गृहपृष्ठ पाटा एडभेन्चर ट्राभल मार्टमा नेपालको साहसिक पर्यटन प्रवर्धन
पाटा एडभेन्चर ट्राभल मार्टमा नेपालको साहसिक पर्यटन प्रवर्धन
पाटा एडभेन्चर ट्राभल मार्टमा नेपालको साहसिक एवं आध्यात्मिक पर्यटन प्रवर्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) द्वारा फेब्रुअरी १३ देखि १५ मा भारतको उत्तराखण्डस्थित ऋषिकेशमा आयोजित ‘पाटा एडभेन्चर ट्राभल एण्ड रेस्पोन्सिबल टुरिजम कन्फ्रेन्स एण्ड मार्ट’ लाई नेपालको पर्यटन प्रवर्धनको अवसरका रूपमा उपयोग गरिएको हो ।
मार्टमा पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालबाट ६ वटा निजी पर्यटन व्यावसायिक संस्थाहरु कैलाश ग्रुप नेपाल, केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्ट, हिमालयन होलिडेज, कम्युनिटी होमस्टे, नेपाली घर होटल र अभिवादन एक्सपिडिसन होलिडेजले सहभागिता जनाएका थिए ।
उत्तराखण्ड टुरिजम डेभलपमेन्ट बोर्डको आतिथ्यतामा आयोजित उक्त मार्टमा २८ वटा मुलुकबाट सरकारी तथा निजी क्षेत्र सम्बद्ध तीन सय संघ–संस्था एवं व्यक्तिले सक्रिय सहभागिता जनाएका थिए । कन्फ्रेन्समा नेपाल, भारत, भुटान, म्यान्मार, इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायत १० गन्तव्य देशबाट ४७ विक्रेता र अस्ट्रेलिया, क्यानाडा, चीन, कोरिया, स्पेन, बेलायत, अमेरिकालगायत १८ वटा स्रोत बजार (देश) बाट ४४ क्रेताको सहभागिता थियो ।

पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले नेपाल, भारत र भुटानको दिगो तथा जिम्मेवार पर्यटन विकासका लागि तीनै राष्ट्रबीच संयुक्त पहल र सहकार्य गर्न पाटाअन्तर्गत आवश्यक पहल गर्नुपर्ने आवश्यकता रहेको विषयलाई मार्टमा आमन्त्रित सम्बन्धित राष्ट्रका पर्यटनविदसँग छलफल गरेका थिए । उनले पाटा एडभेन्चर ट्राभल मार्ट प्रकृति, संस्कृति र साहसिक यात्राको बेजोड संयोजनबाट जीवन्त अनुभवहरु प्रदान गराउने साहसिक पर्यटनका विविध प्रोड्क्टहरु रहेको तथा यस क्षेत्रमा अपार सम्भावना बोकेको नेपाल जस्तो गन्तव्यलाई ‘साहसिक पर्यटनका लागि परम गन्तव्य’का रुपमा प्रवर्धन गर्ने एक उपयुक्त मञ्च भएको बताए ।
उक्त मार्ट नेपालको आध्यात्मिक तथा धार्मिक पर्यटन सम्बन्धित प्रोडक्ट र सम्भावनालाई स्थानीय एवं विदेशी सहभागीमाझ प्रवर्धन तथा उजागर गर्ने उपयुक्त माध्यम बनेको थियो । नेपालका आकर्षक एवं महत्वपूर्ण धार्मिक स्थलहरु पशुपतिनाथ, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रलाई साहसिक पर्यटनको सेवासँगै उपयुक्त संयोजन गरी प्रभावकारी मार्केटिङ गर्न सके नेपालले भारतीय श्रद्धालु पर्यटक आगमनमा उल्लेख्य वृद्धि गराउन सक्नेछ अपेक्षा गरिएको छ ।

प्रकाशित समय १९:१४ बजे

















