गृहपृष्ठ पर्सामा दाल तस्करी
पर्सामा दाल तस्करी
नेपाल–भारतबीच रहेको खुला सीमानाको फाइदा उठाउँदै तस्करले दालको तस्करी गर्न थालेका छन् । केही दिनअघि ठूलो परिमाणको मरिच भारततर्फ तस्करी गर्न लाग्दा प्रहरीले पक्राउ गरेको थियो । मरिच व्यापारीले दलहन आयातलाई प्राथमिकता दिएर तेस्रो मुलुकबाट दाल मगाउन थालेपछि यसको भारततर्फ व्यापक तस्करी हुन थालेको हो ।
वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाह नाकाबाट गत वर्षको तुलनामा यस आर्थिक वर्षमा दालको आयातसमेत उल्लेखनीय वृद्धि भएको छ ।
मागमा वृद्धि भएपछि दलहनको तस्करी हुन थालेको सुख्खा बन्दरगाहका कर्मचारीकोे ठम्याइ छ । केही दिनयता तेस्रो मुलुकबाट मरिच आयात ह्वातै घटेको छ भने दलहन आयात बढ्न गएको छ ।
तेस्रो मुलुकबाट आयात भएको दाल भारततर्फ तस्करी कार्यमा लागेका तस्करले पश्चिमी पर्साको जानकी टोला, भिखमपुर, भिस्वा, बुडगाई, अमरपट्टी, पर्साैनी भाटा, इनर्वालगायतका नाकाबाट टायरगाडा ट्रयाक्टर, भ्यानलगायतका सवारी साधनमा लोड गरी भारततर्फ लग्ने गरेको स्थानीयवासीको भनाइ छ ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी धनबहादुर बडुवालले भने, ‘अहिले तेस्रो मुलुकबाट मरिचको साटो दाल अत्यधिक मात्रामा आउने गरेको छ ।’
चालु आर्थिक वर्षको तेस्रो सातासम्म यो नाकाबाट पाँच अर्ब ८२ करोड ८४ लाख मूल्यबराबरको ११ करोड ७६ लाख ९३ हजार ३ सय ५३ किलो दाल तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएको छ ।
गत आवको सोहि अवधिमा चार अर्ब ४६ करोड १५ लाख ४० हजार ८२५ मूल्य बराबरको छ करोड ३४ लाख ९० हजार २ सय ५० किलो दाल भित्रिएको थियो ।
अस्ट्रेलिया, क्यानडालगायतका तेस्रो मुलुकबाट भारतको बाटो गरी केराउ, मुङ, रहर, मसुरोलगायतका दलहन बढी आयात भएर नेपाल भित्रिने गरेको सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ ।
दालको तस्करी भइरहेको बारे जिज्ञासा राख्दा पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले अहिले चोरी निकासी नियन्त्रण गरिएको छ तर दाल कुन नाकाबाट तस्करी भई भारत जान्छ आफूलाई थाहा नभएको बताए ।
भारतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न तेस्रो मुलुकबाट दाल आयातमा रोक लगाएपछि नेपाल भित्रिने दाल भारत पुग्दा बढी फाइदा हुने भएकाले यसको तस्करी बढेको हो । दाल गेडागुडी आयात गर्दा १० प्रतिशत भन्सार शुल्क लाग्र्छ ।
(वीरेन्द्र कर्ण-रासस)
प्रकाशित समय १८:१० बजे