रोजगारी भने पनि उखु हो,’ उनले न्युज कारोबारसँग भने, ‘सोही उखुको रकम पनि सयमा नपाएपछि कति अफ्ठेरो परेको छ, हामीलाई नै थाह छ ।’

यो अफ्ठेरो महतोको मात्र होइन । बटेश्वरका धेरै किसानलाई यस्तो समस्या छ ।

बटेश्वरकै विन्देश्वर महतोका अनुसार चिनी मिलले समयमै रकम भुक्तानी नदिँदा चिनी मिलसम्म लैजाँदा लाग्ने खर्च जुटाउन पनि समस्या छ । ‘चिनी मिललाई बेचेको उखुको पैसा महिनौं होइन वर्षौंसम्म नपाउँदा घर व्यवहार चलाउन त समस्या भएको छ नै, अर्कोपटक चिनी मिलसम्म उखु पर्याउने पैसाको जोहो गर्न पनि समस्या छ,’ विन्देश्वर दुःखेसो पोख्छन्, ‘किसानको मेहनत र वाध्यता उद्योगीले त देखेन, देखेन सरकार पनि कानमा तेल हालेर बसेको छ ।’

विन्देश्वरका अनुसार चिनी मिलले रकम नदिएपछि किसानहरू अब उखु क्रसिङ गरेर गुँड (सख्खर) बनाउन थालेका छन् ।

उखु खेतीमा सम्लग्न बटेश्वर-१ कै किसान दिलिप महतो उखु पेल्नका लागि क्रसिङ खरिद गरिसकेको बताउँछन् । ‘उखु क्रसिङकै लागि मेसिन किनीसकेको छु,’ उनले भने, ‘यसमा मेरो मात्र होइन अन्य किसानहरूले पनि उखु क्रसिङ गर्दै आएका छन् ।’

दिलिपका अनुसार चिनी मिलले समयमै भुक्तानी नदिँदा किसानहरूलाई मर्का पर्ने गरेको छ । जसका कारण उनीहरू वाध्यताबस चिनी मिललाई उखु बेच्छन् । ‘समयमै रकम नपाए पछि कस्तो मर्का पर्छ त्यो त यहाँका किसानलाई थाह छ,’ उनले भने, ‘विकल्प नभएपछि किसानहरूले त्यसलाई पनि सहनु परेको छ ।’

ukhu_kisan2

उनका अनुसार अहिले किसानहरू चिनी मिलभन्दा क्रसिङ गरेर सख्खर बनाएर बेच्नेमा बढी आकर्षित भएका छन् । चिनी मिलले समयमै भुक्तानी नदिने तर सख्खर बनाएर बेच्दा तत्कालै आम्दानी हुने भएकाले किसानहरू यसतर्फ बढी आकर्षित भएका हुन् ।

त्यतिमात्र होइन व्यापारीहरू किसानहरूको घरदैलोमै पुगेर सख्खर खरिद गर्छन् । जसका कारण उखु होइन सख्खर बेच्नेतर्फ किसानहरू आकर्षित भएका छन् । बटेश्वरकै किसान तथा क्रसिङ व्यवसायी सहदेव महतो पनि किसानहरू सख्खर बनाउनेतर्फ आकर्षित भएको बताउँछन् ।

 

कति पर्छ क्रसिङको ?

१ क्विन्टल उखु क्रसिङ गर्दा १० किलोको हाराहारीमा सख्खर (गुड/मिठठा) तयार हुने किसानहरू बताउँछन् । उखु क्रसिङ गरेबापत क्रसर सञ्चालकले तयार भएको गुँडबापत प्रतिकिलो ७ देखि ८ रुपैयाँ शुल्क लिन्छन् । यस हिसाबले त्यसैले १० क्विन्टल उखु क्रसिङ गरेर एक क्विन्टल गुड बनाउँदा किसानले क्रसिङलाई ७ सयदेखि ८ सयसम्म शुल्क दिनुपर्ने हुन्छ ।

बजारमा भने प्रतिकिलो गुँड अहिले ४८ देखि ५० रुपैयाँमा विक्री हुने गरेको छ । उखुको सिजन समाप्त हुदाँ गुँडको मूल्य बढ्ने गरेको छ । अहिले नै जनकपुरमा गुँड प्रतिकिलो ८० देखि ९० रुपैयामाँ खुद्रा बेचिन्छ ।

चिनि मिललाई बेच्दा उधारो हुने तथा समयमा पैसा नपाउने भएकाले मेहनत गरेरै भए पनि वाध्यतावस क्रसिङ गर्नु परेको बटेश्वर-१ का किसानहरु बताउँछन ।

नेपाली कांग्रेसका क्षेत्रीय नेता समेत रहेका किसान रामउदगार महतोका अनुसार साढे ५ सयसम्म चिनी मिलले किसानसँग उखु खरिद गरे त्यही राम्रो हो, तर किसानलाई भुक्तानीमा ढिलो हुदै गएकाले क्रसिङ गर्नुपर्ने किसानको बाध्यता छ ।

प्रकाशित समय १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु