गृहपृष्ठ तल्लो खारेखोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न

तल्लो खारेखोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न

tallo-kharekhola-newskarobar

दोलखाको गौरीशंकर गाउँपालिका–५, ६ र ८ मा निर्माण भइरहेको ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत आयोजनाकोे निर्माणले तीव्रता पाएको छ । हालसम्म आयोजनाको ७५ प्रतिशत काम सकिएको छ ।

आयोजनाले अहिले हेडवक्र्स, पाइपलाइन र पावरहाउस तथा प्रसारण लाइन निर्माण गरिरहेको प्रोजेक्ट म्यानेजर अनुप थापाले जानकारी दिए । आयोजनाको हेडवक्र्सतर्फ बाँध, इन्टेक, ग्राभेल, ट्रयाप, कनेक्टिङ क्यानल र डिस्यान्डर बेसिनको काम भइरहेको छ ।

हेडवक्र्समा कनेक्टिङ क्यानल र फोरवेको निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाको पेनस्टक पाइपतर्फ २ हजार २ सय मिटर पाइप जडान भइरहेको छ भने पावरहाउसको वाल तथा कोलमको ढलान गर्ने कार्य भइरहेको छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी सिंगटी सब स्टेसनबाट रााष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । उक्त प्रसारण लाइनका लागि आवश्यक जग्गा खरिद गरिसकिएको छ भने सार्वजनिक जग्गा सरकार बाट वहालमा लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको प्रोजेक्ट म्यानेजर थापाले बताए ।

प्रसारण लाइनको जिम्मा पाएको मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनले १३२ केभी प्रसारण लाइनको निर्माणको लागि चेक सर्वे, टावर डिजाइन, फाउन्डेसन डिजाइन र माटोको परीक्षणसमेत सम्पन्न गरिसकेको छ । आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँका दरले २ अर्ब ४ करोड रुपैयाँ लाग्ने प्रोजेक्ट म्यानेजर थापाले जानकारी दिए । हाल आयोजनाले स्थानीयबासीका लागि सिँचाइ, बाटो निर्माण, विद्यालय निर्माणलगायतका विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग गरिरहेको छ । आयोजनाबाट २०७६ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको छ । युनिभर्सल पावर कम्पनीले २०७५ माघ २५ गतेदेखि दोस्रो चरणमा ९३ लाख २७ हजार ४१० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएकोमा १ लाख ८६ हजार ५४८ कित्ता साधारण सेयर कर्मचारीका लागि सुरक्षित गरिएको तथा ४ लाख ६६ हजार ३७० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको र बाँकी ८६ लाख ७४ हजार ४९२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरिएको छ ।

तल्लो खारेखोला आयोजनामा बैंक अफ काठमाडौंको नेतृत्वमा सानिमा बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, जनता बैंक, लक्ष्मी बैंक र कैलाश विकास बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको ऋण चुक्ताको अवधि १२ वर्ष छ ।

आयोजना सञ्चालक समूह सिईडिबी हाइड्रो पावर डेभलभमेन्ट कम्पनीको लमजुङमा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना, ४ मेगावाटको खुदी आयोजना र १८३ किलोवाटको स्याङ जलविद्युत आयोजना सञ्चालनमा छन् । सिईडिबी हाइड्रो पावर डेभलमेन्ट कम्पनीको नेतृत्वमा लमजुङमा दोर्दी १ जलविद्युत आयोजना र रुकुममा ५ मेगावाटको रुकुम गाँड जलविद्युत आयोजना निर्माण भइरहेको छ । तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकले स्थापना गरेको सिईडिबी हाइड्रो पावर डेभलभमेन्ट कम्पनीमा हाल एनएमबी बैंकको समेत लगानी छ ।

प्रकाशित समय १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु