गृहपृष्ठ कोरोना प्रभावले विश्व पर्यटनमा १.२ ट्रिलियन डलरको क्षति

कोरोना प्रभावले विश्व पर्यटनमा १.२ ट्रिलियन डलरको क्षति

Covid19 Imapct _NewsKarobar

नव कोरोनाभाइरस (कोभिड-१९) महामारीको कारण करिब चार महिना विश्वव्यापी यात्रामा अवरोध आउँदा विश्व पर्यटन क्षेत्रले कम्तिमा १.२ ट्रिलियन अमेरिकी डलर वा विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १.५ प्रतिशत नोक्सानी बेहोर्नु पर्ने  संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास संगठन (अंकट्याड)ले जनाएको छ ।

अंकट्याडले सार्वजनिक गरेको कोभिड-१९ ले विश्व पर्यटन उद्योगमा पारेको असरसम्बन्धी प्रतिवेदनमा यदि अन्तर्राष्ट्रिय पर्यटनमा लागेको बिराम ८ महिनासम्म कायम रहेमा यसबाट हुने क्षति २.२ ट्रिलियन अमेरिकी डलर वा विश्वव्यापी जीडीपीको २.८ प्रतिशतसम्म पुग्ने उल्लेख छ । यो संयुक्त राष्ट्र संघीय पर्यटन संगठन (यूएनडब्लूटीओ)ले गरेको अनुमान बराबर हो ।

अंकट्याडका अनुसार सबैभन्दा निराशाजनक परिदृष्यमा यदि अन्तर्राष्ट्रिय पर्यटनमा १२ महिनाको अवरोध पुगेमा  विश्व पर्यटन उद्योगले ३.३ ट्रिलियन डलर वा कुल विश्वव्यापी जीडीपीको ४.२ प्रतिशत क्षति बेहोर्नु पर्नेछ ।

विश्व पर्यटन सगठन (यूएनडब्लूटीओ)ले पर्यटन विश्वका कैयन देशको अर्थतन्त्रको मूल आधार भएको र यसले विश्वका लाखौं मानिसको जीविकाको आधार भएको उल्लेख गरेको छ, विगत २० वर्षमा पर्यटन उद्योगको योगदान ४ खर्ब ९० अर्ब डलरबाट वृद्धि भइ १६ खर्ब अमेरिकी डलरभन्दा नाघेको प्रतिवेदनमा उल्लेख छ । कोभिड-१९ का महामारीले यसमा रोक लाग्दा विश्वव्यापी स्तरमा गम्भीर आर्थिक संकट निम्त्याएको अंट्याडले जनाएको छ ।

‘ थुप्रै विकसित र विकासशील देशहरूका लागि पर्यटन रोजगारीको एक प्रमुख स्रोत हो भने सरकारको राजस्व र विदेशी विनिमय आयका लागि पनि मुख्य स्रोत हो, यो महत्वपूर्ण जीविकाको आधारबिना कैयन देशले जीडीपीमा  नाटकीय संकुचन र बेरोजगारी बढेको अनुभव गर्नेछन,’ प्रतिवेदनमा भनिएको छ ।

केही देशहरूमा अबलम्बन गरिएका लकडाउन उपाय, यात्रा प्रतिबन्ध, उपभोक्ताहरूको खर्च योग्य आयमा कटौती र कम विश्वासको स्तरले पर्यटनको पुनर्बहाली हुने गतिलाई सुस्त बनाउन सक्ने अंकट्याटले चेतावनी दिएको छ । केही देशमा पर्यटकीय गतिविधि पुनः बिस्तारै बढ्दै गइ रहे पनि यो धेरैजसो देशमा पर्यटन स्थिर रहेकोले यस क्षेत्रको पुनर्बहाली सुस्त हुने देखिएको हो ।

यात्रा र पर्यटनले विश्वव्यापी जीडीपीको एक महत्वपूर्ण हिस्सा ओगेटेको र धेरै देशको राष्ट्रिय आयमा आधाभन्दा बढी योगदान दिने गरेको भन्दै अंकट्याडले अन्तर्राष्ट्रिय पर्यटन आयमा १० लाख डलरको क्षति हुँदा मुलुको राष्ट्रिय आय २० लाखदेखि ३० लाख अमेरिकी डलरसम्मले घट्ने बताएको छ ।

पर्यटक र यात्रीहरू विदामा जाँदा उनीहरूले उपभोग गर्ने खाद्य, पेय र मनोरञ्जन लगायतका क्षेत्रमा खर्च गर्दा वस्तु तथा सेवासहित अर्थतन्त्रका अन्य क्षेत्रमा योगदान दिइरहेको भन्दै कोरोना भाइरसका कारण पर्यटनमात्र नभइ अर्थतन्त्रका अन्य क्षेत्रले पनि गुमाइरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु