गृहपृष्ठ पर्यटक तान्दै भकुण्डेको घरबास
पर्यटक तान्दै भकुण्डेको घरबास
गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा भकुण्डेको घरबास (होमस्टे) चिनिन थालेको छ ।
सो घरबास सञ्चालनमा आएपछि ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुगेको छ । ओझेलमा परेका पर्यटकीय गन्तव्यको उजागर भएको छ । घरबास आन्तरिक तथा बाह्य पर्यटक तान्ने मुख्य आकर्षण बनेको छ ।
पछिल्लो समय दैनिक १०० भन्दा बढी पर्यटक सो घरबासमा पुग्ने गरेका छन् । ‘प्रचार भएपछि पाहुना पनि बढेका छन्,’ घरबास सञ्चालक अप्सरा थापाले भने । जिल्लामा आउने विशिष्ट व्यक्तित्व पनि रात बस्ने गरी नै घरबास जाने क्रम बढ्दो छ । बागलुङ नगरपालिका–१० मा पर्ने भकुण्डेका नौ घरमा सञ्चालित घरबासमा दैनिक ५० भन्दा बढी पाहुना राख्ने क्षमता छ ।
संघसंस्थाको अध्ययन, अवलोकन भ्रमणको लागि पनि घरबास गाउँ छनोटमा पर्न थालेको छ । व्यक्तिगत तथा पारिवारिक घुमफिर र घरबासको अनुभव लिन आउने पनि उत्तिकै छन् । ‘विदाको दिनमा पाहुना बढी हुन्छन्, विदेशी पर्यटक पनि विस्तारै आकर्षित हुँदैछन्,’ घरबास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले बताए ।
पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिर घरबासका आकर्षण हुन् । ‘मौसमअनुसारका स्थानीय परिकार खुवाउँछौं,’ अध्यक्ष थापाले भने । मकै, गहुँ, कोदो, फापर, आलु, च्याउ, सिस्नोलगायतबाट बनेका परिकार यहाँको घरबासमा उपलब्ध छ । स्थानीय खसीबोका, कुखुरा, सुँगुरलगायतका विभिन्न मासुसमेत यहाँ खान पाइन्छ ।
जंगलमा पाइने हलहले, बोके, जरिंगो, खोले, कर्कलो, बाँकोको साग पनि घरबासमा उपलब्ध हुने गर्छ । खाना, खाजासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा ६०० तोकिएको छ । दुई रात काट्नेको भने एक हजार ५०० खर्च हुन्छ । खानाबाहेकका अन्य परिकारमा भने छुट्टै मूल्य छ । यहाँ आउने पाहुनालाई स्थानीय खानाको स्वादबाहेक नजिकका पर्यटकीय गन्तव्यले आकर्षित गर्ने गरेको छ । दुई हजार ३०० मिटरको उचाइमा अवस्थित मुलाबारीको ‘भ्यूटावर’ सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
त्यहाँबाट अन्नपूर्ण, माछापुछ्रे, धवलागिरिलगायतका दर्जन बढी हिमशृङ्खला देखिने स्थानीयवासी उमाकान्त शर्माले बताए । त्यस क्षेत्रमा अवस्थित सङ्ग्रहालय, बराहताल, बराह मन्दिर, कुथुकर्मको लेक, भैरब मन्दिरलगायत गन्तव्य घुम्न सकिन्छ । ‘दुई दिनको घुम्ने योजना बनाउँदा सबै ठाउँ पुग्न सकिन्छ,’ शर्माले भने ।
घरबास आउने पर्यटकलाई मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिएको छ । मगर जातिको बाहुल्य रहेको भकुण्डेमा झ्याउरे, सालैजो, यानिमायाजस्ता मौलिक संस्कृतिले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । मगर समुदायको पञ्चेबाजा, भजनलाई पनि जोगाएर राखिएको छ ।
पर्यटकलाई स्वास्थ्य, सरसफाइ, खानेपानी, विद्युत्, शौचालयजस्ता आधारभूत सुविधा उपलब्ध गराइएको छ । सडक र खानेपानीको सुविधा बढाउन नगरपालिका र वडाबाट विशेष योजना ल्याइएको वडाअध्यक्ष प्रेमबहादुर थापामगरले बताए । ‘पर्यटकीय पूर्वाधार बनाउनु जरुरी छ,’ उनले भने, ‘भकुण्डे आउने पर्यटक सन्तुष्ट भएर फर्कने वातावरण बन्नुपर्छ ।’
उनले यही वर्ष भकुण्डे जोड्ने दुई सडकमा डेढ करोड बजेट छुट्टिएको बताए । सदरमुकाम बागलुङ बजारदेखि एक घण्टाको मोटर र तीन घण्टाको पैदलयात्रामा भकुण्डे पुग्न सकिन्छ । वि.सं. २०६८ मा शुरु भएको घरबास २०७३ मा पर्यटन कार्यालय पोखरामा दर्ता भई आधिकारिकरुपमा सञ्चालन भइरहेको छ ।
प्रकाशित समय १४:३६ बजे