गृहपृष्ठ अपीको नाफामा २४५ प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानी दोब्बर

अपीको नाफामा २४५ प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानी दोब्बर

api-power-newskarobar

अपी पावर कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफामा २४५ प्रतिशत वृद्धि गरेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको ६ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १४ करोड ३२ लाख रुपैयाँ पुगेको हो ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १० करोड १७ लाख रुपैयाँ बढी हो । गत वर्षको पहिलो ६ महिनामा कम्पनीले ४ करोड १४ लाख रुपैयाँमात्र खुद नाफा गरेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी र अन्य स्रोतबाट हुने आम्दानी उल्लेख्य बढेपछि खुद नाफा बढ्न सहयोग पुगेको देखिएको छ । समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २४ करोड १९ लाख र अन्य स्रोतबाट ६ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ५० लाख र अन्य स्रोतबाट १४ लाख ५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले ८.५ मेगावाटको नौगढ गाड सानो हाइड्रोपावर आयोजनाको व्यावसायिक सञ्चालन सुरु गरिसकेको छ । हाल कम्पनीले ४० मेगावाटको चमेलिया जलविद्युत आयोजना र चार मेगावाटको चन्द्रनिगाहपुर सोलार आयोजना निर्माण गरिरहेको छ ।

१ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको अपी पावरको जगेडा कोषमा २९ करोड ७० लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.९६ रुपैयाँबाट ७.८८ रुपैयाँ बढेर १४.८४ रुपैयाँ पुगेको छ । अपी पावरको प्रतिसेयर नेटवर्थ ११५.३९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १७.८५ गुणा छ ।

प्रकाशित समय ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु