गृहपृष्ठ ‘पछाडि पारिएको’ कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार गर्छु : मन्त्री रावत
‘पछाडि पारिएको’ कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार गर्छु : मन्त्री रावत
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली प्रदेशको स्वास्थ्य सुधारका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री रावतले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले व्यवस्था तलबाट नभएर माथिबाटै सुधार हुनुपर्ने भन्दै यसको लागि पनि आफूले पहल गर्ने बताए । उनले सरकारले जनताका लागि निशुल्क वितरण गर्ने औषधि जनतामाझ नपुगेको भन्दै यसको अनुगमनसमेत हुनुपर्ने बताए । ‘स्थानीय तहले यसको जिम्मा लिनुपर्छ । सरकारले निशुल्क वितरण गरेको औषधि कँहा जान्छन् ?’ उनले प्रश्न गरे ।
कर्णालीको स्वास्थ्यलाई सुधार गर्नको लागि आफू सक्दो लागिपर्नेसमेत मन्त्री रावतले बताए । संघीय सरकारले देशका सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य राखेको बताउँदै मन्त्री रावतले कर्णाली प्रदेश अस्पताल मेडिकल कलेजको रुपमा स्थापना गर्ने आधार भएको बताए ।
उनले सदियाँैदेखि हरेक क्षेत्रमा ‘पछाडि पारिएको’ कर्णालीको स्वास्थ्य सुधारमा आफ्नो भूमिका हुने बताएका छन् । सधैँ उपेक्षामा रहे पनि कर्णालीमा थुप्रै सम्भावना रहेको मन्त्री रावतले बताए । ‘अबको दश वर्षभित्र कर्णाली अग्रस्थानमा पु्ग्छ,’ उनले थपे, ‘कर्णालीको जडिबुटी निर्यात गर्ने हामीले सक्नुपर्छ ।’ प्रतिनिधि सभाको सदस्य मात्रै हुँदा पनि कर्णालीलाई माया गरेको बताउँदै अब अझै थप जिम्मेवारी बढेको उनको भनाइ थियो ।
प्रकाशित समय १९:२६ बजे
















