गृहपृष्ठ पार्टी एकताका लागि सघन छलफलमा एमाले-माओवादी

पार्टी एकताका लागि सघन छलफलमा एमाले-माओवादी

काठमाडौं– एमाले–माओवादी एकता प्रक्रियाका विषयमा दुवै दलका नेता–कार्यकर्तादेखि सवर्साधारणसमेत सशंकित देखिएका बेला दुवै दलका शीर्ष नेतृत्वले छलफल तीव्र पारेका छन् । सरकार सञ्चालनलगायतका विषयमा एमालेबाट एकलौटी भएको र माओवादीबाट सरकारमा सहभागी विभागीय मन्त्रीहरूसमेतलार्इ प्रधानमन्त्री केपी शर्मा ओलीले बेवास्ता गरेको भन्दै असन्तुष्टि बढ्न थालेपछि पार्टी एकता प्रकियामै समस्या उत्पन्न भएको आंकलनबीच शीर्ष तहमा छलफलले तीव्रता पाएको हो ।

मंगलबार एमाले नेता माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएपछि पार्टी एकता प्रक्रियाले गति लिएको छ । बुधबार (आज) बिहान पनि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भएको थियो । वार्तापछि दुबै पार्टीले एकै समयमा अपराह्न झ बजे आन्तरिक बैठक बोलाएका छन् ।

एमालले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको छ भने माओवादीले खुमलटारस्थित प्रचण्ड निवासमा पार्टी कार्यालयको विस्तारित बैठक बोलाएको छ । प्रधानमन्त्री ओलीले सरकार सञ्चालन, बजेटलगायतका विषयमा माओवादीसँग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।

प्रचण्ड र ओलीबीचको वान टु वान वार्तामा बिहीबार (भोलि) बिहान १० बजेका लागि पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको थियो ।

पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्य प्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको हो । बालुवाटारमा आज बिहान बसेको बैठकमा ओली र दाहालबीच पार्टी एकतालार्इ चाँडै निष्कर्षमा पुर्याउने सहमति भएको बताइएको छ ।

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु