गृहपृष्ठ लकडाउनले इन्टरनेटमा चाप, दैनिक ५०० जीबी ब्यान्डविथ खपत

लकडाउनले इन्टरनेटमा चाप, दैनिक ५०० जीबी ब्यान्डविथ खपत

Bandwidth_NewsKarobar

कोरोना भाइरस (कोभिड–१९)को संकटबाट बच्नका लागि सरकारले लकडाउन गरेपछि त्यसको चाप अहिले इन्टरनेटमा परेको छ । आममानिसहरू समय काट्न, सूचना लिन, मनोरञ्जन गर्न फेसबुक, युट्युब, टिकटकजस्ता साइटहरूमा व्यस्त छन् ।

इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूलाई बढ्दो चाप धान्न समस्यै उत्पन्न भइरहेको छ । अहिले दैनिक ५०० गिगाबाइट्स (जीबी) बराबरको ब्यान्डविथ खपत भइरहेको इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)का अध्यक्ष भोजराज भट्ट बताउँछन् ।

यो इन्टरनेटको ‘डेडिकेटेड स्पीड’ हो, एक जीबीमा १०२४ एमबीपीएस हुन्छ ।

‘सामान्य अवस्थामा नेपालमा दैनिक ४०० जीबीका हाराहारीमा ब्यान्डविथ खपत हुन्थ्यो, विगत एक सातायता यो ५०० जीबी पुगेको छ,’ भट्टले भने, ‘आईएसपीहरूले बढेको चाप धान्नका लागि विभिन्न व्यवस्था गरेका छन् ।’

लकडाउनका कारण आईएसपीहरूले सकेसम्म कम कर्मचारी कार्यालयमा बोलाएका छन् । अतिआवश्यक मुख्य प्राविधिकबाहेक अरुले घरबाटै ‘भर्चुअल’ रूपमा सेवा प्रवाह गर्ने व्यवस्था गरेको भट्टले जानकारी दिए ।

अहिले प्रायः कार्यालयहरू नचलेको, धेरै व्यक्तिहरू कोरोनाका त्रासका कारण गाउँतिर गएको कारणले चाप कम भएका क्षेत्रका ब्यान्डविथ बढी इन्टरनेट चल्ने क्षेत्रमा प्रवाहित गरेर व्यवस्थापन भइरहेको उनले बताए ।

नेपालमा मात्र होइन, विश्वभरि नै अहिले लकडाउनका कारण ब्यान्डविथको माग बढेको छ । आफ्नो वेबसाइटमा बढ्दो ‘ट्राफिक चाप’ व्यवस्थापन गर्नका लागि युट्युब, नेटफ्लिक्स, अमेजन प्राइमले हाई–डेफिनेसन (एचडी)बाट भिडियोहरूलाई पुनः स्ट्यान्डर्ड डेफिनेसन (एसडी)मा झारेका छन् ।

‘हाम्रा सदस्य आईएसपी सञ्चालकहरूसँगको भर्चुअल बैठकको निर्णयबाट हामीले ‘फेयर युज (स्वच्छ प्रयोग)को नीति अबलम्बन गर्ने निर्णय गरेका छौं । यसबाट उपयुक्त ढंगले ब्यान्डविथ व्यवस्थापन गर्न सकिन्छ भने अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्रमा बिनाकुनै अवरोध इन्टरनेट सेवा प्रवाह सुचारु भइरहन्छ,’ भट्टले भने ।

अहिले नेपालमा भारत र चीनबाट ब्यान्डविथ आयात गरेर यहाँका ठूला १० आईएसपीहरूमार्फत देशभरिका करिब १०० आईएसपीलाई वितरण गरिन्छ । चीनबाट नेपाल टेलिकमले निकै सानो अंशमा मात्र ब्यान्डविथ ल्याइरहेको छ ।

नेपाल टेलिकम, एनसेलसहित सबै प्रमुख आइएसपीहरूले भारतका एयरटेल, टाटा र सिफीबाट ब्यान्डविथ किनेर ल्याउने गरेका छन् ।

खेर जान्छ ब्यान्डविथ

नेपाल टेलिकम र एनसेल नेपालले कुल ब्यान्डविथ आयातका २५ प्रतिशत हिस्सा ओगट्छन भने निजी क्षेत्रले ७५  प्रतिशत ब्यान्डविथ ल्याउने गरेका छन् ।

एक चाैथाइ ब्यान्डविथ २ वटा दूरसञ्चार सेवा प्रदायकले ल्याए पनि सही व्यापारीकरण नीति नहुँदा यी प्रदायकहरूले किनेर ल्याएको ठूलो ब्यान्डविथ प्रयोगमै नआइ निस्क्रिय भएको सेवा प्रदायकहरू बताउँछन् ।

नेपाली आईएसपीहरूले अन्तर्राष्ट्रिय सेवा प्रदायकहरूहरूसँग निश्चित परिणामको ब्यान्डविथ किनेर ल्याएका हुन्छन् । निजी क्षेत्रका आईएसपीहरूले बढ्दो प्रतिष्पर्धासँगै सस्तो मूल्यमा अधिकतम ब्यान्डविथ दिने गरेको आईस्पानका अध्यक्ष भट्टले बताए ।

जति बढी अनुपातको ब्यान्डविथ किनेर ल्यायो, उति नै सस्तो पर्ने भएकाले ठूला आईएसपीहरूले पछिल्लो समयमा मुख्य बजार हिस्सा आफूले ओगट्ने गरी ब्यान्डविथ ल्याउने गरेका छन् । तर, समयमा नै सही बजारीकरण नीति नपनाउँदा वर्षको अन्त्यतिर सस्तो मूल्यमा डाटा प्याक बेच्ने होडबाजी चल्ने गर्छ ।

‘अहिलेको कठिन समयमा घरमा बस्न बाध्य भएका सबैका लागि सहज रुपमा इन्टरनेट सेवा उपलब्ध हुन सकोस् भनेर सरकारले सहुलियत मूल्यमा वा अन्तर्राष्ट्रिय मूल्यमै टेलिकमजस्ता सेवा प्रदायकले किनेर ल्याइ खेर गइरहेको ब्यान्डविथ अरु आईएसपीलाई उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ,’ भट्टले भने ।

उनले इन्टरनेट सेवा, अत्यावश्यक सेवाभित्र पर्ने भएकाले सरकारले तत्कालै सेवा प्रदायकहरूलाई राजस्व, रोयल्टीलगायतका सरकारी सेवा शुल्कमा छुट, बैंक तथा वित्तीय संस्थाको ऋणको पुनर्तालीकरणको व्यवस्था गर्नुपर्ने माग गरे ।

सेवा अवरुद्ध नहुने

इन्टरनेट सेवा प्रदायकहरूले यो स्वास्थ संकटकालीन अवधिमा कुनै पनि उपभोक्ताको सेवा अवरुद्ध नगर्ने निर्णय गरेको आईस्पानका अध्यक्ष भट्टले जानकारी दिए ।

कसैको सेवा अवधि सकिएको भए मोबाइल बैंकिङ वा बैंकका इन्टरनेट बैंकिङबाट भुक्तानीको व्यवस्था गरिएको र त्योसमेत सम्भव नहुने ग्राहकको पछि भुक्तानी अवधिमा मिलाने हुने गरी सेवा विस्तार गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु