गृहपृष्ठ समृद्ध र हराभरा सहर बनाउने अभियानमा जुट्दै भक्तपुरबासी

समृद्ध र हराभरा सहर बनाउने अभियानमा जुट्दै भक्तपुरबासी

bhaktapur-newskarobar

वि.सं. २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सुरु भएको हनुमन्ते नदी सफाइ अभियानले ४४औं हप्ता पूरा गर्दैगर्दा सहरलाई समृद्ध र हराभरा भक्तपुरबासी बनाउन जुटेका छन् । सामाजिक अभियन्ताको नदी सफाइ अभियानलाई स्थानीयदेखि केन्द्रीय जनप्रतिनिधिसम्मले आत्मसात गरेपछि नदीबाट सुरु भएको सफाइ अभियान सहर समृद्ध बनाउने महाअभियानमा परिणत भएको हो ।

हनुमन्ते सफाइ अभियानले शनिबार ४४औं हप्ता पूरा गरिसक्दा अरनिको राजमार्ग सरसफाइ अभियानले पनि एक महिना पूरा गरिसकेको छ । मंसिर ६ गतेदेखि सुरु भएको राजमार्ग सरसफाइ अभियानलई पुस ७ गतेदेखि भने साताका दुई दिन गर्ने गरी अघि बढाइएको छ । अभियान सफल पार्न भक्तपुरका मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका कमिटी नै बनाएर लागिपरेका छन् ।

हनुमन्ते सरसफाइ अभियानको नेतृत्व सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा छन् भने अरनिको राजमार्ग सरसफाइ अभियानको नेतृत्व मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई दिइएको छ । त्यस्तै, भक्तपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित समिति पनि गठन गरिएको छ ।

अभियानअन्तर्गत हरेक बुधबार मध्यपुर ठिमी नगरपालिकाका आठ स्थानमा र शनिबार सूर्यविनायक नगरपालिकाका १३ स्थानको सरसफाइ गर्ने गरिएको छ । अभियानमा सम्पूर्ण जनप्रतिनिधि, स्थानीय बासिन्दा, महिला समूह, सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी एवं शिक्षक, प्रहरी र सेनाको उल्लेख्य सहभागिता रहने गरेको छ ।

araniko-safai-abhiyan-newskarobar (3)

अरनिको राजमार्ग सरसफाइ अभियान नाम दिइए पनि भक्तपुर सहरलाई नै समुन्नत र हराभरा बनाउने अभियानका रुपमा आफूहरु अघि बढेको सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले जानकारी दिइन् । ‘हामीले फोहोर टिप्ने अभियानमात्र चलाएका होइनौं,’ न्युज कारोबारसँग उनले भनिन्, ‘राजमार्गमा हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्ने तथा सडकआसपास भइरहेको अतिक्रमण र जथाभावी पार्किङसमेत हटाउने गरी अभियान चलाएका छौं ।’ राजमार्गको जाम हटाउन पनि विशेष पहल गरिरहेको उनले बताइन् ।

अभियानलाई सबै नगरबासीले अपनत्व दिउन् भन्ने उद्देश्यले विद्यार्थीदेखि शिक्षक, शिक्षिका र स्थानीयसम्मलाई सडकमा उतार्ने प्रयास गरेको उपप्रमुख बस्नेतले बताइन् । ‘केही समय अभियानकै रुपमा जनचेतना अभिवृद्धि गर्ने ढंगले अघि बढ्छौं,’ उनले भनिन्, ‘त्यसपछि पनि सरसफाइमा उस्तै हेचेक्र्याइँ गरेको पाइए जरिवाना गर्नेर्छौं ।’ नगरपालिकाले जथाभावी फोहोर फाल्ने गतिविधि गरेको पाइए ५० रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी कार्यविधि बनाइसकेको छ ।

araniko-safai-abhiyan-newskarobar (3)

हनुमन्ते सरसफाइ अभियानअन्तर्गत नदीको दुवैतर्फ २०/२० मिटर सडक करिडोर निर्माण गर्नुका साथै हनुमन्ते नदीको वहाव क्षेत्र २० मिटर कायम गर्दै लगिएको छ । सहरी सभ्यताको परिचायक नदीको सफाइमा कुनै कसर राख्न नहुने अभियन्ताहरु बताउँछन् । उपप्रमुख बस्नेतका अनुसार ४४औं हप्तासम्ममा हरेक हप्ता हनुमन्ते नदीबाट १० टनदेखि ३० टनसम्म फोहोर संकलन गरिएको छ । राजमार्ग आसपासबाट पनि सोही मात्रामा फोहोर संकलन भइरहेको उनले जानकारी दिइन् ।

अभियानअन्तर्गत हनुमन्ते नदीको राधे राधेनजिकको पुलदेखि चारदोबाटोनजिकको पुलसम्म करिडोर निर्माणका लागि ८१ करोड बजेट विनियोजन भइसकेको छ भने खोलाको दुवैतर्फ ह्युम पाइप (ढल) राख्न मेलम्ची खानेपानी आयोजना कायान्वयन विभागले ७८ करोड रकम छुट्याएर काम अघि बढाएको छ ।

araniko-safai-abhiyan-newskarobar (3)

दुवै अभियानका प्रमुख सल्लाहकार एवं सांसद महेश बस्नेतले हनुमन्ते नदी सफाइ अभियान र अरनिको राजमार्ग सरसफाइ अभियानले समृद्ध भक्तपुर सहर बनाउने कार्यको नेतृत्व गरिरहेको बताए । ‘यो अभियान सरसफाइमा सीमित छैन, अभियानले नगरबासीको समुन्नत सहर निर्माणको अपेक्षासमेत पूरा गर्नेछ र यसका लागि हामी स्थानीय जनप्रतिनिधिलाई नै उत्तरदायी बनाउँछौं,’ सांसद बस्नेतले न्युज कारोबारसँग भने, ‘यो अभियान निरन्तर चल्नेछ, यसले भक्तपुरलाई सुन्दर, हराभरा र विकसित सहरको दाँजोमो पुर्याउनेछ ।’

mahesh-basnet
महेश बस्नेत, सांसद

अभियानलाई सफल बनाउन व्यवसायीलाई थप उत्तरदायी बनाउन लागिएको छ । त्यसका लागि सडकको निर्माण, संरक्षण र सफाइको व्यवस्थापकीय जिम्मा सीमा तोकेर व्यवसायीलाई दिइने अभियानका प्रमुख सल्लाहकार बस्नेतले जानकारी दिए । सडक सरसफाइको अवस्थालाई चुस्त राख्न मासिक ३ लाख २० हजार बजेट छुट्याएर कर्मचारी नै परिचालन गरिने उनले बताए । प्रत्येक वडाध्यक्षको नेतृत्वमा बन्ने समितिले अभियानलाई थप सक्रिय बनाउने सांसद बस्नेतको विश्वास छ ।

 

 

भक्तपुर नगरपालिकाको आफ्नै अभियान
समृद्ध भक्तपुर निर्माण गर्ने अभियानमा भक्तपुर नगरपालिका भने छुट्टै हिसाबले लागेको छ । मंसिर ६ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा अरनिको राजमार्ग सरसफाइ अभियानमा नगरपालिकाका प्रमुख सुनिल प्रजापति पुगेका थिए । त्यसयताका गतिविधिमा भने भक्तपुर नगरपालिकाका कोही पनि यो अभियानमा सहभागी छैनन् । सांसद बस्नेत पटक–पटक आग्रह गर्दा पनि भक्तपुर नगरपालिकाले अभियानमा सहभागिता नजनाएर संकीर्णता प्रदर्शन गरिरहेको बताउँछन् । चाँगुनारायण नगरपालिका भने हनुमन्ते नदी र अरनिको राजमार्ग दुवैसँग जोडिँदैन ।

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति भने नगरपालिका सरसफाइ र समृद्ध भक्तपुर निर्माण अभियानबाट कति पनि बाहिर नरहेको बताउँछन् । ‘हामीले २०७४ साउनदेखि नै नगर सफाइ अभियान अघि बढाएका छौं,’ न्युज कारोबारसँग उनले भने, ‘हरेक महिनाको १ र १५ गते सम्पूर्ण जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, स्थानीय क्लब, विद्यालयलगायतको अनिवार्य उपस्थिति सहर सफाइ कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’ त्यस्तै ‘एक विद्यालय, एक सम्पदा’ अभियानअन्तर्गत नगरक्षेत्रका ४० विद्यालयलाई अभियानमा सहभागी गराइएको पनि उनले जानकारी गराए । ‘हामी भक्तपुरको पहिचान कायम राख्दै विकास र समृद्धिका अभियान अघि बढाइरहेका छौं,’ उनले भने, ‘हामी नगरबासीको सुन्दर र समुन्नत सहरमा बसोबास गर्ने चाहना पूरा गर्न प्रतिबद्ध छौं ।’

प्रकाशित समय १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु