गृहपृष्ठ स्थानीयवासी बिद्युत् सेवाबाट बञ्चितः ५ बर्षमा पनि बत्ति बलेन
स्थानीयवासी बिद्युत् सेवाबाट बञ्चितः ५ बर्षमा पनि बत्ति बलेन
दार्चुला- दार्चुलामा ग्रामीण विद्युतीकरणको काम शुरु भएको ५ बर्ष पुगे पनि अझ सम्म पनि बत्ति बलेको छैन । जस्को कारण ग्रामीण क्षेत्रका जनता अध्यारोमा बस्न बाध्य छन् ।
केहि दिन अघि नेपाल विद्युत प्राधिकरणले देशभर लोडसेडिङ मुक्त भएको घोषणा गरेपनि दार्चुलाका अधिकांश ग्रामीण भेगका नागरिक अझै अन्धकारमा बस्न बाध्य छन् । प्राधिकरणले आर्थिक वर्ष ०७०÷७१ बाट शुरु गरेको ग्रामीण विद्युतीकरण अझै पूरा हुन नसकेको हो ।
प्राधिकरणले समयमै उपकरण उपलब्ध नगराउँदा निर्माणकार्य अहिलेसम्म पूरा हुन नसकेको वितरण केन्द्र दार्चुलाले जनाएको छ ।
हाल आएर पोल र तारहरु उपलब्ध भएपनि बत्ति बाल्नको लागि आवश्यक ट्रान्सफर्मर र च्यानलहरु नआउँदा बिद्युतीकरणको काम भएको ठाउँमासमेत बत्ति बाल्न नसएिको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका निमित्त प्रमुख मीनराज पन्तले बताए ।
दार्चुलामा आर्थिक वर्ष २०७०/७१ देखि विद्युतीकरणको लागि हालसम्म ५ ओटा मात्रै ट्रान्सफर्मर आएका छन् । दार्चुलाको बिभिन्न भागबाट ५० बढि ट्रान्सफर्मरको माग भइ आएको छ । विद्युतीकरण शुरु भएदेखी हालसम्म सबै ठेक्काहरुमा ट्रान्सफर्मरको अभाब हँुदा काम गर्न नसकिएको निर्माण व्यवसायीकोसमेत गुनासो छ ।
आर्थिक बर्ष २०७१/०७२ सालमा दार्चुलाका साबिकका २४ गाविसमा विद्युतीकरण गर्ने भन्दै टेण्डर भएको थियो । उक्त टेन्डरको दुई ओटा ठेक्काबाहेक अन्यत्र काम सम्पन्न भएपनि ट्रान्सफर्मर नहुँदा रित्तै पोलहरु ठड्याइएको छ । च्यानल, ट्रान्सफर्मर लगायतका अत्यावश्यक उपकरणहरु बर्षौदेखी प्राधिकरणले निर्माण ठेकेदारलाई उपलब्ध गराउन नसक्दा निर्माण कार्य पाचँ बर्षदेखी लम्बीएको हो ।
नेपाल विद्युत प्राधिकरणले जिल्लाका पाँच वटा गाउँपालिका र नगरपालिकामा विद्युत प्राधिकरणको लाइन पु¥याउने उद्देश्य अन्तगर्त आर्थिक वर्ष २०७०÷७१ मा १ करोड ५० लाख, अधुरो ग्रामीण विद्युतीकरणको लागि १ करोड ५० लाख गरी ३ करोड बजेट विनियोजन गरेको थियो । यस्तै आर्थिक वर्ष ०७१÷७२ मा ग्रामीण विद्युतीकरणको लागि १ करोड ५१ हजार तथा अधुरो ग्रामीण विद्युतीकरणको लागि २६ लाख २२ हजार बजेट विनियोजन भएको थियो ।
दुवै आर्थिक वर्षको ४ करोड २६ लाख ७३ हजार रुपैयाँबाट २४ गाविसमा विद्युतीकरणगर्न १७ प्याकेजमा टेण्डर आब्हवान भएको हो । पछि दुइओटा टेन्डरको काम स्थगित भएर १५ टेन्डरमा कामको सम्झौता भएको थियो । त्यसपछिसमेत बिद्युतीकरणको क्षेत्रमा निरन्तर करोडौ बजेट बिनियोजन भएको छ । चालु आर्थीक बर्षमा मात्रै बिद्युतको क्षेत्रमा काम गर्नकोलागी ५ करोड बढी बजेट बिनियोजन भएको छ ।
विद्युत प्राधिकरणमा वर्षेनी करोडौ बजेट आएपनि काम भने पूरा हुन सकेको छैन । टेन्डर भएको केहि क्षेत्रमा काम भएपनि बाकि क्षेत्रमा उपकरण नै नपाएपछि काममा ढिलाइ भएको वितरण केन्द्र दार्चुलाले जनाएको छ । दार्चुलाको नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिका बाहेकमा विद्युतीकरण गर्नको लागि आर्थिक वर्षमा समेत बजेट विनियोजन गरिएको छ ।
अहिले स्थानीय तहहरुले मार्मा गाउँपालिकाको पारिबगर, नौगाड गाउँपालिकाको जामिर लगायतका क्षेत्र तथा अन्य आवश्यक ठाउँको लागि ट्रान्सर्फमरको लागि प्रदेश सरकारलाई समेत गुहार गरिएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए ।
छुट भएका र विद्युत पहुँच नभएका क्षेत्रमा प्रदेश सरकारमार्फत बजेट विनियोजन गरी काम अघि बढाउन आग्रह गरिएको धामीले बताए ।
प्रकाशित समय ०८:२० बजे

















