गृहपृष्ठ बैंकहरूले पुँजीको सतप्रतिशत नै विदेशी ऋण लिन पाउने
बैंकहरूले पुँजीको सतप्रतिशत नै विदेशी ऋण लिन पाउने
भारतबाट लिने भारुको ऋणमा पनि राष्ट्र बैंक उदार
नेपालका बैंकहरूले अब लगानीका लागि विदेशी बैंकहरूबाट आफ्नो पुँजीको सत प्रतिशतसम्म नै ऋण लिन पाउने भएका छन् । सबै बैंक तथा वित्तीय संस्थाहरूमा तरलता संकट बढेपछि नेपाल राष्ट्र बैंकले बुधबारमात्र नयाँ निर्देशन जारी गरेर बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पुँजीको सतप्रतिशतसम्मै विदेशी ऋण लिन पाउने व्यवस्था गरेको हो ।
यसअघि प्राथमिक पुँजीको ५० प्रतिशतमात्र विदेशबाट कर्जा लिन पाउने व्यवस्था थियो ।
राष्ट्र बैंकले एक वर्षभित्रै चार पटक निर्देशिका संशोधन गरेर यो व्यवस्था गरेको हो । हाउजिङ, जग्गा विकासलगायतका रियल इस्टेट क्षेत्रबाहेक अन्य पूर्वाधार निर्माणदेखि पर्यटन, कृषि, लघुवित्तसहितका क्षेत्रमा कर्जा प्रवाह गर्न परिवत्र्य विदेशी मुद्रा (अमेरिकी डलर)मा विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले भारतीय बैंकहरूबाट समेत यसैअनुसार भारतीय मुद्रामा आफ्नो प्राथमिक पुँजीको सतप्रतिशतसम्मै ऋण लिन पाउने व्यवस्था गरेको छ । अमेरिकी डलरमा विदेशी बैंकबाट ऋण लिँदा ६ महिने अन्तर्राष्ट्रिय आधार ब्याजदर (लिबोर)सहित ३ प्रतिशतभन्दा बढी हुन नहुने र भारतीय बैंकबाट ऋण लिँदा १ प्रतिशतभन्दा बढी ब्याज हुन नहुने सीमा तोकेको छ । सुरुमा राष्ट्र बैंकले २ प्रतिशत शुल्क तिरेर भारुमा ऋण लिन पाउने व्यवस्था गरे पनि यो ब्याजदरको सीमा घटाएको छ ।
परिवत्र्य विदेशी मुद्रा र भारु दुवैमा ऋण लिँदा १ देखि ५ वर्ष अवधिभित्रको मात्र हुनुपर्ने सर्त छ । भारतीय रुपैयाँमा सहज हुने तथा हेजिङ कस्ट नपर्ने भएकाले बैंकरहरूको अनुरोधपछि चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत भारुमा कर्जा लिन आवश्यक व्यवस्था गरिने उल्लेख गरिएको थियो ।
प्रकाशित समय १५:५८ बजे

















