गृहपृष्ठ नेपालबाट भारतमा असीमित पैसा लान पाइने !
नेपालबाट भारतमा असीमित पैसा लान पाइने !
एउटा निर्णय गर्दा अर्कोमा चिप्लियो सरकार
नेपालबाट व्यापक रूपमा पुँजी पलायन भइरहेको बेला सरकारले अनौठो निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार १०० भन्दा माथिका भारु नेपालमा नचलाउने, त्यसका ओसार-पसार, कारोबार रोक्ने निर्णय गर्दा सरकार अर्को निर्णयमा चिप्लेको हो ।
सरकारका तर्फबाट पुस २३ गते प्रकासित गरिएको राजपत्रको सूचनामा भनिएको छ– “नेपाली र भारतीय नागरिकहरूले नेपालबाट भारतमा सुन, चाँदी वा मिश्रित चाँदीका नेपाली सिक्काबाहेक नेपाली र भारतीय सिक्का करेन्सी नोट र बैंक नोट असीमितमात्रमा लैजान वा पठाउन पाउने छन् ।”
भारतमा नेपाली नोटको कारोबार नहुने गरेको सन्दर्भमा अर्थमन्त्रालयका तर्फबाट जारी सूचनामा यसरी नेपाली नोट भारतमा असीमितमात्रामा लैजान वा पठाउन पाइने सूचना जारी गर्नु अनौठो मानिएको छ ।नेपाल-भारतबीचका द्विदेशीय व्यापारबाहेक नेपालबाट तीर्थ घुम्न जाने, पर्यटन र औषधोपचारका लागि जाने, भारतमै पढ्ने तथा सीमाक्षेत्रमा अनाैपचारिक कारोबारका लागि भारु चाहिने गरेको छ ।
नेपालबाट विदेशी विनिमय सटही अनुमति पाएका व्यक्तिले नेपाली मुद्रा राष्ट्र बैंकको तोकेको हदमा मात्र विदेश पठाउन भए पनि भारु मुद्रा भारतभन्दा अन्य मुलुकमा पठाउन नपाउने व्यवस्था गरेको छ ।
उक्त सूचनामा २०१६ नोभेम्बर ६ भन्दा अगाडि छापिएका ५०० र १००० नोटको कारोबार गर्न र हाल भारतमा चलनचल्तीमा रहेका २००, ५०० र २००० का नोटहरू भने साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न नपाइने उल्लेख छ । सूचनालाई आधार मान्ने हो भने नेपालबाट १०० दर र त्योभन्दा मुनिका भारु नोट जति पनि यहाँबाट लान पाइने छ । यसअघि ५०० र १००० दरका २५ हजार भारुमात्र नेपाल ल्याउन पाइने व्यवस्था थियो ।
भारुको माग अत्याधिक बढेपछि विगत केही समययता भारुको सटहीमा सीमा तोक्दै आएको छ, जसअनुसार औषधोपचार र विद्यालय–क्याम्पसको फि तिर्नलगायतका कारणहरूमा प्रामाणिक काजगात पेस गरेपछि प्रतिव्यक्ति २५ हजार भारुसम्म सटही गर्न पाइने व्यवस्था छ ।
सरकारको नयाँ निर्णयले यताबाट भारु सटही गरेर भारततर्फ पलायन गराउने सम्भावना बढाएको छ । प्रहरीले बेलाबेलामा भारतबाट नेपालतर्फ ल्याइएको लाखौं रुपैयाँ स्रोत नखुलेको नगद सीमाक्षेत्रबाट बरामदसमेत गर्ने गरेको छ ।
यसैगरी विदेशी विनिमय सटही कारोबार गर्ने व्यक्तिले कानुनबमोजिम प्राप्त गरेको परिवत्र्य विदेशी मुद्रा नेपालबाट लैजान वा पठाउन पाउने, नेपाल आएका विदेशीले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी विदेशी मुद्रा लैजान वा पठाउनु परेमा तिनले नेपाल प्रवेश गर्दा आफूसँग ल्याएको नगद विदेशी मुद्राको रकम भनर अधिकृतसमक्ष घोषणा र प्रमाणित गरेको हुनुपर्ने नयाँ व्यवस्था लागू गरिएको छ ।
प्रकाशित समय १७:५० बजे

















