गृहपृष्ठ भन्सार कार्यालयले छ महिनामै लक्ष्य नाघ्यो

भन्सार कार्यालयले छ महिनामै लक्ष्य नाघ्यो

कैलालीस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएका छन् । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलाले छ महिनामा नै वार्षिक लक्ष्यभन्दा सवा दुई करोड बढी राजश्व संकलन गरेको छ ।

खक्रौला भन्सार कार्यालयले आव २०७७/७८ मा छ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य राखेकामा पुस मसान्तसम्म साढे आठ करोड राजश्व उठिसकेको भन्सार प्रमुख विमलकुमार शाहले जानकारी दिए । ‘हामीले छ महिनामा लक्ष्य नाघेका छौँ, लक्ष्य नाघेर सवा दुई करोड बढी राजश्व संकलन भएको छ,’ भन्सार कार्यालय प्रमुख शाहले भने, ‘हामीले सीमामा कडाइ गरेका छौँ, हामीले भन्सार छली रोक्न रणनीतिक रूपमा काम गरिरहेका छौँ, जसले राजश्वमा सुधार आएको छ ।’

कोरोना संक्रमणपछि सीमानाका खुला नहुँदा मानिस खुला रूपमा सीमापारि आउजाउ गर्न नसक्दा पनि भन्सार कार्यालयलाई फाइदा भएको छ । पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको उनको भनाइ छ । ‘पछिल्ला समय खक्रौला नाकाबाट कच्चा पदार्थसमेत भित्रिन थालेका छन्, विगतमा घरायसी सामान किन्न भारत जाने नेपालीले अन्य किनेमेल उतै गर्नाले राजश्वमा प्रभाव पर्ने गरेको थियो,’ शाहले भने, ‘हाल नेपालीको बजार नेपाली भएको छ । जसले राजश्वमा समेत सुधार भएको हो ।’

दुई वर्षअघि मात्र स्तरोन्नति भएको खक्रौला भन्सारले गत आवमा रु पाँच करोड ८० लाख सात हजार मात्रै राजश्व उठाएको थियो । खक्रौला भन्सारबाट कपडा, मोटरपार्टस् र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन् । यससँगै भारततर्फको सडक राम्रो भई नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टिन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयात निर्यातको व्यवस्था गरे अझै राजश्व बढ्ने शाहको धारणा छ । ‘सबै सामान यही बाटो आउन सकेको भए राजश्व बढ्ने थियो,’ उनले भने ।

धनगढीस्थित कैलाली भन्सार कार्यालयले पनि छ महिनामा लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । चालु आवको साउनदेखि पुस मसान्तसम्म तीन अर्ब ९० करोड राजश्व उठाउने लक्ष्य लिएकामा चार अर्ब ३५ करोड राजश्व संकलन भएको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए ।

कैलाली भन्सार कार्यालयबाट यो अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड, भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता खाद्य वस्तुको अयात धेरै भएको छ । सरकारले सीमानाकामा रहेका राजश्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजश्व संकलन अझै वृद्धि हुने स्थानीयवासी बताउँछन् । ‘हामीले यहाँ पशु क्वारेन्टिन स्थापनाको माग गरिरहेका छौँ, पशु क्वारेन्टिन भएको भए यहाँ अझ विकास हुने थियो,’ टीकापुर- ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भने, ‘हामीले नगरपालिकाबाट प्रदेश र केन्द्र सरकारसँग माग गरेका छौँ । यहाँको भन्सारमा आवश्यक सबै पूर्वाधार र कार्यालय स्थापना हुन आवश्यक छ ।’ (रासस)

प्रकाशित समय १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु