गृहपृष्ठ छैटौं मनकामना केबुलकार कप फुटबल प्रतियोगिता माघ १५ देखि
छैटौं मनकामना केबुलकार कप फुटबल प्रतियोगिता माघ १५ देखि
पुरस्कारको राशि वृद्दि, उत्कृष्ट खेलाडीलाई मोटरसाइकल
छैटौं संस्करणको मनकामना केबुलकार कप फुटबल प्रतियोगिता माघ १५ गते देखि पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा आउँदो माघ २६ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा जापानको विश्वविद्यालयको टिम सहित ३ विदेशी, ८ ‘ए’ डिभिजनका र आयोजक गरी १२ टिमको सहभागिता हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको पुरस्कार राशि समेत वृद्दि गरिएको छ । विजेताले उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ पाउने भएका छन् ।
उक्त रकम अघिल्लो संस्करण भन्दा २ लाख रुपैयाँ बढी हो । त्यस्तै उपबिजेताले ४ लाख ५ हजार प्राप्त गर्ने भएको छ । यो रकम अघिल्लो संस्करणको भन्दा ५० हजार बढी हो ।
प्रतियोगितामा ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने आयोजक एन्फा कास्कीले जनाएको छ । उत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने भएको छ । प्रतियोगिताको अवसरमा फुटबल खेलमा योगदान दिने एक जनालाई सम्मान गर्दै एक थान मोटरसाइकल प्रदान गरिने एन्फा कास्कीले जनाएको छ ।
मनकामना केबुलकारको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता यस वर्ष एन्फा केन्द्रले खेल समय तालिका दिएसँगै आफूहरुले प्रतियोगितालाइ निरन्तरता दिन लागेको एन्फा कास्कीका अध्यक्ष मीलन गुरुङले बताए । ‘पहिला एन्फा केन्द्रले हामीलाई अनुकुलको समयमा प्रतियोगिता गर्ने मिति दिन नसक्दा घाटा खाएर प्रतियोगिता सञ्चालन गर्न नसक्ने भएकाले स्थगित गरेका थियौं, यस वर्ष हामीलाई अनुकुल समयमा फुटबल खेलको मिति दिइएकोले गर्न लागेका हौं ।’
प्रतियोगिताबाट १ करोड २८ लाख ५० हजार संकलन गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरुङले बताए । प्रतियोगिता सञ्चालनका लागि १ करोड १७ लाख खर्च लाग्ने उनले बताए ।
प्रकाशित समय १९:०८ बजे
















