गृहपृष्ठ क्यानोनिङ गर्ने आन्तरिक पर्यटक बढे, पहिलाकै अवस्थामा फर्कन भने अझै चुनौती

क्यानोनिङ गर्ने आन्तरिक पर्यटक बढे, पहिलाकै अवस्थामा फर्कन भने अझै चुनौती

कास्कीको माछापुच्छ्रे गाउँपालिका- ९, घलेलमा रहेको पोखरा क्यानोनिङ पुनः सञ्चालनमा आएको छ । आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै गइरहेको क्यानोनिङ कोरोना महामारीका कारण गत चैत ११ देखि बन्द थियो ।

असोज १ बाट सञ्चालनमा आएको क्यानोनिङ केही सयम पर्यटकविहीन बन्यो । तर केही दिनयता भने अन्तरिक पर्यटकहरुको आगमन बढेको छ । पछिल्लो तथ्यांकअनुसार आन्तरिक पर्यटकहरुको संख्या बढ्दै गइरहेको पोखरा क्यानोनिङका सञ्चालक राम गुरुङले बताए । ‘पहिलाको दरमा पर्यटकहरु नआए पनि संख्यामा वृद्धि भइरहेको छ,’ उनले भने, ‘पुनः सुरु भएयता आन्तरिक तथा बाह्य पर्यटक गरेर १ हजार जनाले मज्जा लिइसकेका छन् ।’ उनका अनुसार यस अवधिमा २ सय जना आन्तरिक पर्यटकले पनि क्यानोनिङ गरेका छन् । पर्यटक बढेसँगै सुस्ताएका गतिविधि बढ्नेमा आशा थपिएको उनले बताए ।

पोखरा क्यानोनिङ २०७० सालमा स्थापना भएको हो । चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिँदै, चिप्लिँदै झरना र खोलाका छाँगाबाट खसेर खेलिने साहसिक हो । यस खेलप्रति नेपालमा पर्यटकीय आकर्षण बढ्दो रहेको छ । सुस्ताएका पर्यटन क्षेत्र उकास्न अब सबैजना लाग्नुपर्ने गुरुङले बताए ।

कोरोना संक्रमणको जोखिम अझै पनि कायमै रहेकाले व्यवसायीदेखि लिएर स्वयं क्यानोनिङ गर्न जाने पर्यटकले समेत सावधानी अपनाउनु पर्ने सञ्चालक गुरुङले बताए । ‘सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाको मापदण्डमा कुनै कमीकमजोरी नगरी व्यवसाय सुचारु गरेका छौं,’ उनले भने, ‘हामीले क्यानोनिङ गर्न आउनेको लागि मास्क, स्यानिटाइजर अनिवार्य गरेका छौं ।’ कोरोना कहरका कारण अहिले १० जनाको मात्र बुकिङ गर्ने गरेको गुरुङले बताए । जनशक्ति बढी प्रयोग हुने हुँदा मूल्य भने यथावत नै राखिएको उनको भनाइ छ ।

जाडोको समयमा क्यानोनिङ खेल खासै आकर्षणमा पर्दैन । जसले गर्दा पर्यटकहरु कम हुने गर्छन् । क्यानोनिङको लागि सिजनेवल महिना चैत, वैशाख र जेठलाई मानिन्छ । अपेक्षाकृत रुपमा पर्यटकको चहलपहल नहुँदा पहिलाको अवस्थामा फर्कन अझै पनिचुनौती कायमै रहेको सञ्चालक गुरुङले बताए ।

कसरी पुग्ने पोखरा क्यानोनिङ ?

गण्डकी प्रदेशको राजधानी पोखराको हरिचोक, मिलनचोक, ह्याम्जा, याम्दी, भेडाबारी, खोरामुख हुँदै करिब २२ किलोमिटरको सडक यात्रोपछि पोखरा क्यानोनिङ पुगिन्छ । यहाँ जानको लागि कतै पक्की त कतै कच्ची सडक छ । कास्कीको घलेल गाँउमा रहेको कुदी छहरामा क्यानोनिङका लागि दुई तहका झरना रहेका छन् । यी दुवै करिब ७५ मिटर अग्ला छन् ।

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु