गृहपृष्ठ निक्षेपभन्दा बढी कर्जा प्रवाहले वित्तीय असन्तुलन : राष्ट्र बैंक

निक्षेपभन्दा बढी कर्जा प्रवाहले वित्तीय असन्तुलन : राष्ट्र बैंक

nepal-rastra-bank-newskarobar

काठमाडौं– नेपाल राष्ट्र बैंकले निक्षेपको तुलनामा कर्जा लगानी बढी हुँदा वित्तीय असन्तुलन निम्तिएको ठहर गरेको छ । समीक्षा अवधिमा कर्जाको वृद्धिदर निक्षेप परिचालनभन्दा लगातार उच्च रहँदै आएको छ । कर्जा प्रवाह १९.५ प्रतिशत वृद्धि भएको छ भने निक्षेप परिचालनको स्थिति १५.३ प्रतिशतमात्र छ । सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा सहजता ल्याउने राष्ट्र बैंकको अपेक्षा छ ।

चालू आवको नौ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचालनको तुलनामा ९५ अर्ब १८ करोड रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । नौ महिनामा वित्तीय संस्थाले २ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ निक्षेप परिचालन गरेका छन् । यस्तै ३ खर्ब २२ अर्ब ९८ करोड कर्जा प्रवाह गरेका छन् ।

हालसम्म वाणिज्य बैंकले २६ खर्ब २ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ९ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको केन्द्रीय बैंकले जनाएको छ । चैतसम्म वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.७, ३५.८ र ४४.९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.१ प्रतिशत छ ।

निजी क्षेत्रतर्फ प्रवाहितमध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको १६.२, विकास बैंकको २४.७ र वित्त कम्पनीको १० प्रतिशत बढेको छ । चैत मसान्तमा वित्तीय संस्थाको लगानीमा रहिरहेको मध्ये ६१.४ कर्जा घर जग्गाको धितोमा र १४.८ चालू धितोमा प्रवाह भएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज १० र ओभरड्राफ्ट कर्जा १४ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल इस्टेट कर्जा १३.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित समय १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु