गृहपृष्ठ जागिरसँगै सांगीतिक क्षेत्रमा जम्दै पंगेनी
जागिरसँगै सांगीतिक क्षेत्रमा जम्दै पंगेनी
शारदा पंगेनी पेसाले सरकारी जागिरे हुन् । बुटवल बहुमुखी क्याम्पसको पुस्तकालय विभाग प्रमुख । सानै उमेरदेखि संगीत क्षेत्रमा रुचि राख्ने शारदा यतिखेर जागिरे जीवनसँगै संगीत क्षेत्रमा समेत अघि बढिरहेकी छन् ।
२०७३ सालमा पहिलोपटक ‘परदेश मुग्लान’ बोलको गीत सार्वजनिक गरेकी शारदालाई सांगीतिक यात्रामा श्रीमान नवराज पनि साथ दिँदै आएका छन् । बुटवल बहुमुखी क्याम्पसका सह–प्रध्यापक नवराज अक्सफोर्ड माविमा पनि कार्यरत छन् । संगन गुनको फल भनेझैं बाबुआमाको सिको छोरीले पनि गरेकी छन् । पंगेनीकी छोरी सुप्रिया पनि कला क्षेत्रमा बामे सर्न थालेकी छन् ।
शारदाले हालसम्म चारवटा गीत बजारमा ल्याएकी छन् । गत वर्ष उनले तीजको गीत ‘माइती देशमा’ बोलको गीत बजारमा ल्याइन् । बुटवलको बागेश्वरी संगीतालयमा संगीत सिक्दै आएकी उनले केही महिनाअघि मात्र ‘मायाले जोवन दिएन’ बोलको गीत सार्वजनिक गरेकी थिइन् ।
हालै उनले नयाँ तीज गीत ‘सुन दाजुभाइ’ ल्याएकी छन् । म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा चर्चित गायक खुमन अधिकारी र शारदा पंगेनीले स्वर दिएका छन् । यो गीतबाट अझ बढी दर्शक श्रोताको मन जित्न सफल हुने अपेक्षा शारदाको छ । ‘सांगीतिक तिर्खा मेटाउनका लागि बेला–बेलामा गीत बजारमा ल्याइरहेकी छु,’ उनले भनिन्, ‘भविष्यमा यसको गति बढाउने सोच छ ।’
प्रकाशित समय १४:१३ बजे
















