गृहपृष्ठ कोलकात्ता बन्दरगाहबाट ढुवानीमा ईसीटीएस प्रणाली लागू
कोलकात्ता बन्दरगाहबाट ढुवानीमा ईसीटीएस प्रणाली लागू
भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (ईसीटीएस) शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघले बिहीबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन बालजी अरुण कुमारले कोलकाताबाट नेपालका लागि कन्टेनरमार्फत हुने ढुवानीमा ईसीटीएस प्रणाली लागू गरिएको जानकारी दिए ।
उनले ईसीटीएस लागू भएपछि नेपाली आयातकर्ताको समय र खर्च दुबै जोगिने दावी गरे । ईसीटीएस प्रणालीले कागजी प्रक्रियालाई न्यून गर्नुका साथै बन्दरगाहमा लाग्ने एजेन्ट खर्चलाई समेत समाप्त गर्ने अरुण कुमारको भनाइ छ ।
उनले ईसीटीएस लागू भएपछि बन्दरगाहको झन्झटिलो भन्सार प्रक्रियाका कारण तिर्दै आएको विलम्ब शुल्कबाट नेपाली आयातकर्ताले राहत पाउने जानकारी दिए । पहिले कोलकाता बन्दरगाहमा एजेन्ट राखी सबै कागजी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेकोमा ईसीटीएस प्रणली लागू भएपछि बन्दगाहको कागजी भन्सार प्रक्रिया समाप्त भई वीरगञ्ज सुख्खा बन्दरगाहसम्म मालवस्तु पुर्याउने सबै दायित्व सिपिङ कम्पनीकै हुने हुन्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका स्थल यातायात तथा पारवहन समितिका सभापति अशोककुमार टेमानीले ईसीटीएस प्रणाली लागू भएपछि तेस्रो मुलुकबाट मालवस्तु आयात गर्दा सिपिङ कम्पनीलाई एक पटक सबै कागजात बुझाएपछि पुग्ने र नेपालसम्म सुरक्षित र्पुयाउने दायित्वसमेत सिपिङ कम्पनीकै हुने बताए ।
कोलकाता बन्दरगाहबाट बर्सेनी एक लाख कन्टेनर नेपाल भित्रिने गरेको र सोमध्ये ४० प्रतिशत कन्टेनर रेलबाट आउने गरेको छ । यो प्रविधिबाट बन्दरगाह व्यवस्थापन, भन्सार, वाणिज्य विभाग, कोलकाता महावाणिज्य दूतावास र आयातकर्ताले अनलाइनबाटै कन्टेनरको अवस्थितिबारे बुझ्न सक्ने बताइएको छ ।
विशाखापट्टनम बन्दरगााहबाट नेपालका लागि रेलबाट हुने कन्टेनर ढुवानीमा इसीटीएस प्रणली पहिलेदेखि लागू गरिएको छ ।(रासस)
प्रकाशित समय ०७:५१ बजे

















