गृहपृष्ठ बादीबस्तीको बालविवाह, बत्तीमुनिको अँध्यारो

बादीबस्तीको बालविवाह, बत्तीमुनिको अँध्यारो

child-marrige-newskarobar

वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा खोलाकी मञ्जु बादी अहिले २५ वर्षकी भइन् । उनले २०६५ सालमा विवाह गरिन्, अरुकै लहैलहैमा लागेर, जतिबेला उनी १५ वर्षकी मात्रै थिइन् । विवाह गरेको केही महिनामै श्रीमान् र घरपरिवारसँग उनको बेमेल भयो । घर–व्यवहार चल्नै सकेन । अन्ततः सम्बन्ध विच्छेद गरिन् । एक छोराकी आमा उनी अहिले माइती घर झुप्राखोलामा बस्दै आएकी छन् । प्राथमिक तहको शिक्षामात्रै आर्जन गरेकी मञ्जुलाई अझै पढ्ने रहर नभएको होइन । तर, यतिबेला उनलाई आफ्नोभन्दा ९ वर्षे छोराको पढाइको चिन्ता धेरै छ ।

बस्तीकै सिर्जना बादीले पनि १५ वर्षमै विवाह गरिन् । अहिले उनी १९ वर्षकी भइन् । दुईवटा बच्चाबच्चीकी आमा भइसकेकी छन् । कक्षा ७ सम्म मात्रै पढेकी उनीसँग पनि जीवनका ठूला रहर थिए । तर, बालविवाहकै कारण उनका ती सपना ओइलाए । पढ्दा–पढ्दै विवाह बन्धनमा बाँधिएकी सिर्जनाका घरपरिवारले पढ्ने अवसर नदिएपछि उनी पढाइ छोड्न बाध्य भएकी हुन् ।

१९ वर्षीय नन्दा बादीको पनि कथा उस्तै छ । १६ वर्षमै बिहे गरेकी नन्दाले तीन वर्षको अवधिमा दुई बच्चालाई जन्म दिइसकेकी छन् । त्यही कारणले उनको स्वास्थ्यमा समस्या आएको छ ।

मञ्जु, सिर्जना र नन्दा प्रतिनिधि पात्रमात्रै हुन् । झुप्रा खोलामा रहेको बादीबस्तीका अधिकांश छोरीले १५ वर्षको उमेरमै विवाह गर्छन् । वर्षदिन नपुग्दै आमा बन्छन् । वर्षैंदेखिको रित अझै उस्तै छ ।

बादीबस्तीका बालिकाको सानै उमेरमा विवाह हुनुका थुप्रै कारण छन् । त्यसमध्येको एउका कारण हो, विद्यालय नहुनु । बादीबस्तीमा प्राथमिक विद्यालयमात्र छ । ‘कक्षा ५ सम्म पढेपछि यहाँका बालबालिका अन्यत्र पढ्न जान पाउँदैनन्,’ तारा बादी भन्छिन्, ‘अनि बुवाआमाले विवाह विकल्प अरु देख्दैनन् ।’

चेतना अभावमा झुप्रा खोलाको बादीबस्ती बालविवाहको भूमरीमा फसेको छ । बस्तीमा न स्थानीय तहको ध्यान छ न त प्रदेश सरकारको । बादी समुदायलाई राज्यले जनताको रुपमै नलिएको उनको बुझाइ छ । ‘यो बस्तीको बालविवाह अब कसले रोक्ने ?’ उनले प्रश्न गरिन् ।

‘बिहाबारी बीस वर्ष पारी’ भन्ने नारा नेपाल सरकारले लगाउँदै आएको छ । केही संघ–संस्थासमेत बालविवाहविरुद्धमा उत्तिकै लागेकै छन् । तर, नतिजा शून्य बराबर छ । झुप्राखोलाको बादीबस्तीमा कसैको नजर पुगेको छैन ।

child-marrige-newskarobar

वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी हो । त्यही राजधानीको एउटा वडा, जो झुप्राखोलासम्म छाएको छ । रत्न राजमार्गबाट करिब एक किलोमिटर तल भेरी नदी र झुप्राखोलाको दोभाननजिकै करिब एक सय १६ घर बादी छन् । तर, सरकारी तथा गैरसरकारी निकायले समेत बादीबस्तीको समस्यालाई नदरअन्दाज गर्दै आइरहेका छन् ।

वीरेन्द्रनगर नगपालिका–११ का अध्यक्ष नन्दलाल शर्मा झुप्राखोलाको बादीबस्तीमा मात्रै नभएर वडाकै सम्पूर्ण किशोरकिशोरीहरुको तथ्यांक संकलन गरेर बालविवाहको वास्तविक अवस्था बुझ्ने र त्यसलाई रोक्न प्रयत्न गर्ने बताउँछन् । ‘त्यसका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौं,’ उनी भन्छन् ।

वीरेन्द्रनगर–११ मा अन्यत्रबाट अवैधानिक रुपमा आएर बस्ने गरेको बस्ती पनि छ । त्यसलाई समेत छानबिन गरेर आफ्नो वडाका वास्तविक जनतालाई कुनै पनि सेवा सुविधाबाट वञ्चित नगर्ने प्रतिबद्धता उनले जनाए ।

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु