गृहपृष्ठ नेप्सेको ‘कु‑प्रविधि’ले लगानीकर्तालाई सास्ती
नेप्सेको ‘कु‑प्रविधि’ले लगानीकर्तालाई सास्ती
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा समस्या आएको समाचार लेखेर प्रकाशित गर्नेबित्तिकै नेप्से नेतृत्वमाथि गालीको वर्षा सुरु हुन्छ । कतिपय गाली त हतार‑हतार डिलिट गर्नुपर्ने खालका हुन्छन् ।
गालीबारे नेप्से नेतृत्व पक्कै अनभिज्ञ छैन । किनकि नेप्सेको वेबसाइटमा समस्या आउनासाथ धेरै मिडियाकर्मीले प्रश्न गर्ने कि नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउद कि त प्रवक्ता मुराहरि पराजुलीलाई हो । उत्तर एकै खालको आउँछ‑ आज फेरि प्रविधिमा नयाँ समस्या देखापर्यो ।
मिडियाकर्मी त्यही लेख्न बाध्य छौं‑ ‘नेप्सेको वेबसाइटमा प्राविधिक समस्या’ । सेयर बजारका लगानीकर्ता अधिकांशलाई यसबारे थाहा हुन्छ । उनीहरूले पनि नेप्से नेतृत्वमाथि सामाजिक सञ्जालमा ‘विष वमन’ गरिरहेका हुन्छन् ।
नेप्सेको वेबसाइटमा विभिन्न समस्या आइरहन्छन् । यस्ता समस्या लगानीकर्ताको चाप बढेका बेला बढी देखिन्छन् । कारण, नेप्सेको वेबसाइट धेरै लगानीकर्ता धान्ने क्षमताको छैन । वर्षौंदेखि समस्या दोहोरिरहे पनि समाधानका लागि तदारुकता देखाइएको छैन । पछिल्लो उदाहरण हो‑ नयाँ वेबसाइट । नेप्सेले नयाँ वेबसाइट बनाउन थालेको करिब एक वर्ष बित्यो तर अझै बनिसकेको छैन । पुरानो वेबसाइटमा समस्या आउँदा नेप्सेले सूचना निकालेर नयाँ वेबसाइट हेर्न आग्रह गर्छ । तर, नयाँ वेबसाइट आफैंमा हेरिसक्नु छैन । नयाँमा झन् धेरै तथ्यांकगत त्रुटि हुन्छन् ।
नेप्सेको प्रविधिमा बारम्बार समस्या आउँछ । तर, धेरै समस्या वाइकोले रियल टाइममै समाधान गरिदिन्छ । तत्कालै समाधान नहुने समस्याहरुमात्र लगानीकर्ताले थाहा पाउँछन् । कहिले ब्रोकरको ब्याक अफिस सिस्टम र नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)बीच म्याचिङमा समस्या आउँछ त कहिले सम्बन्ध नै टुट्छ । कहिले ब्रोकरको डाइरेक्ट नेटवर्क एक्सेस (डिएनए)ले काम गर्दैन । कहिले अनलाइन लगानीकर्ताले दिएको अर्डरमा डुब्लिकेसन हुन्छ ।
नेप्सेले यसको दीर्घकालीन समस्या समाधानका लागि के गरिरहेको छ भन्नेमा लगानीकर्ता अन्योलमा छन् । समस्या कसरी र किन आयो भन्नेमा लगानीकर्तालाई कुनै चासो हुँदैन । उनीहरूका लागि समस्या नआए पुग्छ, आफ्नो काम निर्वाध गर्न पाए हुन्छ ।
धितोपत्र बोर्डले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । ‘तारन्तार समस्या आएपछि आज नेप्से प्रतिनिधिलाई बोलाएर कुरा गरेको छु, समस्याबारे विस्तृत जानकारी माग गरेको छु,’ बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले भने, ‘हामी छिट्टै समस्याको दीर्घकालीन समाधान खोज्छौँ ।’
प्राविधिक समस्यालगायतका विषयलाई लिएर बोर्डले पटक‑पटक नेप्सेलाई लिखित स्पष्टीकरण सोधेको उनले बताए । नेप्सेले ब्रोकरको ब्याक अफिस सिस्टम र नेप्सेको टीएमएसबीच सन्तुलन नमिलेकाले समस्या दोहोरिइरहेको बोर्डलाई जानकारी गराउने गरेको छ ।
ब्रोकर कम्पनीहरू पनि नेप्सेको प्रविधिगत समस्याबाट आजित छन् । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट नेप्सेको लगातारको समस्याले हैरान बनाएको बताउँछन् । ‘हामी दिग्दार भइसकेका छौँ,’ उनले भने, ‘टिएमएस सिस्टम ल्याउने अन्तिम तयारीमा छौँ, चाँडै ल्याउँछौँ ।’ नेप्सेले ब्रोकरबाट समस्या आयो भन्नु गलत भएको उनले बताए ।
बिहीबार पनि वेबसाइटमा समस्या आएपछि नेप्सेले केहीबेर कारोबार रोकेको थियो । वेबसाइटको समस्या समाधान भएसँगै ५ बजेसम्मका लागि कारोबार अवधि विस्तार गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
प्रकाशित समय १७:१९ बजे

















