गृहपृष्ठ नेप्सेको अबको यात्रा के होला !

नेप्सेको अबको यात्रा के होला !

share_stock-newskarobar

गत साता तीव्र उतारचढाव देखिएको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा यो साता सामान्य उचारचढाव रह्यो । लगानीकर्ता केही संयमित देखिए । साताका पाँच दिनमा आइतबार ९, सोमबार ३३, मंगलबार ३८ र बिहीबार ४ अंकले बजार बढ्यो भने बुधबार १० अंकले घट्यो । साताको पहिलो दिन आइतबार १२५६.११ अंकबाट कारोबार सुरु भएको नेप्से बिहीबार ७४.९९ अंकले बढेर १३३१.१ अंकमा पुगेको छ ।

बजारले स्थिर गति समात्ने संकेत देखिएपछि लगानीकर्ता संयमित देखिएका छन् । यसका केही कारण छन् :

पहिलो कारण, नेपाल धितोपत्र बोर्डले सर्ट सेल (खातामा सेयर नभई बेच्ने प्रवृत्ति)मा अंकुश लगाएको छ । खातामा सेयर नभए पनि किनबेच गर्ने मिल्ने प्रवृत्तिका कारण केही ठूला लगानीकर्ताले धितोपत्र दलालसँग मिलेर सेयरको अधिक माग तथा आपूर्ति देखाई लगानीकर्तालाई अन्योलमा पार्दै आएका थिए । लकडाउनपछि सर्ट सेलमा अंकुश लागेका कारण अहिले अधिक माग र आपूर्ति देखाउन सकिँदैन । मार्केट डेप्थमा देखिने सही अंकका आधारमा लगानीकर्तालाई निर्णय लिन सहज भएको छ ।

अर्को कारण, अहिले लामो समयको बियरिस प्रवृत्तिले लगानीकर्ता बजारप्रति विश्वास गरिहाल्ने स्थितिमा छैनन् । ठूला लगानीकर्ताबाट चलखेल भइहाल्ने अनुमानमा उनीहरू सेयर किन्न तथा बेच्न हतारमा निर्णय गरिरहेका छैनन् ।

तेस्रो कारण, बैंक तथा बिमा कम्पनीको पुँजी वृद्धिका कारण ठूलो मात्रामा बजारमा सेयर थपिएको छ । सेयर भोल्युम वृद्धिसँगै मूल्य समायोजन भयो । बजारमा राम्रा कम्पनीको सेयर उठाउन सकिने भएकाले बजार अध्ययन गर्न जान्ने लगानीकर्ताले छानीछानी सेयर किनिरहेका छन् ।

अब के होला त बजार ?

अहिलेको महत्वपूर्ण प्रश्न यही हो, अब सेयर बजार के होला ? तर, यो प्रश्नको उत्तर भने सजिलो छैन । विश्लेषकहरू बजारमा तरलता बढेकाले सेयर बजार वृद्धि हुनेमा सहयोग पुग्ने बताउँछन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि यो अनुमानलाई पुष्टि गर्न मद्दत गर्छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरूमा हाल करिब एक खर्ब ३२ अर्ब रुपैयाँ थुप्रिएको छ । यो चालू आर्थिक वर्षको उच्च हो । अझ जेठ, असार लागेपछि सरकारी खर्च बढेको तथा लकडाउनका कारण खर्च गर्न नसकेका कारण बैंकहरूमा अधिक तरलता देखिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

लगानीयोग्य रकम बढेसँगै बैंकहरूले सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्न थालेका छन् । एनआइसी एसिया बैंकले घर, सवारी र व्यवसाय कर्जाका लागि ८.२५ प्रतिशतमात्रै ब्याज लिने सूचना सार्वजनिक गरेको छ । त्यस्तै अन्य कर्जा पनि ९.९९ प्रतिशतभित्र रहने जनाएको छ । अन्य बैंक तथा वित्तीय संस्थाले पनि कर्जामा ब्याजदर घटाइरहेका छन् ।

मार्जिन लोनलाई प्राथमिकतामा राख्न नसक्ने बैंकहरूले ग्राहकले लिन चाहे सहजै उपलब्ध गराइरहेका छन् । केही अघिसम्म १५ प्रतिशतभन्दा कम ब्याजमा कर्जा नदिएका र लगानीयोग्य रकम नभएर निक्षेपमा ब्याज बढाउन प्रतिस्पर्धा गरिरहेका बैंकहरू अहिले सस्तो ब्याजमा ऋण प्रवाह गर्न प्रतिस्पर्धामा जुटिरहेका छन् । सेयर बजार र ब्याजदरबीच विपरीत सम्बन्ध हुने भएकाले ब्याजदर घट्दा स्वभावैले सेयर बजार उकालो लाग्छ ।

दोस्रो कारण, यतिबेला अधिकांश कम्पनीको सेयर मूल्य अन्डरभ्यालुड छ, जसका कारण जस्तो कम्पनीको सेयर किन्दा पनि नोक्सान बेहोर्नुपर्ला भन्ने छैन । यसले पनि बजारमा सेयरको माग बढाएको छ ।

तेस्रो, मुद्राबजार तथा पुँजीबजार अध्ययनका लागि अर्थसमितिले २०७६ साउन २९ गते गठन गरेको सांसद रामकुमारी झाँक्री संयोजकत्वको उपसमितिले मंगलबार अर्थसमितिमा बुझाएको प्रतिवेदन शुक्रबार पारित भएको छ । यससँगै वाणिज्य बैंकहरूलाई सहायक कम्पनी स्थापना गरेर धितोपत्र दलालको अनुमति पाउन ढोका खुलेको छ । देशभरबाट सेयर कारोबार हुनसक्ने र पुँजीबजारको दायरा बढ्न सक्ने अनुमानले लगानीकर्ता उत्साहित बनेका छन् ।

चौथो, वाणिज्य बैंकहरूसँग प्रतिस्पर्धा गर्दै व्यवसाय बढाउनुपर्ने चुनौती थपिएको र आम्दानीको १ प्रतिशत वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने भएकाले धितोपत्र दलाल कम्पनीहरू पनि क्षमता र आम्दानी बढाउनुपर्ने बाध्यतामा छन् । यसले पनि पुँजीबजार बुझेका लगानीकर्ताको संख्या वृद्धि हुन्छ ।

पाँचौँ, बजारमा सर्टसेल गर्नेहरूमाथि अंकुश लागेकाले इमानदार लगानीकर्ताले निर्धक्क कारोबार गर्न पाएका छन् ।

छैटौँ, सांसद झाँक्री संयोजकत्वको समितिले पुँजीबजारको विकास र विस्तारका लागि पूर्ण अनलाइन कारोबार हुने व्यवस्था मिलाउन तत्काल सिस्टमहरू इन्टिग्रेट गर्न सिफारिस गरेकाले नियमक धितोपत्र बोर्ड र नेप्सेलाई पूर्ण अनलाइन कारोबारका लागि दबाब पर्नेछ । यसले पनि लगानीकर्तालाई थप उत्साहित बनाउनेछ ।

यसबाहेक बजारको नीतिगत सुधारका लागि धितोपत्र बोर्डले चालेका कदमले बजारको स्तरवृद्धिमा थप सहयोग पुग्ने लगानीकर्ताको विश्वास छ ।

प्रकाशित समय १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु