गृहपृष्ठ यसपालि शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

यसपालि शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित १० रहेका उनको भनाइ छ ।

यस्तै निरौलाका अनुसार सोमबारसम्म सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ ले अनुमति लिएका छन् । यो हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाइ आठ हजार १५६ मिटर रहेको छ । त्यस्तै ८ हजार ५१६ मिटर उचाइको लोत्से हिमाल आरोहणका लागि दुई समूहका १३ र ७ हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि एक समूहका आठ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार ८ हजार २६७ मिटर उचाइको धवलागिरि हिमाल आरोहणका लागि दुई समूहका ३० जनाले अनुमति लिएका छन् । अहिलेसम्म देशका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा ६८ समूहका ५१८ आरोही छन् । सोमा ११४ महिला र ४०४ पुरुष आरोही रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा निरौलाले जानकारी दिए ।

सगरमाथा आरोहणको इतिहास

सन् १९५३ मे २९ तारिखका दिन बिहान ११:१५ बजे न्युजिल्यान्डका नागरिक सरएडमन्ड हिलारी र नेपाली नागरिक तेञ्जिङनोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेकेका थिए । त्यसपछि आरोहणको क्रम सुरु भएको पाइन्छ ।

सगरमाथा आरोहणको उत्तम समयका रूपमा वसन्त ऋतुलाई लिने गरिन्छ । शरद ऋतुमा सगरमाथा अरोहणका लागि कठिन मानिन्छ । सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेनले आरोहण गरेयता शरद ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन । यो याममा अरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ ।

सन् २०१९ कै वसन्त ऋतुमा विभिन्न समूहका ३८१ ले आरोहण अनुमति लिएका थिए भने आरोही र उनका सहयोगीसहित करिब ७ सयले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए । आरोहणका क्रममा नौ जनाको ज्यान गएको थियो । उनीहरुको मृत्युको कारण सगरमाथा आरोहणका क्रममा ट्राफिक जाम भनेर दाबी गरिए पनि पर्यटन विभागले त्यसको खण्डन गरेको थियो ।

उक्त याममा हुने भीड र समस्यालाई शदर ऋतुले आकर्षण गर्न नसकेको आरोही बताउँछन् । आरोही किताबसिं तामाङका अनुसार शरद ऋतुमा आरोहण गर्न सकिने भए पनि हल्का वर्षातसँगै हिमपात र वायुको गति उच्च हुँदा समस्या हुने गर्छ । वसन्त ऋतुमा आधार शिविरदेखि क्याम्प-१ सम्मको बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले पनि यो याममा भने आफ्नो जिम्मेवारी मान्दैन र कुनै पनि कार्य गर्दैन ।

समितिका अध्यक्ष आङदोर्जी शेर्पाका अनुसार वसन्त ऋतुमा ६ सय अमेरिकी डलरमा क्याम्प-१ सम्मको बाटो बनाउन सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्छ । नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताबसिंले बताए ।

चार करोडभन्दा बढी राजस्व संकलन

विभिन्न हिमाल आरोहणबाट अहिलेसम्म ४ करोड २८ लाख ४० हजार १ सय ७१ रुपैयाँ ५७ पैसा रोयल्टी प्राप्त जम्मा भएको पर्यटन विभागले जनाएको छ । सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरक-फरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा ५ हजार ५ सय डलर र गर्मी समयमा २ हजार ७ सय ५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार ५ सय र गर्मीयाममा १८ हजार २ सय ५० रूपैयाँ रोयल्टी तिर्नुपर्ने कानुनी व्यवस्था छ ।
(भोजराज कार्की/रासस)

प्रकाशित समय १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु