गृहपृष्ठ ऐतिहासिक एकीकरण पदमार्गको सुरुवात, जोडिने भए दुई गढी
ऐतिहासिक एकीकरण पदमार्गको सुरुवात, जोडिने भए दुई गढी
हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग जोड्ने करिब ७५ किलोमिटर लामो पदमार्गको शनिबार औपचारिक रुपमा निमार्ण सुरु भएको छ । पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरेलले पदमार्गको घन्टेमा शुभारम्भ गरे । उद्घाटनपछि पूर्वमन्त्री गजुरेललगायत एक सयभन्दा बढी सहभागीले करिब एक किलोमिटर पदयात्रा गरेका छन् ।
सांसद हरिबोल गजुरेलले नेपालको इतिहासमा महत्वपूर्ण अर्थ राख्ने दुई गढीलाई जोडेर पदमार्ग निर्माण गर्दा यसले सिन्धुलीको आर्थिक तथा सामाजिक विकासमा अर्थ राख्ने बताए । उनले पदमार्ग निर्माण अभियानमा स्थानीयवासीको उत्साहप्रद सहभागिता पर्यटनको विकासमा महत्वपूर्ण हुने धारणा राखे ।
कार्यक्रममा प्रदेश सदस्य विनोदकुमार खड्काले सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा सिन्धुली जिल्ला फड्को मार्ने चरणमा रहेको भन्दै पर्यटनसँग पदमार्गको सम्बन्धबारे चर्चा गरे । प्रदेशसभा सदस्य बुद्धिमान माझीले सिन्धुलीको हरिहरपुरगढी क्षेत्रमा औद्योगिक क्षेत्रको प्रस्ताव गरिएको बताए ।

कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विकासका दृष्टिले सिन्धुलीले धेरै सम्भावना बोकेको भन्दै राजनीतिक दलका नेताहरु विकासका लागि एकमत हुने गरेको सुनाए । हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कारसाङ लामाले पर्यटनको गुरुयोजना बनाएर हरिहरपुरगढी गाउँपालिकाको विकासमा योजनाबद्ध रुपमा काम थालिएको जानकारी गराए ।
कार्यक्रमममा नेकपा (नेकपा) का केन्द्रीय सदस्य तथा गढी संरक्षण समितिका अध्यक्ष कमलजंग राईले घण्टे, गढीलगायत हरिहरपुरगढी क्षेत्रको ऐतिहासिक महत्वको खोजविन गरिनुपर्नेमा जोड दिए । सांसद हरिबोल गजुरेलले पदमार्गका लागि जग्गा दिएर सहयोग गर्ने शम्भु राई, रुकमणि श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, मानबहादुर मानन्धर र हरिबहादुर श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेका छन् ।
समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग पर्यटकीय पदमार्गका रुपमा विकास गर्न पदमार्ग निर्माण गरेको हो । तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेनले स्थापना गरेको घण्टे महादेव (हेमकर्णेश्वर) रहेको स्थानबाट पदमार्ग सुरु गरिएको हो । स्थानीय विकास साझेदारी कार्यक्रमअन्तर्गत सांसद गजुरेलले ४० लाख रुपैयाँ पदमार्गका लागि विनियोजन गरेका छन् ।
मदन भण्डारी मार्गको घण्टेबाट ऐतिहासिक हरिहरपुरगढी एक घण्टा पैदल दूरीमा छ । तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढी सदरमुकाम सिन्धुलीबाट १३ किलोमिटर टाढा छ । यो पदमार्गले दुवै गढीलाई जोड्नेछ । नेपाल एकीकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि हात्तीढुंगासम्म पदमार्ग निर्माण सम्पन्न गरेको हो ।
पदमार्ग निर्माणमा दैनिक सयभन्दा बढी उपभोक्ता डेढ महिनासम्म खटिएको पदमार्ग निर्माण गर्न गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष तथा समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । पदमार्गको सुरुआत स्थल घण्टेमा कलात्मक प्रवेशद्वार बनाइएको छ ।

त्यस्तै खोरभञ्ज्याङ र जितपुरमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको छ । खोरभञ्ज्याङको प्रतीक्षालय घन्टे र पीपलमाढीबाट जाने पदयात्रीलाई सुविधा हुने गरी दोबाटोमा बनाइएको छ । जितपुरको डाँडामा बनाइएको प्रतीक्षालयबाट दक्षिणतिरको मरिण फाँट, चुरे र तराईको दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट उत्तरी क्षेत्रको हिमालय पवर्त शृंखलासमेत देखिन्छ । धरान–चतरा जोड्ने मदनभण्डारी लोकमार्गमा पर्ने घन्टेबाट पदमार्ग सुरु हुन्छ ।
चौधौं शताब्दीमा बनाइएका हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोडेर पर्यटन प्रवर्धन गर्न पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष लीलानाथ घिमिरेले बताए । हरिहरपुरगढी किल्ला हरिसिंहदेवले विक्रम संवत १३८१ मा बनाएका थिए । बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालित राजा हरिसिंह सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए ।
त्यही किल्लाले राज्यको रूप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भन्न थालियो । झण्डै ७ सय बर्षअघि बनेको यो किल्ला पुरानै स्वरुपमा जस्ताको तस्तै छ । बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ ।
सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक वर्ष विजयोत्सव मनाइन्छ ।
अभियानले पदमार्गको प्रवर्धन गर्न डकुमेन्ट्री बनाएको छ । श्रव्यदृष्य सामग्री समेटिएको वेबसाइट हरिहरपुरगढी डटकम पनि यसै अवसरमा सुरु गरिएको छ । वेबसाइटमा पदमार्गको भिडियो, हरिहरपुरगढीबारे जानकारी, बाटोमा पर्ने गन्तव्यहरु र तस्बिरहरु समेटिएका छन् ।
घण्टेमा फोटो सिन्धुली
समृद्ध सिन्धुली अभियानले असार ६ र ७ गते दुई दिन घण्टेस्थित हरिहरपुरगढी सिन्धुलीगढी ऐतिहासिक पदमार्गको प्रवेशद्वारमा फोटो सिन्धुली प्रदर्शनी गरियो । प्रदर्शनीको सांसद गजुरेललगायत अतिथि, विद्यार्थी, स्थानीवासीले तस्वीर अवलोकन गरेका छन् ।
प्रकाशित समय १२:०० बजे

















