गृहपृष्ठ उमेर साठी वर्ष : दोस्ती गिटीसँग
उमेर साठी वर्ष : दोस्ती गिटीसँग
खाम्चा दम्पतीको धेरैजसो दैनिकी इत्राम खोलामा बित्छ
फाइल तस्बिर
वीरेन्द्रनगर-१२ सुर्खेतकी ६० वर्षीय शान्ति खाम्चा मगरको धेरैजसो दैनिकी नजिकैको इत्राम खोलामा बित्ने गर्छ । बिहानै उठेदेखि हातमा हतौडा समातेर शान्ति र उनका श्रीमान् ६२ वर्षीय निर्मल खाम्चा मगर इत्राम खोलातिर लाग्छन् । यो करिब २० वर्षदेखीको उनीहरूको दैनिकी हो ।
त्यसअघि निर्मल मजदुरी (लेबर) गर्दथे भने श्रीमती शान्ति गृहिणी थिइन् । तर, २० वर्षयता उनीहरूको दैनिकि फेरिएको छ । अहिले खाम्चा दम्पती इत्राम खोलामा गिटी कुटेरै जीवन धान्दै आएका छन् ।
खाम्चा दम्पतीका दुई छोरा छन् । छोरासमेत उनीहरूको चार सदस्यीय परिवार छ । यो परिवारको जीवन धान्ने साहरा भनेको इत्राम खोलाको गिटी कुट्ने पेशा हो, जुन २० वर्षदेखि चल्दै आएको छ ।
६० वर्षको उमेर पुग्दा पनि गिटी कुट्न छुटेको छैन । यो आफ्नो बाध्यता रहेको शान्तिले बताइन् । ‘रहरले त खोलामा गिटी कसले कुट्छ र ? गिटी कुटेर महिनामा दश पन्ध्र हजार कमाउने गरेका छौं । दुईवटा छोरालाई पढाउन पुगेकै छ,’ उनले भनिन्, ‘पहिला विरेन्द्रनगर नगरपालिका- १३ मा घर थियो अहिले नगरपालिकाको १२ नम्बर वडामा ढलान घर बनाएका छौं ।’
घरमा बसेर अरुको कुरा काट्नु भन्दा गिटी कुटेर केही आम्दानी भएको शान्तिको भनाइ छ । उनी यसैमा सन्तुष्ट छिन् । तर, गिटी बालुला उत्खननमा सरकारले रोक लगाएकोले आफूहरुलाई मर्का परेको गुनासो निर्मल खाम्चाको छ ।
निर्मललाई आफूले पढ्न नपाएकोमा थकथकी छ । त्यसैले जसो तसो गरेर भए पनि दुई छोरालाई पढाएका छन् खाम्चा दम्पतिले ।
‘सरकारले बेरोजगारलाई रोजगारको ग्यारेन्टी गर्न सकेको छैन । खोलाको गिटी बालुवा बेचेर जीवन गुजार्दै आएका छौं,’ उनले भने, ‘त्यसलाई पनि रोक लगाएपछि हामी त बर्बाद हुन्छौं ।’
बृद्ध भत्ता पाउने बेला अझै भएको छैन । ‘सरकारले ६० वर्षमै वृद्ध भत्ता दिने भए पनि गिटी कुट्न छोड्नु हुन्थ्यो,’ उनले भने ।
प्रकाशित समय १४:३९ बजे
















