गृहपृष्ठ लोडसेडिङमुक्त भएपनि नीजि क्षेत्रद्वारा गुणस्तरीय विजली माग
लोडसेडिङमुक्त भएपनि नीजि क्षेत्रद्वारा गुणस्तरीय विजली माग
काठमाडौं । गुणस्तरीय विद्युत् प्रवाह गर्नुपर्ने माग निजी क्षेत्रले गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले लोडेसेडिङ हटे पनि त्यसको गुणस्तर कमजोर रहेका भन्दै त्यसमा सुधार गर्न आग्रह गरेको हो ।
महासंघले नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा हाल कायम लोडसेडिङ अन्त्य भएको घोषणा गरेकोमा त्यसको स्वागत गरेको छ । वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफल रूपमा कार्यान्वयन गरेकामा उसले खुसी व्यक्त गरेको हो ।
गार्हस्थ्य प्रयोगमा यसअघि नै प्राधिकरणले प्रभावकारी व्यवस्थापन गरिसकेको छ भने औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्यको घोषणाबाट अब मुलुकभित्र उद्योग व्यवसाय विस्तार, भएका उद्योग व्यवसायको निर्वाध सञ्चालन, उत्पादन प्रवद्र्धन तथा नया“ औद्योगिक विस्तारमा सघाउ पुग्नुका साथै समग्रमा मुलुकको आर्थिक व्यवसायिक विकास, लगानी आकर्षणमा समेत मद्दत पुग्ने विश्वास लिएको महासंघले जनाएको छ ।
उसले नया“ आउने उद्योग र क्षमता विस्तार गर्न चाहने उद्योगधन्दाका लागि आवश्यक विद्युत् उनीहरूले मागेका बखत सहज रूपमा उपलव्ध गराइदिने वातावरणका लागि महासंघ, ऊर्जा मन्त्रालय र प्राधिकरणसमक्ष आग्रह समेत गर्दछ ।
नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि देशभर विद्युत् कटौटी अन्त्य गरेको छ । घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रूपमा विद्युत् पाए पनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत् भार कटौतीको समस्या बेहोर्दै आएका थिए । विद्युत्को मागको तुलनामा आपूर्ति कम भएपछि औद्योगिक क्षेत्रका ग्राहकलाई प्राधिकरणले नियमित रूपमा विद्युत् उपलब्ध गराउन सकेको थिएन । ‘नदीमा पानीको मात्रा बढ्दै गएका कारण हामीलाई औद्योगिक क्षेत्रको विद्युत् भार कटौतीका लागि सहज भएको हो’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने ।
पछिल्लोपटक ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् भार प्रेषण केन्द्रको स्थलगत निरीक्षण गरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका अधिकारीलाई नयाँ सरकार आएको अनुभूति दिन तत्काल औद्योगिक क्षेत्रमा विद्युत् भार कटौती अन्त्य गर्न निर्देशन दिए ।
प्राधिकरणले बढी विद्युत् माग हुने साँझको समयमा दैनिक तीन घण्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दै आएको थियो । कार्यकारी निर्देशक घिसिङका अनुसार आजदेखि औद्योगिक क्षेत्रले पनि नियमति चौबिसै घण्टा विद्युत् पाएका छन् । बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रमा वीरगन्ज र हेटौंडा रहेका छन् ।
यस्तै, विराटनगर, भैरहवा र नेपालगन्जमा समेत नियमित विद्युत् आपूर्ति गरिएको छ । वैशाखमा नै नियमित वर्षा भएकाले नदीमा पानीको मात्रा बढेको छ । पानीको मात्रामा भएको बढोत्तरीका कारण पनि विद्युत् उत्पादनमा वृद्धि भएको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ ।
प्राधिकरणले हालसम्म ७६ जिल्लामा विद्युत् सेवा उपलब्ध गराएको छ । गत फागुन मसान्तसम्ममा प्राधिकरणको ग्राहक संख्या ३४ लाख ६५ हजार ८२२ पुगेको छ । कुल ग्राहकमध्ये ९४ प्रतिशत गार्हस्थ्य ग्राहकले ४१.८५ प्रतिशत विद्युत् उपभोग गरेका छन् ।
यस्तै, १.४ प्रतिशत औद्योगिक ग्राहकले ३५.६१ प्रतिशत विद्युत् उपभोग र ४.६ प्रतिशत अन्य ग्राहकले २२.५४ प्रतिशत विद्युत् उपभोग गरिरहेका छन् । प्राधिकरणका अनुसार हाल एक मेगावाटभन्दा माथिका ७३ परियोजनाले ९९५ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता राख्छन् । यस्तै, एक मेगावाटभन्दा कम क्षमताका १५ आयोजनाबाट ११ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको छ ।
यस्तै, भारतबाट हाल ४५० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ । प्राधिकरणको एक मात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट नियमित रूपमा ९२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
प्राधिकरणको अर्ध जलाशयुक्त आयोजनाका रूपमा रहेको कालीगण्डकी ‘ए’बाट १४४ मेगावाट, मध्य मस्र्याङ्दीबाट ७० र चमेलियाबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई विद्युत भार कटौतीमुक्त गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुनले आफूहरूको सकारात्मक पहलका कारण औद्योगिक क्षेत्रका ग्राहकलाई पनि नियमित विद्युत् दिन सकिएको बताए ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मतसम्भार एवं विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे ।
प्रकाशित समय ०८:०१ बजे

















