गृहपृष्ठ प्रकाश गन्धर्व : जसको सम्पत्ति पनि सारंगी, पाठशाला पनि सारंगी
प्रकाश गन्धर्व : जसको सम्पत्ति पनि सारंगी, पाठशाला पनि सारंगी
‘सारंगी त हाम्रो पुर्ख्याैली सम्पत्ति हो । यो बजाउन धक मान्नुपर्ने केही छैन,’ बाल्यकालदेखि नै सारंगी बजाउन सुरु गरेका प्रकाश गन्धर्व भन्छन् ।
बाबु खड्का क्षेत्री आमा गन्धर्व । प्रकाश आमासँग नजिकिए र प्रकाश गन्धर्व भए । उनको सामीप्य भने आमाभन्दा बढी हजुरआमासँग भयो । ‘आमा र बुबाको अन्तरजातीय विवाह भएको हो,’ प्रकाशले सगौरव भने, ‘बुबा खड्का र आमा गन्धर्व । मैले आमाको परिचय पाएँ– गन्धर्व ।’
औपचारिक शिक्षा धेरै नपढेका प्रकाशमा जिन्दगीका घुम्ती र मोडहरुमा सिकेका अनुभव भने अनगिन्ती छन् । ‘स्कुल गएर धेरै पढेको छैन,’ उनले भने, ‘१०–१२ वर्षको उमेरदेखि सारंगी बजाउन थालेको हुँ, त्यसयता मेरो पाठशाला यही सारंगी भएको छ ।’ सारंगी बोकेर हिँड्दा पनि उनी गौरवको अनुभूति गर्छन् ।
०००
काठमाडौंको पेप्सीकोलामा उनको डेरा छ । त्यहाँ बस्छ प्रकाशको एक्लो ज्यान । ‘काठमाडौं बस्न थालेको १० वर्षजति भयो,’ प्रकाशले भने ।
सारंगी बोकेका २० वर्ष र काठमाडौं बस्न थालेका १० वर्षमा उनले सारंगी र जीवनलाई एकसाथ बुझ्ने मौका पाए– मिलाएर बजाउन सके मिठो धून नसके कर्कश ध्वनि ।
जीवनमा संघर्ष गर्दै जाँदा प्रकाशले केही चलचित्रमा अभिनय गर्ने मौका पाएका छन् भने बीबीसीबाट प्रसारण हुने ‘कथा मिठो सारंगीको’मा लामो समय काम गरे ।
‘मैले बीबीसीबाट प्रसारण हुने ‘कथा मिठो सारंगीको’मा पनि झन्डै सात वर्ष काम गरेँ,’ प्रकाशले भने, ‘त्यहाँ मैले दिलु गन्धर्वको भूमिका निर्वाह गरेको थिएँ ।’
०००
उनको जीवन यो मोडमा आइपुग्नुका पछाडि सबैभन्दा ठूलो हात हजुरआमाको छ । ‘म हजुरआमासँग बस्न थालेँ,’ उनले भने, ‘बुबा खड्का हुँदाहुँदै पनि म आजको प्रकाश गन्धर्व हुन हजुरआमाको ठूलो हात छ ।
प्रकाशका जीवनमा तीन महत्वपूर्ण पात्रहरुको गहिरो प्रभाव छ । ‘मैले आमाबाट नागरिकता र हजुरआमाबाट यो ढंगको जीवन पाएँ,’ मुस्कुराउँदै प्रकाशले भने, ‘सारंगी बजाउन भने मामाबाट सिकेँ ।’
०००
कलाका पारखी प्रकाश बानेश्वरमा सारंगी बजाइरहेका भेटिए । सारंगी बजाउँदै हिँडेका उनलाई हामीले कुराकानीको प्रस्ताव गर्यौं, उनले त्यसलाई स्वीकार गरे । ‘म बालखैदेखि एक्लै बस्न थालेको हुँ,’ आफ्ना जीवनका आरोह–अवरोहको पोका खोल्दै प्रकाशले भने, ‘खासमा हजुरआमासँग हुर्केको हुँ ।’ उनका बुबा गुल्मी र आमा पोखरामा बस्छन् ।
‘९–१० वर्षको उमेरदेखि सारंगी बजाउन थालेको हुँ,’ प्रकाश विगततर्फ फर्किए, ‘बीच–बीचमा नाटक खेल्दा भने बजाउन पाइन ।’ झन्डै दुई दशकदेखि सारंगी बजाउँदै आएका उनी नेपालका थुप्रै ठाउँ पुगिसकेका छन् । ‘म नेपालका धेरै ठाउँमा पुगेर सारंगी बजाएको छु,’ उनी वर्णन गर्छन्, ‘कहिले सुदूरपश्चिममा सारंगी बजाउँदै पुग्छु त कहिले अर्कै ठाउँमा पुगेको हुन्छु ।’
खासगरी गन्धर्वहरु कुनै निश्चित घटनालाई कथा बुनेर त्यसलाई गीतको भाकामा गाउन प्रख्यात छन् । यस मामलामा प्रकाशचाहिँ कत्तिको गाउने/बजाउने गर्छन् ? ‘मैले त्यसरी पनि गाएको छु र चल्तीका भाका पनि गाएको छु,’ प्रकाशले भने, ‘मैले कुनै घटना विशेषलाई लिएर बनाएको कथा कहानीभन्दा बढी चलनचल्तीका गानामा बढी बजाउने र गाउने गरेको छु ।’
किन त ? उनी भन्छन्, ‘श्रोताहरुले कसरी सुन्न चाहनुहुन्छ, त्यसमा पनि भर पर्छ, मैले भने चलनचल्तीका भाका सुन्न चाहने धेरै भेटेको छु, कथा कहानी सुन्न चाहने कमकमै भेटेको छु ।’
०००
प्रकाश आफैं सारंगी बनाउँछन् । ‘यो (सारंगी) खिर्राको बनाइन्छ,’ उनले भने, ‘म आफैं बनाउँछु ।’ ‘सारंगी बनाउन बाख्राको छाला चाहिन्छ, तार चाहिन्छ,’ सारंगी बनाउने तरिका सुनाउँदै गर्दा प्रकाशले भने, ‘तार पनि चाहिन्छ, मैले ब्याडमिन्टनको तार प्रयोग गरेको छु ।’
०००
‘नेपालमा बाँच्न त गाह्रै छ,’ सारंगी रेट्न थालेको २० वर्षे अनुभव सुनाउँदा भावुक बनेका प्रकाशले भने, ‘तर आफूमा जे छ त्यसमै रमाइयो भने एकदमै खुसी भइन्छ जस्तो लाग्छ ।’
सारंगी रेट्ने शिल्प र शैलीमा पनि समयसँगै परिवर्तन आएको उनको अनुभव छ । ‘म १० वर्ष पहिले जसरी सारंगी रेट्थेँ, अहिले त्यसरी रेट्दिन,’ उनले सारंगीको कथा भने, ‘१५ वर्ष पहिले मैले गाउने गीत र अहिले गाउने गीतमा पनि भिन्नता छ, चेन्जिङ–चेन्जिङ हुँदै आएको छ ।’
लामो समयदेखिका ‘सारंगीका साथी’ प्रकाशलाई संगीतका अन्य साधन गितार, ड्रमलगायतले पनि तान्ने गरेको छ । ‘म्युजिकले मन तान्छ, म बाँसुरी बजाउँछु, गितार बजाउँछु,’ उनले भने, ‘तर सारंगी भनेको त हाम्रो सम्पत्ति हो । म घर–घर गितार बजाउँदै हिँडे भने मान्छेलाई कस्तो लाग्ला ? त्यसैले यसरी हिँड्दा सारंगी बोक्छु ।’
गितारलाई आधुनिक र सारंगीलाई ‘टिपिकल’ मान्छन् उनी । ‘सारंगी गन्धर्वहरुमा पुस्तान्तरण हुँदै आएको हो,’ प्रकाश गर्विलो भाकामा भन्छन्, ‘गितार बजाउँदै हिँड्ने मेरो संस्कृति त होइन नि !’
‘सारंगी बजाउनु नराम्रो होइन,’ उनले भने, ‘म सारंगी बजाउँदै हिँडिरहेको हुन्छु, नाटक खेल्नुपर्याे भने खेल्छु पनि । सारंगी बजाउँदैमा सबैथोक छोड्नुपर्छ भन्ने त छैन ।’ बीबीसीको कथा मिठो सारंगीको नाटकमा काम गर्न छाडेपछि थिएटरमा आएका उनले १५–१६ वटा नाटकमा अभिनय गरेका छन् ।
०००
जिन्दगीमा यसरी सारंगी बजाउँदै हिँड्दा मज्जा कि कुनै संस्थासँग जोडिएर (जस्तै बीबीसीमा जोडिनुभएको थियो) हिँड्दा मज्जा आउने रहेछ ? भन्ने जिज्ञासामा उनले भने, ‘यसरी हिँड्दा दर्शक स्रोताले दिने माया भिन्नै किसिमको हुन्छ भने त्यसखालका संस्थाहरुबाट पाउने माया भिन्नै हुन्छ ।’
त्यसरी कुनै संस्थासँग जोडिएर काम गर्दा धेरै दर्शक, श्रोतासम्म पुगिने उनको अनुभव छ । ‘त्यसरी गर्दा एकैपटक लाखौं मान्छेको माझमा पुगेको छु है भन्ने अनुभव हुन्छ,’ प्रकाश आफूले अनुभूत गरेको कुरा सुनाउँछन्, ‘यसरी हिँड्दा १०–१५ जनाको माझमा भइन्छ, कहिलेकाहीँ बूढी आमासँग गफ गर्दै उहाँलाई गीत सुनाउन पाइन्छ । त्यस्ती आमासँग गन्थन गर्न पाउँदा भित्रैदेखि खुसी लाग्छ ।’
बीबीसीमा काम गर्दाको कमाइ र अहिलेको कमाइलाई कसरी तुलना गर्नुहुन्छ छ ! प्रकाश भन्छन्, ‘त्यो एउटा प्रोजेक्ट हो, त्यसको र अहिलेको तुलना गर्नु नै बेठिक हो ।’ सन्तुष्टि कुनबाट मिल्यो ? यसमा पनि प्रकाशको बेग्लै र दुई थरी विश्लेषण छ, ‘आत्मसन्तुष्टि यसरी बजाउँदै हिँड्दा हुन्छ, आर्थिक सन्तुष्टिचाहीँ त्यसरी प्रोजेक्टमा काम गर्दा हुने रहेछ ।’
०००
उमेरका हिसाबले प्रकाश ३० वर्षका भए । अविवाहित प्रकाशलाई विवाहबारे जिज्ञासा राख्दा भने, ‘विवाह गर्नेबारे सोचेकै छैन, गरिहालौं पनि छैन, गर्दै गर्दिन भन्ने पनि छैन । खासमा मैले विवाहबारे सोचेकै छैन, विस्तारै गरौंला नि !’
घर–परिवारले बितिसक्यो, ढिला भयो भन्नुहुन्न ? उनी भन्छन्, ‘भन्नुहुन्छ, कर गरिरहनुभएको छ । अझै एक दुई वर्ष म काम गर्छु भनेर टार्दै आएको छु ।’
तस्बिर : सुनिल प्रधान
प्रकाशित समय ०८:४७ बजे






















