गृहपृष्ठ डडेल्धुराका एक दर्जन सिँचाई योजना रोक्न निर्देशन
डडेल्धुराका एक दर्जन सिँचाई योजना रोक्न निर्देशन
डडेल्धुरा- अर्थमन्त्रालय र सिँचाई विभागले एक करोड भन्दा कम बजेट भएका नयाँ सिँचाई योजनाहरु कार्यान्वयन नगर्न निर्देशन दिएपछि चालु आर्थिक बर्षमा डडेल्धुराका झण्डै एक दर्जन नयाँ सिँचाई योजनाहरुको निर्माण कार्य रोकिएको छ ।
सिँचाई बिभाग र अर्थ मन्त्रालयले छुट्टाछुट्टै पत्राचार गरेर एक करोड भन्दा कम बजेट भएका नयाँ सिँचाई योजना कार्यान्वयन नगर्न निर्देशन दिएको सुदूरपश्चिम सिँचाई विकास सब डिभिजन कार्यालय डडेल्धुराका निमित्त डिभिजन प्रमुख मानप्रसाद जोशीले बताए ।
‘एक करोड भन्दा कम बजेट भएका नयाँ सिँचाई योजनाहरुको काम शुरु नगर्न परिपत्र गरिए पछि सम्भावना बोकेका एक दर्जन जति नयाँ सिँचाई योजनाको निर्माण काय ृरोकिएको हो ।” उनले भने, ‘एक करोड भन्दा कम बजेटका नयाँ सिँचाई योजना स्थानीय तहले कार्यान्वयन गर्ने भनिए पनि बजेट कार्यालयमा रहेकोले यो बर्ष काम नहुने देखिन्छ ।’
चालु आर्थिक बर्षमा निर्माण गरिनु पर्ने झण्डै डेड दर्जन नयाँ सिँचाई योजनाको बजेट र अख्तियारी सुदूरपश्चिम सिँचाई विकास सब डिभिजन कार्यालय डडेल्धुरालाई दिइएको थियो । नयाँ सिँचाई योजना निर्माणका लागि पहल शुरु हुने बेला गत पुसमा सिँचाई बिभाग र अर्थमन्त्रालयले एक करोड भन्दा कम बजेट भएका योजना कार्यान्वयन नगर्न परिपत्र गरेको हो ।
‘अधिकांस नयाँ सिँचाई योजनाहरु एक करोड भन्दा कम बजेटका भएकाले हामीले निर्माण शुरु गर्न सकेनौ ।’ निमित्त डिभिजन प्रमुख जोशीले भने,‘कम बजेटका योजना निर्माणका लागि स्थानीय तहमा रकम हस्तान्तरण समेत नगरिएकाले बजेट फिर्ता जाने अबस्था आएको छ ।’
सुदूरपश्चिम सिँचाई विकास सब डिभिजन कार्यालय डडेल्धुराका अनुसार चालु आर्थिक बर्षमा निर्माण शुरु गर्ने तयारीमा रहेका जिल्लाको परशुराम नगरपालिकाका मात्रै आधा दर्जन सिँचाई योजना एक करोड भन्दा बम बजेटका छन । सो नगरपालिकाका साँदनी लिप्ट सिँचाई योजना, घुम्टीगडा सिँचाई योजना, लामिगडा सिँचाई योजना, चौडतोली सिँचाई योजना, लोपा सिँचाई योजनालगायतका सिँचाई योजनाको निर्माण शुरु भएको छैन । बिभाग र मन्त्रालयको परिपत्रका कारण एक करोड बजेट भन्दा कम रकम छुट्टयाइएका जिल्लाभरिका झण्डै एक दर्जन नयाँ सिँचाई योजनाको काम शुरु नभएपछि ३ करोड भन्दा बढि रकम फिर्ता जाने अबस्था देखिएको छ । अर्कोतिर कामको प्रगति समेत नदेखिन सुदूरपश्चिम सिँचाई विकास सब डिभिजन कार्यालय डडेल्धुराका लेखापाल बिरबहादुर ऐरले जानकारी दिए ।
प्रकाशित समय ०८:०५ बजे
















