गृहपृष्ठ स्याङ्जामा प्याराग्लाइडिङ वर्ल्ड कपको भव्य उद्घाटन

स्याङ्जामा प्याराग्लाइडिङ वर्ल्ड कपको भव्य उद्घाटन

एसियादेखि अमेरिकासम्मका २१ राष्ट्रका एक सय २० प्याराग्लाइडिङ पाइलट सहभागी

paraglading-newskarobar (1)

नेपालमै पहिलोपटक स्याङ्जामा प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्यान्डिङ) वर्ल्ड कप २०१८ सुरु भएको छ । स्याङ्जाको स्वरेक मैदान (भीरकोट) र डौंवाफाँटमा कात्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगितामा २१ देशका १ सय २० प्याराग्लाइडिङ पाइलटले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा भारत, चीन र अन्य एसियाली राष्ट्रसहित अमेरिकासम्मका प्याराग्लाइडिङ पाइलटले सहभागिता जनाएको मूल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सीताकुमारी सुन्दासले जानकारी दिइन् । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी चारवटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताको औपचारिक प्रतिस्पर्धा भने शुक्रबारदेखि हुनेछ ।

प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले साहसिक खेलकुदको माध्यमबाट स्याङ्जाको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताए । स्थानीय तहमा खेलकुदग्राम र रंगशाला निर्माणका लागि अनिवार्य ३० प्रतिशत लगानी गर्न उनले स्थानीय तहलाई आग्रह गरे । ‘७० प्रतिशत रकम मन्त्रालयले व्यवस्था गर्छ,’ उनले भने ।

paraglading-newskarobar (1)

संघीय सांसद नारायणप्रसाद मरासिनी, गण्डकी प्रदेशका सांसद मोहनप्रसाद रेग्मी, नेपाल पाराग्लाइडिङ तथा ह्यान्ड ग्लाइडिङ संघ (नेफा)का अध्यक्ष रुपनारायण श्रेष्ठ, भीरकोट नगरपालिकाका मेयर छायाराम खनाललगायतले प्याराग्लाइडिङ वर्ल्ड कपले स्याङ्जालाई विश्वभर चिनाएको बताए । उद्घाटन सत्रमा विभिन्न झाकीसहित नृत्य प्रदर्शन गरिएको थियो । प्रतियोगिताका प्रतिस्पर्धीलाई बाजागाजासहित फूलमालाले स्वागत गरिएको थियो ।

नेपाल प्याराग्लाइडिङ तथा ह्यान्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था (ना) र बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्याराग्लाइडिङ वर्ल्ड कप भएको हो ।

प्रकाशित समय १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु