गृहपृष्ठ पर्यटन पूर्वाधारका योजनाहरू अधिकांश अधुरै, केही सुरु नै भएनन्
पर्यटन पूर्वाधारका योजनाहरू अधिकांश अधुरै, केही सुरु नै भएनन्
बुलबुले ताल ।
वीरेन्द्रनगर नगरपालिका- ७ सुर्खेतको आँखा अस्पतालचौकको उत्तर-पूर्वमा चौहान पार्क निर्माणको मास्टर प्लान बनेको छ । उक्त स्थानलाई पार्कको रुपमा विकास गर्नका लागि मास्टर प्लान बनाइएको हो । अहिले उक्त क्षेत्रमा वरिपरी पर्खाल लगाउने काम भइरहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ठेक्का सम्झौता भएको उक्त काम जम्मा १५ प्रतिशत मात्रै सम्पन्न भएको छ । ठेक्का सम्झौता भएको सात महिना बितिसक्दा समेत पर्खालको काम १५ प्रतिशत मात्रै सकिएको छ । एक वर्षमा सक्नेगरी मजदुर कन्स्ट्रक्सन प्रालिले कामको जिम्मा लिएको छ । २०७७ असार ३० गते सम्झौता भई २०७८ साउन ३० गते सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले कामको जिम्मा लिए पनि हालसम्म कामको गति भने बढ्न सकेको छैन । डिभिजन वन कार्यालयको १ करोड ७० लाख बजेटमा पर्खाल लगाउने कामको जिम्मा लिएको ठेकेदार कम्पनीको कारण काममा ढिलाई भएको बताएको छ । डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत तथा सूचना अधिकारी टेकबहादुर रावलले ठेकेदार कम्पनीको कारण काममा ढिलाई भएको जानकारी दिए ।
यता ठेकेदार कम्पनीका सहायक ठेकेदार सुशान्त कुँवरले भने निर्माण सामग्री अभावका कारण काममा ढिलाई भएको स्वीकारे । ‘सरियाको मुल्य एकदमै बढेको छ । बालुवा र ढुंगा खुलाउने कामसमेत भएको छैन,’ उनले भने । कैलालीबाट आउनुपर्ने कामदारहरु समेत आउन ढिलाई गरेकोले काममा ढिलाई भएको उनले बताए । काम कहिले सकिन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने कुँवरले बताए ।
ऐतिहासिक महत्व बोेकेको बुलबुले तालको गुरुयोजना निर्माण भएको तीन आर्थिक वर्ष बितिसकेको छ । उक्त गुरुयोजना पाँच वर्षमा सम्पन्न गर्नेगरी निर्माण भएको हो । आर्थिक वर्ष २०७३/७४ मा बुलबुले उद्यानमा विभिन्न काम गर्न गुरुयोजना निर्माण भएको थियो । गुरुयोजनामा टिकट घर, स्विमिङ पुल, पार्किङ, रेष्टुरेन्ट, ग्रिन हाउस, विश्राम कक्ष, ताल विस्तार, चिन्ड्रेन पार्क, कमल ताल, बाटो, रिङरोड निर्माण गर्ने उल्लेख छ । यसका साथै महिला र पुरुषलाई छुट्टाछुट्टै बाथ स्पोर्ट, उद्यान क्षेत्रभित्र सोलार लगायतका २२ वटा योजना गुरुयोजनामा समावेश छन् । तर यी योजनामध्ये थोरै मात्रै कामहरु उद्यानमा भएका छन् । करिब ३१ करोड ६३ लाख रुपैया बजेट अनुमान गरी गुरुयोजना निर्माण गरिए पनि काम भने सम्पन्न हुन सकेका छैनन् ।
अहिले उद्यानमा तालबिस्तार, रेलिङ, फुटपाथ, बोटिङडेग, २० वटा सोलार राख्ने कामहरु भइसकेका छन् तर अन्य कामहरु भने हुन सकेका छैनन् । बुलबुले उद्यान ताल विस्तारको लागि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट आर्थिक वर्ष ०७५/७६ मा ५ करोड रुपैयाँ विनियोजन गरी टेन्डर भए पनि काम भने सुरु हुनै सकेन । बजेट फ्रिज भयो । आर्थिक वर्ष २०७६/७७ मा बुलबुले उद्यानको ताल विस्तारको लागि ३ करोड रुपैयाँ विनियोजन भएको र सोहीअनुसार काम भएको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले जानकारी दिए । बुलबुले उद्यानका लागि हरेक वर्ष बजेटको व्यवस्था गरी गुरुयोजना अनुसार काम सम्पन्न गर्ने उनले बताए ।
करिब ११ हजार स्क्वायर मिटर क्षेत्रफल रहेको ताल हाल २८ हजार स्क्वायर मिटर फराकिलो बनाइएको वन निर्देशनालयका जलाधार अधिकृत शिखर चपाईले जानकारी दिए । उनका अनुसार बुलबले ताल विस्तारका लागि अमर-मजदुर जेभी ठेकेदार कम्पनीले जिम्मा लिएको छ । उनले हाल इत्राम खोलामा जाली हाल्ने कामसमेत सुरु भएको बताए । आर्थिक वर्ष २०७७/७८ मा ७६ लाख बजेटमा ५ सय ५० मिटर खोला क्षेत्रमा पर्खाल लगाउने काम भएको उनले बताए । तत्काल बुलबुले तालको वरिपरी रेलिङ र फुटपाथ निर्माणका लागिसमेत तयारी भएको बताए ।
वीरेन्द्रनगर- ४ सुर्खेतमा वन निर्देशनालयअन्तर्गत कार्यान्वयन हुनेगरी सहिद पार्क निर्माण हुँदैछ । आर्थिक वर्ष २०७६/७७ मा स्तम्भ, ठुलो फाउण्डेशन लगायतको काम ढिला गरी सम्पन्न भएको थियो । उक्त कामको जिम्मा अभियान निर्माण सेवाले लिएको थियो । सम्पन्न भएका कामका लागि १ करोड २२ लाख रकम खर्च भइसकेको छ । पार्कमा फूलबारी, जमिनलाई विभिन्न आकृति दिने लगायतका थुप्रै काम बाँकी छन् । आर्थिक वर्ष २०७७/७८ मा सहिद पार्कको वरिपरी पर्खाल लगाउने गरी न्यु विशाल कन्स्ट्रक्शनले ७७ लाखमा जिम्मा लिएको छ । तर काम अझै सम्पन्न भएको छैन । करिब ३ सय मिटर पर्खालको कामको भुक्तानीसमेत मन्त्रालयले दिएको छैन । सहिद पार्कभित्रका केही संरचना निर्माणको काम भए पनि सबै काम भने हुन नसकेको वन निर्देशनालयका सहायक वन अधिकृत सुर्यप्रसाद शर्माले जानकारी दिए । क्रमागत योजनाअनुरुप प्रत्येक वर्ष विनियोजन भएको बजेटअनुसार संरचनाहरु निर्माण गरिने उनले बताए । उनले मन्त्रालयले विनियोजन गरेको बजेट आफूले कार्यान्वयन मात्रै गर्ने सुनाए ।
सुर्खेतमा केही नयाँ र केही पुराना पर्यटकीय स्थलहरु निर्माण र पुनर्निर्माणमा तीनै तहका सरकारले लगानी गरेका छन् । त्यसका लागि गुरुयोजना समेत बनेको छ । तर, अधिकांश काम अधुरै छन् । पुर्ण रुपमा पर्यटकीय स्थलका संरचना भने निर्माण नभएका हुन् । काँक्रेबिहार, देउतीबज्यै मन्दिर, बुलबुले ताल, सहिद पार्क, पैदलमार्ग लगायतका सुर्खेतका थुप्रै पर्यटकीय स्थलमा संरचना निर्माणको काम सुरुवात गरे पनि देखिनेगरी काम हुन नसकेको हो ।
प्रकाशित समय १८:२७ बजे

















